आठबिसकोट । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आइतबारदेखि मालपोत र नापीको सेवा सुरु भएको छ । सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले नापी तथा मालपोत कार्यालयबाट सेवा आरम्भ गरिएको हो । आइतबार एक कार्यक्रमका बीच आठबिसकोटका नगरप्रमुख रवि केसीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । यसअघि आठबिसकोटका नागरिकहरूले नापी तथा मालपोत सेवा लिन सदरमुकाम मुसिकोट पुग्नुपर्ने बाध्यता थियो । नागरिकले सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरेको हो ।
२०७८ चैत १७ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखबुढा, महोत्तरीको गौशला, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आठबिसकोटमा स्थापना भएका दुबै कार्यालयलाई सञ्चालनमा ल्याइएको हो । आइतबादेखि सेवा सुरु भएको उक्त कार्यालयमा पहिलो सेवाग्राहीका रूपमा देउदत्त बटाला र प्रेमबहादुर शाहीले सेवा लिएका छन् । उनीहरूलाई नगरप्रमुख केसीले जग्गा धनी प्रमाणपत्रसहित कागजजात हस्तान्तरण गरेका थिए ।
सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख केसीले, लामो समयदेखि यहाँका नागरिकले खेप्दै आएको असजता र जग्गाको कारोबारको लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, मालपोत तथा नापी कार्यालयमा नापनक्सा तथा जग्गा प्रशासन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्शी र गुणस्तरीय बनाउने कार्यमा नगरपालिका कटिबद्ध रहेको छ । कार्यालयबाट छिटो, छरितो र सहज तरिकाले सेवा प्रवाह हुने विश्वास दिलाउँदै नगरप्रमुख केसीले पालिकाबाटै सेवा लिन पाइने भएपछि समयको बचतसँगै अनावश्यक झन्झटबाट पनि नागरिकले मुक्ति पाएको बताए ।
यसअघि सानो कामका लागि पनि सदरमुकाम जानुपर्दा दिनभरि लाग्ने र गाडी भाडा पनि धेरै खर्च बाध्यता थियो । उक्त कार्यक्रममा आठबिसकोटका नगरप्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, कर्मचारी, जनप्रतिनिधी र स्थानीयको उपस्थिति रहेको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया