रौतहट । रौतहटको वृन्दावन नगरपालिका–३ मा रहेको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच नगरप्रमुख बिनोदप्रसाद कुर्मीले स्वास्थ्य सामग्रीहरू स्वास्थ्यचौकीका इन्चार्ज राजेन्द्रप्रसाद यादवलाइ हस्तान्तरण गरेका हुन् ।
स्थानीय निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धताअनुसार नगरप्रमुख कुर्मीले विश्रामपुर टोलमा बर्थिङ सेन्टर सञ्चालन गराउन लागेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुर्मीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको र जनताको सेवाको लागि आफू दिनरात लागिपरेको उनले बताए ।
तर, विपक्षी दलका नेताहरूको कारण नगरपालिकामा हाकिम नहुँदा कामकाज ठप्प भएको उनको गुनासो थियो । अनेक समस्याका बाबजुद पनि आफू दिनरात जनतालाई सहज रूपमा सेवा प्रदान होस् भन्ने उद्देश्यका साथ लागिपरेको उनले बताए ।
नगरप्रमुख कुर्मीले प्रसूति सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले आवश्यक औजार, उपकरण र दक्षजनशक्तिको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । विगत लामो समयदेखि सो भेगका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन बाहिर जानुपर्न बाध्यता रहेको थियो । अब उपरान्त उक्त समस्या समाधान हुुने उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले बर्थिङ सेन्टर सञ्चालनका लागि ८० प्रकारको सामग्री उपलब्ध गराइएको जानकारी गराए । लामो समयदेखि बर्थिङ सेन्टर सञ्चालन हुन सकेको थिएन । हामीहरूको अथक प्रयासपछि बल्ल बर्थिङ सेन्टर सुचारु हुने भएको छ । सो बर्थिङ सेन्टरको सञ्चालनका लागि सामग्री हस्तान्तरण कार्यक्रममा वडा–३ का वडा अध्यक्ष हरिनारायण साह, वडा अध्यक्ष प्रवेज आलम, कार्यपालिका सदस्य राजेश पासवानलगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया