जिल्ला प्रशासन कार्यालयमा कर्मचारीको अभाव, सेवाग्राही मार्कामा

बारा । जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू दिने गरेको छ । अरू सेवाभन्दा पनि नयाँ नागरिकता र प्रतिलिपि नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको छ । कार्यालयमा सेवा लिन आउनेहरूको अत्यधिक चाप हुनु र कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या बढ्दै गएको छ ।

बारा जिल्लाबासीलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले बारा जिल्लामा जिल्ला प्रशासन कार्यालय बाहेक तीन वटा इलाका प्रशासन कार्यालयको स्थापना समेत गरियो । तर अहिले इलाका प्रशासन कार्यालय कोल्हवी, इलाका प्रशासन कार्यालय सिम्रौनगढमा कार्यालय प्रमुख नभएको कारण त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह नभए हुन नक्दा जिल्ला प्रशासन कार्यालय बारामा सेवाग्राहीको भिड लाग्ने गरेको छ । कार्यालयमा कर्मचारी अभावको कारण एक दिनमा हुनुपर्ने काम अहिले दुई देखि तीन दिनमा हुने गरेकोले सेवाग्राहीहरू मर्कामा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराअन्तर्गत अधिकृत स्तरका मात्रै चार जना कर्मचारी नहुँदा नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको कार्यालयले जनाएको छ । लामो समयदेखि कार्यालयमा प्रशासकीय अधिकृतहरू नहुँदा सेवाग्राहीहरूलाई सहज रूपमा सेवा दिन नसकेको प्रशासन कार्यालयको पनि स्वीकारोक्ति रहेको छ । कार्यालयमा सेवाग्राहीहरूले सहज रूपमा सेवा नपाउनु र बढी भिडभाड हुनको कारण मुख्यतः कर्मचारी अभाव नै रहेको प्रशासन कार्यालयको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

अधिकृत नै नहुँदा इलाका प्रशासनको काम ठप्प बनेपछि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा सेवा लिनेहरूको चाप बढेको छ । इलाका प्रशासन कार्यालय ठप्प भएपछि दैनिकजसो कोल्हवी र सिम्रौनगढका सयौँ सेवाग्राहीहरू आएका कारण कार्यालयमा चाप बढेको छ । जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी प्रतिलिपि लिन आउने सेवाग्राहीले दुःख पाउने गरेको गुनासो गरेका छन् । प्रतिलिपि नागरिकता लिन हप्तादेखि महिनौँसम्म लाग्ने गरेको एक सेवाग्राहीले गुनासो सुनाए । उनको जस्तै समस्या दैनिक सयौँले भोग्ने गरेका छन् ।

प्रतिक्रिया