रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको आयोजनामा जनप्रतिनिधिहरुका कानूनी शिक्षासम्बन्धी अभिमुखिकरण सुरु भएको छ ।
पालिकाको वडा नम्बर ९ स्थित नगर अस्पतालको तालिम हलमा आठविसकोट नगरपालिकाको आयोजना र रुकुम जिल्ला अदालत बार इकाइको समन्वयमा जनप्रतिनिधिका लागि कानूनी शिक्षासम्बन्धी अभिमुखिकरण आज र भोलि सञ्चालन गरिने आठविसकोट नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक धनकुमारी शाहीले जानकारी दिइन् ।
न्यायिक समितिको क्षमता विकास गर्ने, जनप्रतिनिधिलाई कानूनी शिक्षा प्रदान गर्ने, संविधान र सो अन्तर्गत बनेका कानूनको बारेमा जानकारी दिने, मुलुकी देवानी ऐन, मुलुकी फौजदारी कार्यविधिबारे जानकारी लिने र जनप्रतिनिधि क्षमता विकास तथा पुनताजकीकरण गरी कार्यसम्पादन अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए ।
उक्त दुई दिने अभिमुखिकरण कार्यक्रम न्यायिक समितिको काम, कर्तव्य अधिकार, न्यायिक समितिको न्याय सम्पादन प्रक्रिया, मेलमिलाप, कानूनी सचेतता कायम गर्ने, जनप्रतिनिधिलाई कानूनी सचेतना, जवाफदेहि गराउने र नागरिकलाइ न्याय कायम गर्ने जस्ता विषयमा छलफल गरिने न्यायिक समिति उजुरी प्रशासक राजु परियारले जानकारी दिए ।
उक्त कार्यक्रममा प्रशिक्षकका रुपमा रुकुम जिल्ला न्यायाधीश खडक बहादुर केसी, अधिवक्ता रत्नबहादुर खड्का, अधिवक्ता टेगबहादुर खड्का र इजलास अधिकृत गोविन्द्र कोइराला लगायतले दुई दिनसम्म प्रशिक्षकको रुपमा रहेर प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा जनप्रतिनिधि वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य, न्यायिक समिति, विषयगत शाखा प्रमुखलगायतको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया