न्युयोर्क : सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत लख्दर ब्राहिमीले सिरियामा जारी हिंसाले उग्र रूप लिइरहेको जनाएका छन् । सिरियाली संकट समाधानका लागि अरब लिग र राष्ट्रसंघका विशेष दूतसमेत रहेका ब्राहिमीले सिरियामा जारी संकटले अकल्पनीय आतंकको रूप धारण गरिरहेको जिकिर गरेका छन् । सिरियामा आतंक अन्त्यका भरपर्दा आधार देखा पर्न नसक्दा सर्वत्र चिन्ता छाएको उनले बताएका छन् ।
राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा मंगलबार बोल्दै ब्राहिमीले यस्तो बताएका हुन् । सिरियामा आमहत्याका शृंखला दिनप्रतिदिन बढिरहेको जिकिर गर्दै उनले भने, ‘सिरियाको अवस्था अति भइसकेको छ, त्यसैले आगामी केही दिनमै हिंसा रोक्न पहल थाल्नु अपरिहार्य भएको छ ।’
मंगलबार मात्र सिरियामा ८० जना युवकको शव फेला परेको र यसबाट हत्या तथा हिंसाको अवस्था छर्लंग भएको उनले बताए । ‘सबै शवमा एक–एक वटा गोली लागेको पाइएको छ । एउटा नदी छेउमा गाडिएको अवस्थामा ती शव पाइएकाले हालैका दिनमा त्यहाँ हिंसाले चर्काे रूप लिएको छर्लंग भएको छ ।’ सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा ती शव भेटिएको जानकारी उनले दिए । अधिकारवादीहरूले ती युवकलाई सामूहिक रूपमा हत्या गरी गाडिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि, हत्यामा कसको संलग्नता रहेको भन्नेबारे केही सार्वजनिक भएको छैन । सिरियामा आन्दोलन तथा सशस्त्र व्रिद्रोह गरिरहेका विपक्षीले सरकारले सो हत्या मच्चाएको आरोप लगाएका छन् । हत्याको जिम्मा सिरियाली राष्ट्रपति बसर अल असदले लिनुपर्ने उनीहरूको जिकिर छ ।
विशेष दूत ब्राहिमीले भने, ‘सिरियामा दु:खका दिन अझै अन्त्य हुन सकेको छैन । सिरियामा जारी आतंकले अझै कति सिरियालीको ज्यान लिने हो भन्ने अनिश्चित छ ।’ सिरियाली संकटबारे विभाजित रहेका सुरक्षा परिषद्को बैठकमा उनले सिरियामा हत्या हिंसाको अन्त्यका लागि तत्कालै कदम चाल्न आग्रह गरे । सिरियामा हत्याका शृंखला जारी रहँदै गर्दा मानवअधिकार उल्लंघनका घटनामा पनि वृद्धि भइरहेको बताइएको छ ।
२२ महिनाभन्दा लामो समयदेखि जारी रहेको हिंसात्मक आन्दोलनमा युद्ध अपराध भएको भन्दै त्यसको छानबीनका लागि विश्व समूदायले आग्रह गरिरहेको छ । सिरियामा २०११ को मार्च महिनादेखि सुरुभएको आन्दोलन तथा विद्रोहका क्रममा ६० हजारभन्दा बढीले मृत्यु भइसकेको अधिकारवादीहरूले जनाएका छन् ।
विपक्षीहरूले राष्ट्रपति असदले सत्तात्याग गर्नुपर्ने माग गरिरहेका छन् । तर, असदले भने विदेशीको उक्साहटमा केही देशद्रोहीले देशमा आतंक मच्चाएको आरोप लगाउँदै विदेशी दबाबसामु लत्रिएर राजीनामा नदिने बताउँदै आएका छन् । सुरक्षा परिषद्का पाँच स्थायी सदस्यराष्ट्रमध्ये अमेरिका, फ्रान्स र बेलायतले सिरियाली राष्ट्रपतिलाई पदत्याग गर्न बाध्य बनाउन आवश्यक कदम चाल्नुपर्ने मत राख्दै आएका छन् भने चीन र रुसले भने सिरियामाथि हुने कुनै पनि बाह्य हस्तक्षेप आफूहरूलाई असह्य हुनेतर्फ सचेत रहन चेतावनी दिँदै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया