भूकम्पले आठबिसकोटको घेत्मा स्वास्थ्य चौकी भत्कियो, औषधि अभावले उपचारमा समस्या

रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको स्वास्थ्य चौकीको भवन भत्किएको छ । नगरपालिकाको वडा नम्वर १४ स्थित घेत्मामा रहेको घेत्मा स्वास्थ्य चौकी भत्किदा औषधि भित्रै थुनिएको छ ।

भूकम्पबाट सबैभन्दा प्रभावित उक्त क्षेत्रमा रहेको एक मात्र स्वास्थ्य चौकी भत्किदा बिरामी र भुकम्पका घाईतेलाई उपचार गर्न समस्या भएको छ । उक्त क्षेत्रबाट नगर अस्पताल पुग्न झण्डै डेढ घण्टा लाग्छ । दुर्गमा ठाउँमा रहेको एक मात्र स्वास्थ्य चौकी भत्किदा औषधी समेत अभाव भएको बताइको छ ।

भूकम्पबाट स्वास्थ्य चौकीको भवन भत्किएको छ । औषधि र स्वास्थ्य सामग्री भित्रै थुनिएको छ । अहिले स्वास्थ्य चौकीमा आउने बिरामी तथा घाइतेलाई उपचार गर्न अप्ठ्यारो भएको सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी बिनिता केसी चन्दले जानकारी दिइन् । भवन भत्किएपछि खुल्ला आकाशमा बसेर सामान्य उपचार भइरहेको उनको भनाइ छ ।

६ जना कार्यरत रहेको उक्त स्वास्थ्य चौकीमा अहिले चन्द एक्लैले सेवा दिरहेकी छिन् । औषधि भत्केको भवन भित्रै थुनिदा दिर्घ रोगी, सुत्केरी, गर्भवती महिला र बालबालिकालाई उपचारमा समस्या देखिएको छ ।

नेपाल प्रहरीका अनुसार उक्त भत्किएको भवन जोखिमपूर्ण भएकाले तालीम प्राप्त जनशक्तिमार्फत औषधि निकाल्ने कार्य भइरहेको छ । भवनको भित्री भाग सबै भत्किएको छ भने बाहिरी भाग चर्किएर चिराचिरा परेको छ ।

प्रतिक्रिया