जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौको बर्थिङ सेन्टर गोठमा परिणत भएको छ । तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ सेन्टरमा स्थानीयले गाई, भैँसी, बाख्रा लगायतका वस्तुभाउहरू बाध्न थालेको बर्थिङ सेन्टरका निमित्त प्रमुख अवधेश मण्डलले बताए ।
जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बडो धुमधाम र तामझामका साथ उद्घाटन गरेर सञ्चालनमा आएको बर्थिङ सेन्टरमा स्थानीय ११ जनाले अहिलेसम्म प्रसूति गराइसकेको र स्थानीय गर्भवति अझै पनि यसै बर्थिङ सेन्टरमा नियमित चेकजाँच गराउँदै आएका छन् ।
तर खुल्ला चौर र घेराबेराको अभावमा स्थानीयले स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरलाई गाईवस्तु बाँध्ने, चरिचरण गराउने स्थानको रूपमा प्रयोग गर्न थालेको निमित्त प्रमुख मण्डलको भनाइ छ । स्थानीयहरूले स्वास्थ्यचौकी नैन्हीको पूरानो भवनमा पनि गाईवस्तुलाई खुवाउने भुस, पराल र खरहरू राखेका छन् ।
जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफूलाई हिजो मात्रै नैन्ही स्वास्थ्यचौकी बारेमा बताउँदै आफू तत्कालै स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर परिधिभित्र स्थानीयले बाँधेका गाईवस्तु हटाउन र पूरानो भवनमा राखेका भूस, पराल र खरहरू खाली गर्न मान्छे खटाइसकेको बताए । उनले छिट्टै घेराबेराको व्यवस्था मिलाएर स्वास्थ्यचौकी र बर्थिङ सेन्टरलाई व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया