लोकरङ रीतिको प्रेम हो, छठपर्व । षष्ठीको माङ्गलिक बेलामा जसको केन्द्रमा सामान्य मानिस, किसान वा ग्रामीणजन छन् । आज आएर नगरीयता पनि आइसकेको छ । यो पर्वको लागि न त पौरोहित्य चाहिन्छ न शास्त्र । मात्र आफ्नो ऊष्मा र ऊर्जालाई सूर्यको आभामा मिश्रित गरे पुग्छ । यिनै विषयवस्तु र रूप रीतिको समन्वयले यसलाई शिल्पगुण प्रदान गर्छ । सूर्य षष्ठी अर्थात् छठी मइयासँगको कृतज्ञताको व्यापक अर्थ हुने गर्छ । त्यो हो–आफ्नो जडासँगको सम्बन्ध । सूर्यको प्रति कृतज्ञता, प्रकृतिको रम्यतामा विचरण ।
पूर्वीय कलादृष्टि सृष्टिको पुनःस्थापन हो । जहाँ थरिथरीका रङ, विभिन्न ऋतु, उत्सव र पर्व नै जीवनको समग्रता हो । कलाको परम सौन्दर्य अभिव्यञ्जनामात्र नभए आत्मामा निवास गर्छ । यो नै कला हो । मलाई लाग्छ, कला प्रकृतिको प्रतिकृति हो । त्यतिमात्र होइन यसभन्दा अगाडि प्रकृतिको बिम्व–प्रतिबिम्व पनि हो । हामी सबै उत्सवधर्मी हौं । विजयादशमीदेखि सुरु भएको पर्व शृङ्खला भ्रातृदुतियासम्म आइपुग्दा बुद्धको सन्देशसँगै ‘अप दिपो भव !’ आफ्नो पथ प्रशस्त गर र आफ्नो प्रकाश बन । आफ्नो ज्योति आफै बन्ने सङ्कल्प लेउ ‘दिप ज्योति नमोस्तुते !’ सँगै भाइबहिनीको प्रेम, पशुपंछीप्रतिको प्रेम र स्नेह बाँडिदै बढ्छ ।
भनिन्छ, ‘सर्वजनहिताय सर्वजनसुखाय’ जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठको सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । छठपर्व सूर्य उपासनाको पर्व हो । नकारात्मक सोचलाई छोडेर सकारात्मकतातिर अग्रसर हुनु छठपर्वको विशेषता हो, जो हाम्रो संस्कारको प्रतीक बनेको छ । पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाउनु मिथिलाञ्चलको सांस्कृतिक परम्परा हो ।
यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्याङ्कन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति, कल्याण तथा परिवारको उन्नति र रक्षाको लागि श्रद्धापूर्वक मनाइन्छ ।
स्थानीय कृषिजन्य उत्पाद, बाँस, माटोको अनिवार्यताले लोकपर्व, लोकपूजा छठी–व्रत आदिपूजा हो । सभ्यता संस्कृतिको साथै धेरैजसो अन्न र खाद्यपदार्थको प्रचलन समुचित नभएको अवस्थामा सुथनी, बेसार, भन्टा, नेवो, भोगटे, नरिवल, ऊखु, तर–तरकारी, अरुवा चामल, केराउ नैवेद्यको रुपमा चढाउने गरिन्छ । यसमा चढाइने प्रत्येक सामग्रीहरुले कृषक कर्मशीलताको प्रदर्शन गरिरहेको हुन्छ । वस्तुतः यसलाई ग्रामीण र कृषिपर्व पनि भन्न सकिन्छ ।
माटो सर्वत्र उपलब्ध छ । माटोबाहेक सबै माध्यम मलाई यान्त्रिक लाग्छ । भनिन्छ, पुरापाषाणकालपछि नवपाषाण युगमा प्रवेश गर्दाको समयमा कृषिको आविष्कार र पशुपालनको परिणाम स्वरूप मानव पहिलोचोटी अन्नको उत्पादन गर्न सक्षम भयो । तत्पश्चात् अन्य चिजका बारे सोच्न थाल्यो । यसरी कृषि कर्मसँगै पशुपालन, बुनकरी, गृह निर्माण सँगसँगै मृत्तिका शिल्पको श्रीगणेश भयो होला । सर्वप्रथम उब्जाइएको अन्न भण्डारण र अगाडिको वर्षको लागि बिउ सञ्चयको खोजले काँचो माटोले पात्रको आविष्कार भयो भन्न सकिन्छ । बाँसको संरचनामा माटोको लेप लगाई तयार पारिएको संरचनाले सुरक्षित र सहज अन्न भण्डारण ग¥यो । आज पनि तराई भेगमा कोठी र भखारीको रूपमा हामी कहाँ विद्यमान छ । सर्वप्रथम भाँडो माटोबाट बने । यो दुनियाँको पहिलो उत्पादन थियो भने दुनियाँको सबैभन्दा पहिलो यन्त्र कुम्हालेको चक्र थियो । दुनियाँको पहिलो कारखाना कुम्हालेको भट्टी भयो ।
