जनकपुरधाम । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले ढुवानी बिमाको नाममा करोडौँ राजस्व छली गर्दै आएको पाइएको छ । एसोसिएसनले बिमा गरिदिने भन्दै पेट्रोलियम व्यवसायीहरूसँग रकम असुली गर्दै आएको देखिएको छ । बिमा कम्पनीसँग सम्बद्धसमेत नरही एसोसिएसनले अन्य बिमा कम्पनीहरूजस्तै व्यावसायिक रूपमा निगमको डिपोमा नै ढुवानीको बिमा भन्दै व्यवसायीहरूसँग बिमा रकमको रसिद काट्दै आएको छ । एसोसिएसनले धनुषा र महोत्तरीका पेट्रोलपम्पसम्म इन्धन ढुवानी गर्ने प्रत्येक ट्यांकरबाट पाँच सयदेखि एक हजार रुपैयाँको बिमा रसिद दिएर रकम असुल्ने गरेको व्यवसायीहरूले बताएका छन् ।
कुनै वस्तुको बिमा गराउँदा त्यसको अनलाइन भ्याटसहितको बिल दिनुपर्ने व्यवस्था छ । तर, धनुषाको महेन्द्रनगरस्थित निगमको डिपो परिसरमा कार्यालय सञ्चालन गरी एसोसिएसनले धनुषा र महोत्तरीका ट्यांकरहरूलाई विनाभ्याट बिल बिमा रसिद दिएर रकम असुल गर्दै आएको हो । उक्त डिपोबाट दैनिक ३० देखि ४० वटा ट्रयांकरले इन्धन ढुवानी गर्छन् । यसरी, मासिक पाँच लाखभन्दा बढी रकम महेन्द्रनगर डिपोबाट उठाउने गरेको एसोसिएसनले बिमाको रकम उठाउन खटिएका कर्मचारीहरू नै बताउँछन् ।
एसोसिएसनले नेपाल आयल निगम महेन्द्रनगर डिपोको परिसरमै खुलेआम बिमा रकम उठाइरहँदा १ भदौबाट बिमा गर्ने मान्यता प्राप्त नेको इन्स्योरेन्सले डिपो परिसरमा कार्यालय खोलेर बिमा गर्न थालेपछि एसोसिएसनले बिमाका लागि आयल निगमको डिपो परिसरमा खोलेको काउन्टर हटाएको थियो । एसोसिएसनले डिपो परिसरबाट काउन्टर हटाए पनि बिमा रकम उठाउनचाहिँ रोकेको छैन । डिपो अगाडिको एक भवनमा कोठा लिएर एसोसिएसनले अझै पनि बिमाको रकम उठाइरहेको छ । ‘एसोसिएसनले बिमाको नाममा हामीसँग प्रत्येक ढुवानीमा इन्धनको मूल्यअनुसार पाँच सयदेखि एक हजार लिएर रसिद दिन्छ’, एक व्यवसायीले भने, ‘तर, भ्याटसहितको बिल माग्दा यही रसिद हो, अरू रसिद लिएर तपाईंसँग के गर्नु छ ? कुनै घटना भए एसोसिएसनले क्षतिपूर्ति दिन्छ भनेर पठाउँथ्यो ।’
एसोसिएसनले बिमा रकम उठाउन खटाएका कर्मचारी रोशन गुप्ताले इन्धन ढुवानी गर्ने ट्यांकरसँग बिमाको रकम लिने गरेको बताए । उनले भने, ‘बिमाको रकम उठाउन एसोसिएसनले नै रसिद पठाएको छ, त्यही रसिद दिएर व्यवसायीसँग बिमाको रकम उठाउँछौँ । यो कानुनसम्मत हो वा होइन, मलाई थाहा छैन ।’ उनले प्रतिमहिना पाँच लाखसम्म इन्धन बिमाको रकम उठाउने गरेको उनले जानकारी दिए । तीन वर्षदेखि यस्तो रकम उठाउँदै आएको बताउदै उनले भने, ‘ट्यांकरमा क्षति भएमा बिमाको रकम दिने हो । तर, मैले काम थालेदेखि यस्तो कुनै घटना भएको छैन ।’ उनले यस विषयमा थप बुझ्नुपर्ने भए एसोसिएसनका कार्यालय सचिव नारदप्रसाद भण्डारीसँग बुझ्न आग्रह गरे ।
यता, अध्यक्ष भण्डारीले पनि एसोसिएसनले लामो समयदेखि बिमाको रकम उठाउँदै आएको बताए । एसोसिएसनले बिमा प्राधिकरणबाट एजेन्टको अनुमति लिएको दाबी गर्दै उनले भने, ‘यो धनुषामा मात्र नभई धेरै ठाउँमा हामीले इन्धन ढुवानीको बिमा गर्दै आएका छौँ ।’ भण्डारीले बिमाका लागि अनलाइन वा भ्याटसहितको बिल आवश्यक नभएको दाबी गरे । बिमा प्राधिकरणसँग समन्वय गरेर काम गरिरहेको उनको दाबी छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन काठमाडौंले २०७३ जेठ २८ गते राष्ट्रिय बिमा कम्पनी लिमिटेडबाट बिमा अभिकर्ताको इजाजत लिएको छ । उसको बिमा अभिकर्ता नम्बर ३३८४ रहेको छ ।
