डा.रामनरेश पण्डितको नाम मधेस र विशेष गरी जनकपुरबासीका लागि नौलो होइन । स्त्री रोग तथा प्रसूतिका लागि पण्डित यहाँ पहिलो नम्बरको डाक्टर हुनुहुन्छ । प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशकसमेत रहनुभएका उहाँ पछिल्लो डेढ दशकदेखि यसै क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गर्दै आउनुभएको छ । डा.पण्डित मधेस प्रवेश गरेका बेला प्रदेशमा प्रसूति शल्यक्रिया वीरगञ्ज र जनकपुरमा मात्रै सीमित थियो । तर त्यहाँ पनि सेवाग्राहीको संख्या पातलो थियो । ‘सुरुमा सुरक्षित प्रसूतिका लागि धेरै ठाउँमा शल्यक्रिया सेवा नै थिएन, न त यो विधामा धेरै चिकित्सक नै थियौँ । हाम्रो अथक प्रयासले नागरिकमा सेवाप्रति भरोसा र विश्वास जगाउन सक्यौँ’, डा पण्डितले भन्नुभयो ।
पढाइमा अब्बल
महोत्तरीको मनरा शिसवा नगरपालिका–८ मा जन्मिनुभएका डा.पण्डितले गाउँकै बथनाह स्कुलबाट विद्यालय शिक्षा पढ्नुभयो । उच्च शिक्षा भने चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज (टिचिङ हस्पिटल) काठमाडौंबाट हासिल गर्नुभयो । डा.पण्डितले सामान्य चिकित्सा (एचए), एमबिबिएस, स्त्री तथा प्रसूति रोगमा एमडी गर्नुभएको छ ।
‘२०४२ सालमा एसएलसी गरेपछि २०४६ सालमा एचए, २०५४ एमबिबीएस र २०५८ मा एमडीको पढाइ सकाएँ । त्यो समय स्त्री तथा प्रसूति रोगमा गिनेचुनेका मान्छेले मात्रै एमडी गर्थे । त्यही बेला मैले पनि अध्ययन पूरा गरेकामा अहिले गौरब महसुस हुन्छ’, उहाँले भन्नुभयो । उहाँले सरकारको छात्रवृत्तिमै सबै तहका अध्ययन पूरा गर्नुभएको हो ।
‘उच्च शिक्षाका सबै तह सरकारको पूर्ण लगानीमा पढेँ । पैसा छैन, पढ्न पाइँदैन कि भन्ने चिन्ता कहिल्यै गर्नुपरेन । यो मेरो लागि सौभाग्य र आमविद्यार्थी तथा जिज्ञासुका लागि पनि प्रेरणाको विषय हुनसक्छ’, डा. पण्डितले भन्नुभयो ।
सेवामा पनि अब्बल
२०५८ सालमा उच्च शिक्षाको अध्ययन पूरा गरेपछि डा.पण्डितले सोही वर्ष जेठमा जनकपुर आउनुभयो । जागिरको सिलसिलामा केही समय सर्लाहीको लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र, महोत्तरीको बर्दिवास अस्पताल र उदयपुरमा काम गर्नुभयो । त्यसअघि सामान्य चिकित्सा विषयमा अध्ययनपछि काठमाडौंको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा स्थायी जागिरेका रूपमा सेवा गर्नुभयो ।
‘सेवा सुरु गरेको २२ वर्षमा केही समय बाहिर रहेँ हुँला तर त्यसपछि निरन्तर जनकपुरमै छु । पछिल्लो १५÷१६ वर्षदेखि त प्रादेशिक अस्पतालबाट कार्यसम्पादन गरिरहेको छु । यसरी आफ्नै क्षेत्रका नागरिकको सेवा गर्न पाउनु मेरो सौभाग्य पनि हो’, डा.पण्डित भन्नुहुन्छ ।
यस अवधिमा प्रादेशिक र निजी अस्पतालमा समेत गरी सानोतिनोबाहेक करिब १० हजार जति शल्यक्रिया र लाखौँ नागरिकको उपचार गर्ने अवसर पाएको उहाँले बताउनुभयो । ‘म प्रादेशिक अस्पतालमा आउँदा प्रसूति वार्डमा प्रायः बेड खाली हुन्थे । नागरिकको विश्वास जित्न धेरै प्रयत्न ग¥याँै, जसले नागरिकलाई आकर्षित गर्दै लग्यो । अहिले त बेड पाउनै मुस्किल छ’, उहाँले स्मरण गर्नुभयो, ‘त्यसको मुख्य कारण सरकारी नीति, गुणस्तरीय सेवा र जटिल अवस्थामा पनि सहजरूपमा काम गर्ने हामीजस्ता चिकित्सक नै हौँ ।’
अनुभव र सिकाइ
