मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–४ भामवाडामा विद्युतको तार सर्ट भएर एक घर जलेर नष्ट भएको छ । गत सोमबार अपरान्ह १२ बजेतिर विद्युत सर्ट हुँदा देवीराज रावलको घर जलेर नष्ट भएको हो ।
अचानक विद्युत सर्ट भएर तीन तलाको घरमा आगो सल्किएपछि घरभित्र रहेका लत्ताकपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब त्यसैगरी नगद रुपैयाँ र गरगहना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
सोमबार भएको उक्त घटनाबारे क्षतिको विवरण आज यकीन भएको प्रहरीले जनाएको छ । ‘दिउँसोको समयमा घरभित्र कोही पनि नभएको बेला बाहिरबाट ताल्चा लगाएको बेला आगलागी भएको हो’, अग्निपीडित देवीराज रावलले भने, ‘जस्तापाताले छाएको र घरभित्र काठले प्रयोग गरेर बनाइएको घर जलेर नष्ट भएको छ ।’
आगलागीबाट मानवीय क्षति नभए पनि प्रहरीले वडा ४ कार्यालयको रोहवरमा मुचुल्का तयार गरे अनुसार ९ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुँडा, गरगहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छ्न् ।
मुगु
प्रतिक्रिया