राष्ट्रपति पौडेल युरोप भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ देखि युरोप भ्रमणमा जाने भएका छन् । फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा सहभागी भएर राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले राष्ट्रपतिको युरोपको भ्रमणको कार्यक्रम स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल आगामी मङ्सिर १ गते स्वदेश फर्कने छन् ।

मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरव इमिरेटस् (यूएइ) मा आयोजना हुने ‘दुबई एयर शो, २०२३ को १८औँ संस्करण’मा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई चीनको संघाइमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन स्वीकृति दिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिमण्डल ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’मा भाग लिन यही कात्तिक २० देखि २१ गतेसम्म चीनको छाइछिङ भ्रमणको स्वीकृति प्रदान गरेको छ ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी मङ्सिर २५ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको एटलाण्टामा आयोजना हुने भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन अनुमति दिएको छ ।

मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यावसायिकरणलगायत विषयमा नेपाल सरकार र कोरियाबीच हुने समझदारीपत्र स्वीकृत गरेको छ भने सोही मन्त्रालयअन्तर्गगत सञ्चालित परियोजनाका लागि दुई सय ६१ जना राजपत्रांकित अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

बैठकले नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको चार रापनी जग्गा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ भने बडीकेदार गाँउपालिका डोटीको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माणका लागि राष्ट्रिय वनको १३ दशमलव दुई रोपनी जग्गा २५ वर्षसम्म उपयोग गर्न स्वीकृति दिएको छ ।

बैठकले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्न संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको चार दशमलव २९०४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा उक्त वन क्षेत्रमा रहेका एक सय २४ वटा रुख कटाउन स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मदन भण्डारी राजमार्गअन्र्तगत सुर्खेत जिल्लास्थित खम्बागाडे–पलौटे–विध्यापुर–गुटु–मायाताल सडकखण्डको स्तरउन्न्तीको लागि राष्ट्रिय वन क्षेत्रको १४ दशमलव ५९ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका एक हजार दुई सय ९२ रुख हटाइने भएको छ ।

प्रतिक्रिया