चिकित्सा क्षेत्रमा डाइग्नोसिसअर्थात् रोगको पहिचान सबैभन्दा जटिल र महत्वपूर्ण विषय भएको बताउनुहुने डा.पण्डित त्यसमा आफू नेतृत्वको टिमले प्रदर्शन गरेको सफलताले नै जनकपुरलाई प्रसूति सेवाको ‘हब’ बनाउन सहजभएको धारणा राख्नुहुन्छ । ‘सेवा अवधिमा १० हजार पटक शल्यक्रिया गरेको हुँदा, तर त्यसमा पनि २० देखि २५ वटा जटिल बिरामीलाई बचाउन सफल भएको क्षणले मलाई हरक्षण सेवामा खटिन ऊर्जा दिइरहन्छ’, उहाँ भन्नुहुन्छ । डाक्टरका रूपमा सबैभन्दा आनन्द कति बेला आउँदो रहेछ ? हामीले सोधेको प्रश्नमा डा.पण्डितले भन्नुभयो, ‘खोइ के हुने हो भन्दै अपरेसन थिएटर पसेको डाक्टरको टोली सफल भए फर्केको क्षण सबैभन्दा आनन्द दिने खालको हुन्छ, बिरामी र उनीहरूका आफन्तले पनि धन्यवाद दिनुहुन्छ ।’
उहाँका अनुसार ‘युट्राइन इन्भर्सन’ अर्थात् बच्चा जन्मिएपछि पाठेघर उल्टिने समस्यालाई जटिल मानिन्छ । त्यस्तो बेला बिरामीलाई अर्को ठाउँमा रेफर गर्ने विकल्प पनि रहँदैन । त्यसैले तत्काल सही उपचार नपाएमा अत्यधिक रक्तस्रावका कारण आमाको ज्यान जान्छ । यस्ता कैयन जटिल केसमा सफलता प्राप्त गर्दा आफ्नो अध्ययन, सिकाइ र जीवनको लक्ष्य नै सफल भएको अनुभूति हुने गरेको डा.पण्डितको भनाइ छ । बच्चा पेटमा भएका बेला ब्लडप्रेसरका कारण कम्पन हुने समस्या र गर्भपतनको बेला पाठेघरमा प्वाल परेको समस्यालाई पनि सफलतापूवर्क निदान गरेको परिघटनाले थप जिम्मेवार बनाउने गरेको डा.पण्डितको भनाइ छ ।
डा.पण्डित अहिलेसम्मको अनुभव र सिकाइ अब सोही अस्पतालको श्रीवृद्धिमा प्रयोग गर्ने योजनामा हुनुहुन्छ । ‘म निर्देशकको रूपमा आएपछि मुटुरोग सेवा सुरु गरिसकेका छौँ । अब चाँडै एमआरआई, क्याथल्याब, न्यूरो सर्जरी, क्यान्सरको सेवा सुरु गर्ने तयारीमा छौँ । त्यसबाहेक यहाँको फोहर व्यवस्थापनका लागि नागरिक र पूर्वाधार निर्माणका लागि सरकारले सक्दो सहयोग गरेमा गुणस्तरीय सेवा दिन हामी कटिबद्ध छौँ’, उहाँले योजना सुनाउनुभयो ।
समस्या के छ ?
मधेस जनसंख्याको हिसाबले ठूलो र सबैभन्दा बढी जन्मदर भएको प्रदेश पनि हो । त्यस हिसाबले यहाँ पर्याप्त सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधार हुनु आवश्यक छ । मुलुकमा सङ्घीयता आएपछि मधेसका दुई ठाउँमा सीमित प्रसूति शल्यक्रिया सुविधा सबैजसो मुख्य अस्पतालमा पुगे पनि त्यसलाई सुविधासम्पन्न बनाउन जरुरी रहेको डा.पण्डितको भनाइ छ ।
त्यस्तै पाँच वर्ष पहिले यस प्रदेशमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर पाँच प्रतिशतभन्दा कम थियो । त्यो विश्व स्वास्थ्य संगठनको मापडण्डअनुसार सुरक्षित प्रसूति सेवाको पहुँच नपुगेको संकेत हो । तर संघीयतापछिका वर्षमा सुरक्षित प्रसूति सेवा पुगेकै कारण देशको मातृ मुत्युदरप्रति १० लाखमा १ सय ५१ हुँदा मधेसमा भने १ सय ४२ हुनु सुखद् पक्ष भएको डा.पण्डितले बताए ।
डा.पण्डितका अनुसार लिंग पहिचान गरी हुने गर्भपतन यहाँको अर्को डरलाग्दो समस्या हो । ‘गर्भपतनले कानुनी मान्यता नपाउनुभन्दा अघि महिलाले अकालमा ज्यान गुमाउनुपथ्र्यो । गर्भपतनको अधिकार पाएपछि भने ‘सेक्स सेलेक्टिभ एभोर्सन’ बढ्दै गएको छ । परिणामस्वरूप छोरीहरूले गर्भमै तुहिनुपर्ने अवस्था छ । त्यसै कारण त मधेसमा सय जना महिलामा १ सय १८ पुरुष छन्’, डा.पण्डितले भन्नुभयो । उहाँका अनुसार धनुषाको अवस्था झन् विकराल छ । यस जिल्लामा सय महिलामा १ सय ३६ पुरुष छन् । अल्ट्रासाउन्डबाट लिंग पहिचान गरेर भ्रुण हत्या समयमै रोक्न नसकेमा लैंगिक सन्तुलनमा गम्भीर समस्या आउनेछ ।
डा.पण्डित चिकित्सकको भूमिकाका कारण निम्तिने अविश्वासको संकट पनि समस्याका रूपमा रहेको धारणा राख्नुहुन्छ । त्यसैले उहाँ आवश्यक नभएको अवस्थामा पनि पैसाकै लागि डाक्टरले शल्यक्रिया गर्ने गरेको आरोप चिर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।
प्रतिक्रिया