पेट्रोलियमको राजनीति र महावीर पुनको आविष्कार

धेरै पहाडी गाउँहरूको अवस्था यस्तै रहेछ । बाँदरकै आतंकले बारीमा एक त्यान्द्रो अन्न उब्जाउन सकिन्न, तरकारी फल्न पाउँदैन, बोटमा फलफूलको दाना अडिन्न, ढुंगाको छानो उधिनिदिन्छ, केटाकेटी स्कुल आउँदाजाँदा कापीकिताब खोसिदिन्छ, आक्रमण नै गर्ने डर पनि हुन्छ । झोलामा खाजा बोकेर हिँड्न सकिन्न, घर आउँदा पाकेको खानासमेत खान नपाएर भोकै सुत्नुपर्छ । हिजो गहुँ हुन्थ्यो, कोदो हुन्थ्यो, केरा, आँप र अम्बाहरू पÞmल्थे, गाउँ हराभरा थियो । आज उजाड मरुभूमिजस्तो छ ।

नारायण गाउँले

कृपया पेट्रोल–डिजेलमा सस्तो राजनीति नगर्नुहोस् । बर्सौं लामो प्रयास र छलफलपछि नेपालमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमूल्य अर्थात् अहिलेका लागि भारतबाट खÞरीदमूल्य अनुसार नेपालमा पेट्रोलको मूल्य निर्धारण हुने गर्छ । खरिद दर बढ्दा मूल्य बढ्छ, र घट्दा यता पनि घट्छ । यो सबै पार्टी र नेतालाई थाहा छ ।

हामीसँग पेट्रोल उत्पादन छैन । खरिद गर्ने हो । हाम्रो डरलाग्दो व्यापारघाटा यसैमा छ । सबै दल संवेदनशील हुने र पाँच–१० वर्षको स्थायी योजना बनाउने हो भने वैकल्पिक ऊर्जाको उत्पादन, विस्तार र प्रयोग बढ़ाएर पेट्रोल आयात कम गर्न सकिन्छ तर एक–दुई महिनामा, दुई–चार वर्षमा पेट्रोललाई विस्थापन गर्न सकिन्न । यसको खरिद मूल्यलाई नियन्त्रण गर्ने ल्याकत पनि हामीसँग छैन । झट्ट हेर्दा पेट्रोल–डिजेलमा मूल्य बढ्दा महँगी बढ्छजस्तो देखिन्छ तर लोकप्रियताका नाममा सरकारले मूल्यमा हस्तक्षेप गरेर घटाउँदा झन् ठूलो मूल्यवृद्धि र घाटा देशले बेहोर्नुपर्छ ।

देशसँग पर्याप्त राजस्व छैन र यो एक–दुई वर्षमा झ्याम्म बढ्दैन । पेट्रोलको मूल्य घटाउँदा चर्को मूल्यमा आन्तरिक–बाह्य ऋण लिएर अनुदान दिनुपर्छ । यस्तो ऋण तिर्न फेरि अर्को ऋण लिनुपर्छ । आम्दानी नहुने क्षेत्रको ऋणले देशको मुद्रास्फीति बढ्छ । अर्थात् मुद्राको क्रयशक्ति घट्छ । नुनदेखि लसुनसम्म किनेर खाने देशमा मुद्राको मूल्य नै घटेपछि के हुन्छ, भनिराख्न परेन । विगतमा सस्तो लोकप्रियताका लागि चुनावका मुखमा या विपक्षी दलको आन्दोलनका कारण सरकारले जबर्जस्ती घटाएका मूल्यको आज हामी चर्को ब्याज र साँवा तिर्न बाध्य छौँ ।

मूल्य कम हुँदा आवश्यक–अनावश्यक प्रयोग बढ्छ र प्रयोग बढ्दा आयात र घाटा झन् बढ्छ । अझ छिमेकी नाकाबाट चोरीपैठारी हुने गरेका खबर हामीले पढेका पनि छौँ । यतिबेला विश्व बजारमा अनेकथरी द्वन्द्व र भूराजनीतिक संघर्षहरूले गर्दा पेट्रोलियम पदार्थको मूल्य निकै माथि र अस्थिर पनि छ । विश्वभर तीन–चार दशकयताकै चर्को मूल्यवृद्धि छ । विश्वभर यससँग जुध्न क्षणिक र दीर्घकालिक योजना बन्दै छन् । हामीबाहेक प्रायः अरू सबै देश चिन्तित देखिन्छन् । हामी भने दिनदिनै तुच्छ राजनीति गरेर बसेका छौँ । मिडिया, पार्टी, सरकार, विपक्षी, जनता सबैको ध्यान कुन मुख्यमन्त्रीमा कसले गोल ग¥यो भन्नेजस्ता विषयमा छ । सबै मिलेर गर्दा त हाम्रो क्षमता, समय र स्रोतले गर्न सकिने एकदम कम छ, गर्दै नगर्दा कस्तो होला ?