बिमा ऐन २०७९ को दफा नम्बर २४ अनुसार बिमा प्राधिकरणमा इजाजत नलिई बिमा, पुनर्बिमा वा बिमा कोषजस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिमा व्यवसायसम्बन्धी कुनै कारोबार, उद्योग, व्यापार, व्यवसाय गर्न गराउन हुँदैन भन्ने र दफा १५३ अनुसार बिमकबाहेक अन्य कसैसँग बिमा व्यवसायसम्बन्धी कारोबार गर्न नहुने कानुनी व्यवस्था छ ।
त्यसैगरी, माथि उल्लिखित कानुनी प्रवधानविपरीत बिमक बाहेकका कुनै संगठित संस्थाहरूले बिमा व्यवसायसँग सम्बन्धित कारोबार गरेको देखिएको हुँदा सोही ऐनको दफा १४० को उपदफा १ को खण्ड (क) बमोजिमको बिमा कसुर मानिने र दफा १४१ को उपदफा (१) बमोजिम दण्ड जरिवाना हुन सक्ने व्यवस्था छ । बिमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘अभिकर्ता भनेको कुनै वस्तुको बिमा गराउनुपर्दा बिमा अभिकर्ताले कुनै बिमा कम्पनीसँग बिमा गराइदिने हो । ऊ आफैँले बिमा गर्ने होइन । ऊ बिमा गर्ने एजेन्ट मात्र भयो । बिमा गर्ने कम्पनी होइन, बिमा त बिमा कम्पनीले गर्ने हो ।’
अधिकारीले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले प्राधिकरणबाट अभिकर्ता इजाजत मात्रै लिएकाले एसोसिएसनले अन्य कुनै बिमा कम्पनीलाई बिमाको बिजनेस दिने अधिकार हुन्छ । अधिकारीले भने, ‘ऊ आफैँ बिमा गरिरहेको छ भने त्यो कानुनसम्मत छैन ।’ त्यसरी बिमाको नाममा रकम असुल गर्ने र बिमा कम्पनीमा बिमा रकम जम्मा नगरी आफैँले राखेको पाइए बिमा प्राधिकरणले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने अधिकारीको भनाइ छ ।
नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो प्रमुख दिलीपकुमार चौधरीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने गराउने कार्य व्यवसायीहरूको रहेकाले त्यसमा डिपोको खासै चासो नरहेको बताए । लामो समयदेखि एसोसिएसनको नाममा व्यवसायीहरूले बिमाको रसिद लिएर आउने गरेका थिए । उनले भने, ‘अहिले एक कम्पनीले बिमा गरिरहेको छ, कोसँग बिमा गराउँछन्, त्यो व्यवसायीको स्वतन्त्रता हो, हामीले भन्न मिल्दैन । फेरि पनि बिमा गराउनैपर्छ भनेर अनिवार्य प्रावधान पनि छैन । व्यवसायीले आफ्नो व्यवसाय सुरक्षाका लागि इन्धनको बिमा गराउने हो ।’
एसोसिएसन र पेट्रोल व्यवसायीबीच मतभेद
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आयल निगमको डिपोदेखि पम्पसम्म ढुवानी हुने इन्धनको बिमावापत संकलन गर्ने रकममा तोकिएकै दररेट कायम गर्ने निर्णय गरेको छ । निगमको डिपोदेखि पम्पसम्म ढुवानी हुने इन्धनमा शून्य दशमलव शून्य ६ प्रतिशत बिमा शुल्क निर्धारण गरिएको छ । यस्तो रकम उपभोक्ता मूल्यमा जोड्ने गरिएको छ । उपभोक्ताबाट उठाएको रकम निगमले पेट्रोल पम्प व्यवसायीलाई भुक्तानी दिने र पम्प व्यवसायीले एसोसिएसनमार्फत राष्ट्रिय बिमा कम्पनीमा दाखिला गर्दै आएका छन् । एसोसिएसनले भने प्रत्येक पम्प व्यवसायीलाई बिमा शुल्कबापत शून्य दशमलव शून्य ८ प्रतिशतका दरले हुन आउने रकम संकलन गरिरहेको थियो ।
वर्षौंदेखि तोकिएभन्दा बढी दरमा बिमा शुल्कबापतको रकम एसोसिएसनले उठाएको भन्दै असन्तुष्टि पेट्रोल पम्प व्यवसायीले दुई साताअघि नयाँ संस्थाका रूपमा ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ स्थापना गरेका छन् । बिमाका लागि तोकिएभन्दा बढी रकम उठाएर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै असन्तुष्टि व्यवसायीले नयाँ संस्था खोलेका हुन् ।
प्रतिक्रिया