अनुमान गरिन्छ, कृषि र मृत्तिका शिल्पजस्ता क्रान्तिकारी खोजको श्रेय महिलालाई जान्छ । किनभने कृषिको प्रारम्भिक अवस्थामा आफ्नो आवासक्षेत्र वरिपरी उम्रेका जंगली घाँसपातबाट अन्न निकाल्ने प्रयोगको अगुवाई महिलाले गरे । यसरी खाना पकाउनेक्रममा चुलो बनाउनका लागि गिलो माटो उपयोगमा ल्याइएको हुनुपर्दछ । यसरी आवश्यकतानुसार मृत्तिका शिल्पको बिस्तार भएको हुनुपर्दछ ।
छठमा चाहिने माटोको दियो, हात्ती, ढकना, सरवा, कुरवार, घैलाजस्ता मृत्तिका हस्तशिल्प उत्पादनको अनिवार्यता कला केका लागि ? प्रश्नको सहज उत्तर हुने गर्छ । यसैगरी बेणु हस्तशिल्प यानी बाँसको उत्पादन सुप (नाग्लो), कनसुप्ति, ढकिया, पथिया आदिको पूजा सम्पादन गर्न अतिआवश्यक हुने गर्दछ । बाँसलाई पवित्र वनस्पति मानिन्छ । जसलाई वंशवृद्धिको प्रतीक मानिन्छ । पावनी तिहार, विवाह, देवकर्म, पृतिकर्म, व्रतबन्धजस्ता सामाजिक संस्कारको बेला यसको अनिवार्य प्रयोग हुने गर्दछ । बाँसको हस्तशिल्प डोम समुदायको, माटोको उत्पादन कुम्हाले जातको, पुजामा चाहिने फूल आपूर्ति गर्ने जिम्मा मालाकार जातिको हो भने खाजा, लड्डु, बतासाजस्ता मिठाई हलुवाई जातिको हो । यहाँको पाककलाको छुट्टै विशिष्टता र सौन्दर्य छ । आज दुनियाँको पर्यावरण खतरनाक अवस्थामा आउँदा विकल्प माटो–कुम्हाले, बाँस–डोम नै हुन् । कुम्हाले, डोम, चर्मकार, मालाकार, हलुवाई जाति होइन कर्म हो । यहाँ कर्मप्रधान हो । यो भूमि कर्मशीलताको हो ।
पुजा पूर्व गरिने तयारी, भिजाइएको आरुवा चामललाई सिलैटोमा पिसेर तयार परेको घोलले पिठारले पुजामा प्रयोग हुने माटोको हात्ती घैला, सरबा, दियो आदिमा विभिन्न रङले चित्र लेखिन्छ र चित्र लेखन न सके दाहिनेहातको पन्जाले छाप लगाई सिन्दुर लगाइन्छ र छठघाट गोबर माटोले लिपी पिठारले अरिपन लेखी सिन्दुर लगाई पुजाको लागि तयार परिन्छ । भूमिमा लेखिने आकृतिलाई अरिपन भनिन्छ भने भित्तामा लेखिने चित्र भित्तीचित्र हुन् । गोसाइघरमा कुलदेवता आह्वान गर्न भित्तामा पिठार लगाइन्छ, जसलाई ‘थप्पा’ भनिन्छ ।
अरिपन वैदिककालबाट परम्परागतरूपमा चल्दै आएको छ । यो वेदमा वर्णित सर्वतोभद्रको विकसित रूप हो । मिथिलामा आज पनि अरिपन लेखनका लागि चाहिने पिठार सेतोरङ चामलबाट तयार गरिन्छ । चामल यहाँको स्थानीय उत्पादन भएकाले सहजरूपमा उपलब्ध पनि हुन्छ । सर्वतोभद्रको स्वस्तिक अरिपन लेख्ने चलन यहाँ परम्परागतरूपमा चल्दै आएको छ ।
छठपर्व वर्षमा दुई पटक मनाइन्छ । चैत महिना र कार्तिक महिनामा । यो दुवै महिनामा शुक्लपक्षको षष्ठी तिथिमा मनाइने हुँदा छठपर्वको संज्ञा दिइएको छ । सूर्यशक्तिको मुख्यस्रोत उनका दुई पत्नी उषा र प्रत्युषा हुन् । उनको उपासना नै चार दिवसीय छठपर्व हो । यसको प्रारम्भ चतुर्दशीको दिनदेखि हुन्छ जसलाई ‘नहाय–खाय’ भनिन्छ । पर्वमा पञ्चमीको साँझ खरना, षष्ठीको साँझ अस्ताउन लागेको सूर्यलाई जलाशयमा कम्मरसम्मको पानीमा प्रवेश गरी अर्घ दिन्छन् । सप्तमीको प्रातः छठ ब्रतालु मिर्मिरे बिहानीमा उदयमान भगवान भास्करलाई अर्घ दिन छठीघाटमा उपस्थित हुन्छन् ।
