नेपाल र थाइल्यान्ड भिड्दै

acc-logoकाठमाडौं, १७ माघ । एसिसि महिला क्रिकेटमा नेपाल र थाइल्यान्ड चिरपरिचित प्रतिद्धन्द्वी हुन् । हालसम्म भएका प्राय: सिनियर महिला प्रतियोगितामा नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा भएको छ । एसिसिले सन् २००७ मा महिला क्रिकेट सञ्चालन गरेदेखी नै यी दुई टोलीले भिडन्त सुरु गरेका हुन् । सोही वर्ष भएको एसिसि महिला च्याम्पियनसिपमा नेपाल फाइनलसम्म पुग्दा समूह चरणमा उसले थाइल्यान्डलाई ७७ रनले पराजित गरेको थियो । पहिलो संस्करणमा सेमिफाइनल पुग्न असफल थाइल्यान्ड सन् २००९ मा भएको दोस्रो संस्करणमा भने फाइनलसम्म पुग्यो । यसक्रममा नेपाल समूह चरणमा थाइल्यान्डसँग २३ रनले पराजित भएको थियो । सन् २०११ मा भएको तेस्रो संस्करणमा यी दुई टोली दुईपटक आमने–सामने भए । समूह चरणमा नेपाल २१ रनले विजयी भयो भने तेस्रो स्थानका लागि भएको भिडन्तमा थाइल्यान्डले नेपाललाई १३ रनले निराश बनायो ।

यसर्थ, एसिसि महिला क्रिकेटमा नेपाल र थाइल्यान्डबीच धेरै समानता छन् । दुवै टोली एसिसि महिला च्याम्पियनसिपमा एक/एकपटक फाइनल पुगेका छन् भने दुवै टोलीले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेको इतिहास छ । यस अघिका तीनवटै संस्करणमा यी दुवै टोली एउटै समूहमा थिए । र, फेरि अर्कोपटक यी दुई टोली बुधबार एसिसि महिला च्याम्पियनसिपमा आमने–सामने हँुदैछन् तर यसपटक भने फाइनल प्रवेशका लागि । थाइल्यान्ड आफ्नै मैदानमा नेपालविरुद्ध उत्रन लागेको हो । नेपालले समूह चरणमा सबै खेलमा जित हात पार्‍यो भने थाइल्यान्ड अन्तिम खेलमा चीनसँग पराजित हुनुअघि सबैमा विजयी थियो । नेपाल र थाइल्यान्डबीच प्राय: भिडन्त प्रतिस्पर्धात्मक नै रहने गरेका छन् ।
यसअघिका तीनवटै संस्करणमा कम्तीमा सेमिफाइनलसम्म पुगेको नेपालले जारी संस्करणमा हात पारेको सबैभन्दा ठूलो सफलता भनेको हङकङविरुद्धको जित हो । पछिल्ला दुई संस्करणको विजेतासमेत रहेको हङकङलाई पराजित गरेर नै नेपालले समूह विजेता हुँदै समूह ‘बी’को उपविजेता भएर सेमिफाइनल पुगेको थाइल्यान्डविरुद्ध भिडन्त तय गरेको हो ।
थाइल्यान्डविरुद्ध जित हात पार्दै नेपाल पहिलो एसिसि महिला ट्रफी जित्ने बाटो खुल्ला राख्ने प्रयासमा छ । यस प्रतियोगिताको विजेताले आइसिसि महिला टि–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोट खेल्न पाउने भएकाले पनि त्यसका लागि नेपाललाई थाइल्यान्डविरुद्ध जितको विकल्प छैन । नेपालका अनुभवी दुई खेलाडी नेरी थापा, सरिता मगरले अलराउन्ड प्रदर्शन गरिरहेका छन् । रुविना क्षेत्री र करुणा भण्डारी बलिङमा जमिरहेका छन् भने प्रारम्भिक ब्याट्सवुमन सीता राना मगरको लय पनि विपक्षीलाई टाउको दुखाइ बन्ने पक्का छ । यद्यपि, प्रारम्भिक ब्याट्सवुमन मधु थापा र आशा गरिएकी रोसनी बोहराले लय समाउन नसक्नु भने नेपाललाई चिन्ताको विषय हो । थाइल्यान्डलाई घरेलु मैदान नेपालविरुद्ध ‘एक्स्ट्रा एडभान्टेज’ हुनेछ ।
यस खेलको विजेताले हङकङ र चीनबीच हुने खेलको विजेतासँग बिहीबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । चीनले समूह चरणका सबै खेलमा जित हात पार्‍यो भने हङकङ समूहको अन्तिम खेलमा नेपालसँग पराजित हुनुअघि सबैमा विजयी भएको थियो ।

प्रतिक्रिया