राष्ट्रिय कबड्डी खेलाडी छनोट प्रतियोगिता सम्पन्न

मधेस । भारतमा हुने एसिइ अन्तर्राष्ट्रिय लिग सिजन ३ प्रतियोगितामा खेलाडि छनोटको लागि भएको राष्ट्रिय महिला तथा पुरुष कबड्डी प्रतियोगिता रौतहटमा शनिबार सम्पन्न भएको छ । नेपाल युवा समिति चन्द्रपुर—६ रौतहटको आयोजना र चन्द्रपुर नगरपालिकाको सहयोगमा प्रतियोगिता भएको हो ।

चन्द्रपुर नगरपालिका– १० बालचनपुरमा रहेको श्री कृष्ण माविमा सो कबड्डी प्रतियोगिता आयोजन गरिएको थियो । खेलमा रेफ्रीको भूमिका रौतहट कबड्डी प्रमुख प्रशिक्षक भगल चौधरी र सहायक प्रशिक्षक राजकिशोर चौधरीले गरेका थिए ।


प्रतियोगिताको अध्यक्षता समितिका अध्यक्ष रोहित चौधरीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी रहेकी थिइन् । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा सो वडाका वडा सदस्य रामप्रकाश चौधरी र नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य राजु धामी रहेका थिए ।
राष्ट्रिय कबड्डी खेलाडी छनोट प्रतियोगितामा सातै प्रदेशको खेलाडीहरुको सहभागिता रहेको थियो ।

जसमा रौतहट, पर्सा, सर्लाही, सुनसरी, मोरङ, झापा, इलाम र उदयपुरका खेलाडीको सहभागिता रहेको थियो । आज भएको छनोट खेलमा अंकका आधार छानिएका १५–१५ जना पुरुष र महिला खेलाडी छनोट हुने रौतहट कबड्डी प्रमुख प्रशिक्षक भगल चौधरीले जानकारी दिए । उक्त खेलाडीको नाम एक हप्तापछि सार्वजनिक गरिने उनले बताए ।

सो अवसरमा खेलाडीहरुको मनोवल बढाउन सहयोग गर्ने अतिथीहरुलाई प्रमाणपत्रका साथ सम्मान पनि गरिएको थियो । भारतको हरियाणामा सन् २०२४ मार्च महिनामा नेपाल, भारत, श्रीलंका, इजिप्ट र तंजानिया बिच प्रतिस्पर्धा हुन गइरहेको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय कबड्डी कमेन्टेटर अमित दाबास सहित उल्लेखनिय रुपमा खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया