वीरगन्ज, २५ माघ । म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकप ०६९ फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा एनएमबी मच्छिन्द्र क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो । खेलको २७औँ मिनेटमा मच्छिन्द्रका कर्ण लिम्बूले गरेको गोलले मच्छिन्द्रले अग्रता लिएको थियो ।
दोस्रो हाफको १२औँ मिनेटमा आर्मीका महेन्द्र खवासको ‘फ्री’किकलाई रामकुमार विश्वासले हेड गरेर आफ्नो टिमलाई एक–एकको बराबरीमा पुर्याए । तर, खेलको ८०औँ मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बी’ ले गोल गर्दै मच्छिन्द्रलाई दुई एकको अग्रता दिलाए । राईले कर्ण लिम्बूको पासमा गोल गरेका हुन् । उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका विशाल राई ‘बी’ म्यान अफ द म्याच घोषित भए । टिमले सोचेजस्तो खेल्न नसकेको कारण आफ्नो टिमले पराजय बेहोर्नु परेको उनको भनाइ थियो । बिहीबार पहिलो क्वार्टर फाइनल खेल साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच हुनेछ । (सौस)
प्रतिक्रिया