प्रकृतिको विभिन्न विशेषतहरुमध्ये सूर्योदय र सूर्यास्त पनि एक हो । आजको संसारिक उखान उदाउँदो सुर्यलाई सलाम गर्ने हो, तर छठमा पहिले अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठले बताउँछ सुन्दरताको भावना राख्ने व्यक्तिले सूर्यको लालीमा प्रकाशको चमकको सुन्दरतालाई कहिले पनि नकार्न सकिन्न । यसरी नै, सूर्यास्तको सुन्दरताले कतिपय संवेदनशील र कलात्मकता आमानिसको प्रशंसाको छन्दको रचना गर्ने, सुन्दर गद्य, चित्र लेख्ने घटनालाई सधैंको लागि क्यानभास वा क्यामरामा कैद गर्नको लागि प्रेरित गरेको छ । यो हाम्रो पुर्खाले सूर्य षष्ठीमा बाँचे, आज पनि जारी छ ।
हाम्रो संस्कृतिमा प्रातः सूर्यलाई अर्घ दिइ भन्छन् हे सूर्य ! अन्धकारलाई हटाई यो धरा आलोकित गर । राष्ट्रिय पर्व छठको सन्दर्भमा हामीले जोड दिनुपर्ने मुख्य सन्देश मानवीय एकता र सद्भाव हो । छठपर्वका लागि जलाशय किनारमा बनाइएका घाटमा लोकगीतको धुनसँगै, लहरै बलिरहेको दियो, पानीमा परावर्तित मनमोहक प्रकाशले सबै धर्म समुदायका मानिसलाई यसरी नै मिलेर, उज्यालो छर्दै समाज नवनिर्माणमा लाग्न प्रेरित र आग्रह गरिरहेको हुन्छ । एउटै पोखरी वा जलाशयको चारैतिर विभिन्न जातजाति धर्म समुदायका व्यक्तिले घाट बनाइ अर्घ दिने भएकाले यो पर्व छुवाछुतबाट टाढा रहेको पनि सन्देश दिन्छ ।
यो पर्व प्रकृति नजिक हुन्छ । समाजमा समानताको प्रतीक पनि हो । यो त्यो विश्वासको प्रतीक हो, अँध्यारोपछि प्रकाशको आगमन हुन्छ । सूर्यअस्त हुन्छ किनकि उसलाई उदाउनु छ । कलश र माटोको हात्तीमाथि चौमुख दियो बलिरहन्छ । अर्घमाथि बल्दै गरेको दियो हुन्छ । बल्दै गरेको दियो सूर्यदेवलाई अर्पण गरिन्छ । सूर्यास्तपछिको अँध्यारोबाट सानो दियो आफ्नो प्रकाशले चारैतिर उज्यालो छर्छ । जस्तो भनिरहेको छ, हे सूर्य देव ! हजुर जानुस्, हजुर आउन जेलजीवनमा अँध्यारो नआओस् भनी म प्रयासरत् रहन्छु र रातभरि बलिरहन्छ । दियोको प्रकाशमा ब्रती सूर्योदयको प्रतीक्षामा हुन्छन् । सूर्य नउदाउञ्जेलसम्म महिलाहरुले लोकगीतको माध्यमले बिन्ती गर्छन् । ‘उग हो सुरुज देव–अर्घ के बेरिया’….।
प्रतिक्षा सकियो शुक्रबार ‘नहाक खाय’ (नुहाएर चोखो भै चोखो खाने) बाट छठपर्व सुरु भइ आज शनिबार ‘खरना’ ततपश्चात् आइतबार सन्ध्या अर्घ प्रदानसँगै पत्नी ‘प्रत्यूषा’ सँग बिदा भएर सूर्यदेव सोमबारको पहिलो किरण पत्नी ‘उषा’ सँग उदाएर बल्दै गरेको सानो–सानो दियो जलमा प्रवाह र अर्घ अर्पण गरी पानीको लहरासँग बग्दा–बग्दै दियो सूर्योदयसँगै बल्दाबल्दै प्रायः सक्किन लागेको बत्ती, सूर्यलाई हेरी निभ्दै गरेको लौ पुनःप्रकाशित भइ शान्त हुने छन् । दियो निभ्छ । तर, सूर्यमा समाहित उसको तेज पुनःजीवन आलोकित गर्छ ।
जेहोस धर्म, संस्कृति, रीतिरिवाज हाम्रा सम्पदा हुन् । समाज नियन्त्रणका लागि पनि यो अपरिहार्य छन् । यस्ता गहना बचाउँदै तिनको सक्कलीपन विस्तार गर्नु संस्कृतिप्रति सच्चा सम्मान पनि हो । यसले हामीलाई नै समुन्नत बनाउँछ । त्यसैले एकआपसमा मिलाउने, सद्भाव कायम गराउने, अपराध प्रवृत्तिलाई निरुत्साहित गराई दयाभाव उत्पन्न गराउने यस्ता धार्मिक पर्वको हामी सबैले संरक्षण र सदुपयोग गर्नुपर्छ, जसले हामीलाई सद्भावको सन्देश दिन्छ । महान पर्व छठको अवसरमा सम्पूर्णमा सुख, समृद्धि, सु–स्वास्थ्यको शुभकामना ।
प्रतिक्रिया