रौतहट । रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिका– २ सितलपुरमा पौने २ बिघा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले आगो लगाइदिएको छ । स्थानीय किसान लक्ष्मीनारायण यादवको खेतको धान काटेर दाइँ गर्न खेतमै राखिएको धानको भारीमा शनिबार राति ९ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा २ लाख ६० हजार बराबरको क्षति भएको पीडित किसान यादवले बताए । घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा अज्ञात समूहले आगजनी गरेपछि किसान यादवको परिवार दुःखी भएको छ ।योजनाबद्ध तरिकाले केही अराजक व्यक्तिको समूहले पेट्रोल प्रयोग गरेर धानमा आगो लगाएको स्थानीयहरुले बताएका छन् ।
दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ । घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।
यो भन्दा पहिला पनि सितलपुरमा एक जना किसानले लगाएको करिब २ बिघा खेतको धानमा आगो लगाएर नष्ट गरेको थियो । सितलपुर गाउँमा किसानको धानमा आगो लगाउने समूह सक्रिय बन्दै गए पनि प्रहरीले अहिले सम्म दोषीलाई कारवाहिको दायरामा ल्याउन सकेको छैन ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया