रुकुमपश्चिम । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको जाजरकोट र रुकुमपश्चिममा यतिबेला राजनीतिक दलहरू सक्रियताका साथ अस्थायी आवास निर्माणमा जुटेका छन् । भूकम्पपछि खोज उद्धार र राहत वितरणदेखि अस्थायी आवास निर्माणसम्म उनीहरू एकताबद्ध भएर खटिएका छन् । पहिलो चरणको उद्धार, राहतपछि अहिले आआफ्नै राजनीतिक दलहरूले स्वयंसेवक खटाएर काम गरिरहेका छन् ।
भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउने ? कहिले आवास निर्माण गर्ने भन्ने अन्योल बढिरहेको बेला राजनीतिक दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई स्वयंसेवकको रूपमा खटाएर निर्माण गरिरहेको जिल्लामा सक्रिय राजनीतिक दलहरूले बताएका छन् । पार्टीको विभिन्न जिम्मेवारी लिएर प्रभावित क्षेत्रमा खटिएका उनीहरूले फरक पार्टीको कार्यालय निर्माणदेखि व्यवस्थापनसम्म खटिएका छन् । आस्था र विचारलाई लिएर प्रायः विवाद गरिरहने पार्टीहरू यति बेला एकबद्ध भएका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–५ मा रहेको नेपाली कांग्रेसको कार्यालय भूकम्पले क्षति पु¥याएको एमालेले व्यवस्थापन गरेको छ । सत्तारूढ नेपाली कांग्रेसको पार्टी कार्यालय नेकपा एमालेको स्वयंमसेवकले शुक्रबार व्यवस्थापन गर्ने र भग्नावशेष निकाल्ने काम गरेको विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुखसमेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।
भूकम्पले भत्किएपछि बन्द अवस्थामा रहेको जाजरकोटस्थित नेपाली कांग्रेस पार्टी कार्यालय अखिल नेपाल किसान महासंघको टिम एफ वानले उक्त व्यवस्थापन गरेको पौडेलले बताए । भूकम्पपछि १४ दिनदेखि पौडेलेको नेतृत्वमा रहेको एमाले आफ्ना स्वयंसेवकमार्फत जनताको काम गरिरहेको पौडेलले बताए । उनका अनुसार पौडेलको नेतृत्वमा जाजरकोट र रुकुमपश्चिमा गरी १ हजार १ सय स्वयंसेवक खटिएका छन् । उक्त टोलीलाई एमालेले कार्य विभाजन गरी २५ समूहमा अस्थायी आवास निर्माण तथा भत्किएका घरहरू पन्छाउने काम गरिरहेको जानकारी दिए ।
कांग्रेस पार्टी कार्यालय व्यवस्थापनमा खटिएका पौडेल भन्छन्, ‘विपत्मा पार्टीगत कुरा छैन । अहिले हामीले सीमित स्रोत साधनका बाबजुत पनि काम गर्नुपर्ने बाध्यता छ । भूकम्पको इपि सेन्टर बारेकोटमा एमालेको सहभागिता छ । हामीले भग्नावशेष पन्छाउने र टहरा निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छौँ । भूकम्पले भत्किएका घरभित्र पुरिएका सामान निकाल्ने, भत्किएका संरचना सफा गर्ने, आधा भत्किएका संरचनालाई पूर्ण भत्काई खाली गर्नेलगायत काम भइरहेको छन् । मंसिरको चिसोबाट जोगाएर नागरिकलाई छानामुनि लिने प्राथमिकता अनुसार हामीले दुई जिल्लामा करिब सात सय बढी अस्थायी टहरा निर्माण गरेका छौँ ।’ उनले भने, ‘चिसो पालमुनिबाट शीत छल्ने टहरामा बस्ने गरी काम गरिरहेका छौँ ।’
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ मा पनि नेकपा एमाले र माओवादीले संयुक्त रूपमा काम गरिरहेका छन । नेकपा एमाले पाल्पा र अर्घाखाँची जिल्ला उपसचिव शम्भु पोख्रेलको नेत्तृत्वमा खटिएको समूह र नेकपा माओवादी केन्द्र आठबिसकोट र जिल्ला कमिटीबाट खटिएको टोलीले संयुक्त रूपमा निर्माण गरिरहेको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा तीन हजार स्वयंसेवक खटिएको जनाइएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गोर्खबहादुर केसीका अनुसार एक हजार बढी अस्थायी आवास निर्माण गरिएको छ । उनका अनुसार माओवादीबाट खटिएका स्वयंसेवकले दैनिक ५० भन्दा बढी टहरा निर्माण गरिरहेका छन् । केसी भन्छन्, ‘कतिपय ठाउँमा स्रोत नै छैन । कहीँ काठ छैन, कहीँ जस्ता छैन । जसोतसो त्यहाँ स्थानीय स्तरमा पाइने काठ जोडेर तत्काल घामपानी र शीत छल्ने टहरा निर्माण गर्ने काम गरिरहेका छौँ ।
नेपाली कांग्रेसले नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण गरिसकेको जनाएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीका अनुसार कांग्रेसले रुकुमपश्चिममा दुई हजार बढी स्वयंसेवक खटाएर ३० वटा आवास निर्माण गरिसकेको बताए । कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको नेतृत्वमा आठबिसकोटमा स्वयंसेवक खटाएर काम गरिरहेको कांग्रेसले जनाएको छ ।
भूकम्पपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल भूकम्प प्रभावित क्षेत्रमा सक्रिय बनेका छन् । दलहरूले आफ्ना भ्रातृ संगठनलाई प्रभावित क्षेत्रमा तैनाथ गरिरहेका छन् । त्यस्तै रास्वपाका भौतिक पूर्वाधार विभाग प्रमुखसमेत रहेकी सांसद निशा डाँगीका अनुसार आठबिस नगरपालिकाको–१४ र सानोभेरी गाउँपालिकाको १, २ र ४ मा अस्थायी आवास निर्माण गरिएको हो । रास्वपा रुकुमका नेता इन्जिनियर मानबहादुर शाहीको समूहले आठबिसकोटमा अस्थायी संरचना निर्माण गरेको छ ।
अस्थायी आवास निर्माणमा खटिएका स्वयंसेवकहरू भूकम्प प्रभावितहरूका लागि टहरा निर्माणको कार्य ढिलाइ भइरहेको बताउँछन् । एकातिर चिसो बढ्दै छ । अर्कोतिर चिसोकै कारण ज्यान जान्छ कि भन्ने चिन्ताले पिरोलिरहेको भूकम्पपीडितहरू बताउँछन् । सरकारी प्रक्रिया झन्जटिलो र सर्वसाधारणले कार्यविधि प्रष्ट बुझ्न नसक्दा अन्यौलता बढेको सरोकारवालाहरू बताउँछन् ।
रुकुम पश्चिम
प्रतिक्रिया