पाँचथर । जिल्लाको फाल्गुन्द गाउँपालिकामा वृद्धि गरिएको भूमिकर फिर्ता लिन र कार्यान्वयन नगर्न नेकपा एमाले फाल्गुनन्द गाउँकमिटिले मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
आर्थिक वर्ष ०८०–८१ देखि लागु हुने गरी २०७९ असार १० गतेको गाउँसाभाले पारित गरेको विभिन्न करमध्ये सबैभन्दा महंगो भूमिकर अव्यवहारिक र अपरिपक्क निणर्य गरी आम नागरिकहरुको ढाड भाँचिने गरी करको दर वृद्धि गरिएको भन्दै मंगलबार पालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकसमक्ष ज्ञापनपत्र बुझाइएको हो ।
मूल्यांकन अनुसार कर वृद्धि गराउनुपर्ने माग राख्दै पार्टीको तर्फबाट ध्यानाकर्षण गराइएको एमाले नेता तथा निवर्तमान गाउँपालिका अध्यक्ष बिरबहादुर कुरुम्बाङले जानकारी दिए । व्यवसायिक क्षेत्र, आवासिय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्रलगायतको भूमिकर, घरधुरी कर र कृषिजन्य वस्तु निकाशी कर, नागरिकहरुको क्षमताको विकास नगरी अत्याधिक करको दर वृद्धि भएको नेकपा एमालेले आरोप लगाएको छ ।
विश्वव्यापी महामारी कोरोनाको कारण अर्थतन्त्र कमजोर भई आर्थिक मन्दी, बेरोजगारले समग्र देशको अर्थतन्त्र नै धरासायी अवस्थामा पुगेर अर्थतन्त्र भर्खर तङ्ग्रीन्दै गरेको बेला साविकको करमासमेत घटाउनुपर्ने माग गरिएको छ ।
मन्दी आर्थिक अवस्थामा नागरिकले गुजरा गारिरहेको बेला प्रति रोपनी पाँच रुपैँयाबाट वृद्धि गरी प्रति रोपनी एक हजार ६ सयदेखि तीन हजार दुई सयसम्म वृद्धि गरिएको कर अवैज्ञानिक भएको गाउँ कमिटी अध्यक्ष विनोद आङदेम्बे र सचिव सन्दीप विक्रम नेम्वाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
उक्त जग्गाको १०औँ वर्षको उत्पादनको आम्दानीले करसमेत तिर्न नपुग्ने भएकोले भूमिकर, कृषिजन्य निकाशी कर वृद्धिले फाल्गुनन्द गाउँपलिकाका जनतालाई अत्यन्त मार परेकोले १५ दिनभित्र फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने र उक्त समयभित्र फिर्ता नभए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने ज्ञापनपत्रमार्फत जानकारी गराएको छ ।
पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले ज्ञापनपत्र बुझ्दै यसलाई संशोधन गर्न असोज ४ गते विशेष गाउँसभा बोलाई सकेको जानकारी गराउँदै व्यवहारिक र पालिकाबासीलाई मार नपर्ने गरी नयाँ करको दर निर्धारण गरिने तयारी हुँदै गर्दा नेकपा एमाले जस्तो जिम्मेवार प्रतिपक्षी पार्टीले देखाएको चासोप्रति उच्च सम्मान गरे ।
वडामार्फत छलफल भएर आएको निर्णयका आधारमा भू–वर्गीकरणको काम सम्पन्नपछि व्यवसायिक क्षेत्रको भूमिकरमा केही त्रुटि भएता पनि अन्य क्षेत्रमा नागरिकलाई मार पर्ने गरी कर नतोकिएको उनले बताए ।
प्रतिक्रिया