सकिन्छ भने पेट्रोलको प्रयोगलाई कम गर्दै २० वर्षभित्र ऊर्जामा आत्मनिर्भरताको योजना बनाउन रणनीति या कार्यपत्र प्रस्तुत गरौँ । त्यस्ता क्षेत्रमा लगानीका लागि कानुन र वातावरण निर्माण गर्न लागौँ । सरकार फेरिए पनि देशको रणनीति नफेरिने वाचा गरौँ । तर, पेट्रोलको मूल्य बढ्नेबित्तिकै वाहवाह खाने बेला यही हो भन्दै सड़कमा आइहाल्ने, माइकमा भाषण ठोकिहाल्ने या सर्वदलीय बैठक नै बहिष्कार गर्नेजस्ता लोकरिझ्याइँमा नलागौँ । यहाँसम्म कि लोकप्रियताको यो खेलमा सत्तारूढ पार्टीकै भ्रातृसंगठन पनि लाग्ने गरेको देखिन्छ । घटेकोमा क्रेडिट लिने अस्वस्थ होड पनि विरक्तलाग्दो छ ।

हामीले पेट्रोलको मूल्य नियन्त्रण गर्न सक्दैनौँ तर एकजुट हुने हो भने बिजुलीको मूल्य घटाउन सकिन्छ । सस्तोमा बन्न सक्ने योजनाहरू पहिचान गरेर लागत घटाउन सकिन्छ । हाम्रा विश्वविद्यालयले सौर्य ऊर्जामा खोज र प्रगति गर्न सक्छन् । सहरमा द्रुत–साइकल लेन बनाउन सकिन्छ । एउटा राष्ट्रिय नीति बनाएर यातायातलाई विद्युतीकरण गर्न सकिन्छ । आखिर किन्ने नै हो भने किन डिजेलको किन्ने ? तर हामी अरू त अरू, रेलको इंजिन पनि विश्वबाट फेजआउट हुँदै गरेको डिजेलवाला किनेर ल्याउँछौँ । अनि योजनाचाहिँ स्याटेलाइटबाट तेस्रो देशलाई बिजुली बेच्ने बनाउँछौँ । हाम्रो सोच, चिन्तन, भिजन र बहस देशका मूलभूत समस्या र निकासतिर कहिले सोझिएला ?

के तपाईंलाई पनि महावीर पुनको आविष्कार केन्द्रले ‘बाँदर धपाउने’ बन्दुक बनाएको सुन्दा मन अलिक खल्लो भएको थियो ? छिमेकी भारत मंगलग्रह ताक्दै छ, हाम्रो आविष्कार भने यस्तो छ भन्ने लागेको थियो ? मलाई लागेको थियो । तर हिजो विद्या चापागाईंजीको ‘हेर्ने कथा’ आँखा र मन दुबैले पढियो । २०औँ वर्षदेखि बाँदरले हदैसम्म सताएका बस्ती, बाँदर आतंककै कारण तहसनहस बनेका गाउँ, समाज र जीवनहरू, अनि यसको रोकथाममा निरीह राज्यसंयन्त्रको सानो चित्र थियो त्यहाँ तर त्यसभित्रको घाउ भने निकै निकै ठूलो थियो ।

प्रत्यक्ष नबेहोर्नेहरूका लागि झट्ट सुन्दा बाँदरले सताउनु सामान्यजस्तो लाग्न सक्छ । तर गाउँबस्तीहरू कति पीडित छन् र स्थिति कति भयावह छ भन्ने बुझ्नुभयो भने आविष्कारलाई आफ्नै माटोको समस्यासँग जोड्ने महावीरहरूको प्रयासप्रति सम्मान जाग्नेछ ।

सोच्नुस्, तपाईं पहाडी गाउँको बासिन्दा हुनुहुन्छ । अलिकति बारी र खेतबाहेक अर्को जीविकाको स्रोत छैन । यातायात, अस्पताल, कलेज, बजार त छोड्नुहोस्, पानीको स्रोत पनि घण्टौँ टाढा छ । आकासे पानीको भरमा जे उब्जिन्छ, त्यही तपाईंको हातमुख जोर्ने साधन हो । पौष्टिक आहार, ब्यालेन्स्ड डाइट, भिटामिनदेखि चाडबाड र उपचार खर्च पनि त्यही हो । तर, त्यही बारीमा फल्ने एक दाना फलफूल, एक गेडा गहुँ या एक मुठी साग पनि तपाईंले भित्र्याउन सक्नुभएन भने जीवन कति कष्टकर होला ? एकपटक होइन, बर्षैभरि, अझ २०औँ वर्षदेखि यही अवस्था रह्यो भने के होला ? घण्टौँ टाढाबाट बोकेको पानी दिनदिनै कुनै शत्रुले घोप्ट्याइदियो, पकाएर बच्चालाई खुवाउन ठीक्क पारेको रोटी कसैले खोसेर लगिदियो, ऋण खोजेर किनेको चिनी, चामल र फलफूल पनि बट्टैसँग लुटेर लगिदियो र यो क्रम दिनदिनै १०औँ वर्षसम्म चल्यो भने के होला ?

तपाईं कसरी दैनिक गुजारा गर्नुहोला ? कसरी लालाबालालाई खुवाउनुहोला ? कुन पैसाले फाटेको कपडा फेर्नुहोला र बिरामी हुँदा कुन पैसाले उपचार होला ? तपाईंको जीवन कस्तो होला ? धेरै पहाडी गाउँहरूको अवस्था यस्तै रहेछ । बाँदरकै आतंकले बारीमा एक त्यान्द्रो अन्न उब्जाउन सकिन्न, तरकारी फल्न पाउँदैन, बोटमा फलफूलको दाना अडिन्न, ढुंगाको छानो उधिनिदिन्छ, केटाकेटी स्कुल आउँदाजाँदा कापीकिताब खोसिदिन्छ, आक्रमण नै गर्ने डर पनि हुन्छ । झोलामा खाजा बोकेर हिँड्न सकिन्न, घर आउँदा पाकेको खानासमेत खान नपाएर भोकै सुत्नुपर्छ । हिजो गहुँ हुन्थ्यो, कोदो हुन्थ्यो, केरा, आँप र अम्बाहरू पÞmल्थे, गाउँ हराभरा थियो । आज उजाड मरुभूमिजस्तो छ ।

एक दिन होइन, दुई दिन होइन, हरेक दिन यस्तो भएपछि कसरी बाँच्न सकिएला ? पहाडका गाउँहरू यसरी निरीह बनेर, असहाय बनेर रित्तिँदै जाने हो भने, त्यहाँ उत्पादन शून्य बन्दै जाने हो भने देशको अवस्था के होला ? बाँदर नाच्ने जग्गा बिक्ने कुरो भएन, छोडेर जानेहरू कहाँ कसरी बाँचेका होलान् ? गाउँ छोडेर मान्छे विस्थापित भएका छन् । दुःख र पसिनाले बनाएका घरमा झार उम्रेको छ । तर खासगरी दलित र अति विपन्नहरूसँग गाउँ छोडेर अन्त जाने साधन, उपाय र बाटो पनि छैन । जति गाउँ खाली हुन्छ, त्यति त्यहाँ बस्नेहरूको जीवन कष्टकर बन्दै जाँदो रहेछ ।

हामी तारे होटलमा बसेर खाद्य सुरक्षाको कुरा गर्छौं, पौष्टिक आहारको कुरा गर्छौं, गाउँमा एउटा निस्तो रोटीले छाक टार्नुपर्छ, त्यो पनि बाँदरसँग बचाएर । सिंहदरबारको राजनीति, हाम्रो चासो र चिन्तासँग गाउँका ती पीडितहरूको कुनै सम्बन्ध छैन । हामी रवि लामिछानेको नागरिकतामा ६ महिना बिताउन सक्छौँ, एक क्विन्टल सुनमा अर्को ६ महिना बित्छ । संसद् पनि यिनै मुद्दामा कहिले भाषण गर्छ, कहिले हडताल गर्छ ।

महावीरहरू माटोबाट उठेका हुन्, माटोको समस्या, घाउ र चित्कार तिनले सुन्न सक्ने रहेछन् । दुनियाँले खिसिट्युरी गरे पनि तिनले त्यही घाउको उपचार कसरी हुन्छ भन्ने पहिले सोच्ने रहेछन् । मुटुभित्र नघोची यो कुरो बुझिन्न, महावीरलाई बुझिन्न । अलिकति बुझाइदिनुभएकोमा विद्याजीप्रति ऋणी छु । त्यो छोटो हेर्ने कथाले मन निकै बिथोलेको छ । नयाँ–पुराना दल र शासकको मन पनि बिथोलिने हो भने केही उपाय निस्किन्थ्यो कि ? तपाईंले हेर्नुभयो ? (फेसबुक)

प्रतिक्रिया