आठबिसकोटमा मालपोत र नापीको सेवा सुरु

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा (आज) आइतबादेखि मालपोत र नापीको सेवा सुरु भएको छ । सेवाग्राहीहरुलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले नापी तथा मालपोत कार्यालयबाट सेवा आरम्भ गरिएको हो ।

आइतबार एक कार्यक्रमकाबीच आठबिसकोटका नगरप्रमुख रवि केसीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो । यसअघि आठबिसकोटका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन सदरमुकाम मुसिकोट पुग्नुपर्ने बाध्यता थियो । नागरिकले सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरेको हो ।

विसं २०७८ चैत १७ गतेको मन्त्री परिषद् बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशला, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आठबिसकोटमा स्थापना भएका दुबै कार्यालयलाई सञ्चालनमा ल्याइएको हो । आजदेखि सेवा सुरु भएको उक्त कार्यालयमा पहिलो सेवाग्राहीका रुपमा देउदत्त बटाला र प्रेम बहादुर शाहीले सेवा लिएका छन् । उनिहरुलाई नगरप्रमुख केसीले जग्गा धनी प्रमाणपत्र सहित कागजजात हस्तान्तरण गरेका थिए ।

सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख केसीले लामो समयदेखि यहाँका नागरिकले खेप्दै आएको असहजता र जग्गाको कारोबारको लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताए ।

उनले भने, ‘मालपोत तथा नापी कार्यालयमा नापनक्सा तथा जग्गा प्रसाशन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्शी र गुणस्तरीय बनाउने कार्यमा नगरपालिका कटिबद्ध रहेको छ ।’ कार्यालयबाट छिटो, छरितो र सहज तरिकाले सेवा प्रवाह हुने विश्वास दिलाउँदै नगरप्रमुख केसीले पालिका बाटै सेवा लिन पाईने भएपछि समयको बचतसंगै अनावश्यक झन्झटबाट पनि नागरिकले मुक्ति पाएको बताए ।

यसअघि सानो कामका लागि पनि सदरमुकाम जानुपर्दा दिनभरि लाग्ने र गाडी भाडा पनि धेरै खर्च बाध्यता थियो । उक्त कार्यक्रममा आठबिसकोटका नगरप्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, कर्मचारी, जनप्रतिनिधी र स्थानीयको उपस्थिति रहेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया