क्वालालम्पुर : मलेसियाको एक जंगलमा विश्वकै दुर्लभ पिग्मी जातका १४ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । मलेसियाको बोर्नियोमा भेटिएका ती हात्तीलाई तस्करहरूले विष हालेर मारेको हुनसक्ने आशंका गरिएको छ । सबै हात्ती यसै महिना मारिएका हुन् । ‘हात्ती आपैँm मरेका वा मारिएका हुन् भन्नेबारे अनुसन्धान जारी छ । यो समाचारले हामीलाई निकै स्तब्ध बनाएको छ’, मलेसियाका वन्यजन्तु संरक्षणमा सक्रिय एक अधिकारीले भने । गत मंगलबार दशवटा हात्ती मृत अवस्थामा फेला परेका थिए । सोही क्षेत्रमा शुक्रबार थप चारवटा हात्तीको शव भेटिएको हो ।
स्थानीय वन अधिकारीका अनुसार यस विषयमा छानबिन गर्न सरकारले एक छानबिन समिति गठन गरेको छ । मलेसियाको गुनुङ रारा जंगलमा यसै साताको आरम्भमा मृत अवस्थामा चारवटा हात्ती भेटिएको हो । त्यसैगरी, गत बुधबार थप ६ वटा मरेका हात्ती भेटिएको वन्यजन्तु विभागका निर्देशक लाउरान्टिअस अम्बुले बताए । शुक्रबार थप चारवटा मृत हात्ती भेटिएपछि मृत हात्तीको संख्या १४ पुगेको हो । सो राज्यका वातावरणमन्त्री मासिदी मस्जुले हात्तीलाई विष हालेरै मारिएको पुष्टि भए दोषीलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । (एएफपी)
प्रतिक्रिया