नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही समय देखि सरकार परिवर्तन गर्नुपर्ने बताउन थालेका छन् । पछिल्लो पटक आइतबार हेटौंडा–११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्ने क्रममा पनि उनले यो कुरा दोहोर्याए । कांग्रेस नेता डा. कोइरालाको भनाई छ –‘वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएकोले सरकार फेर्नुपर्ने भयो ।’ उनले प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो’ कोइरालाले भने ।
कांग्रेस नेता कोइरालाले हचुवाका आधारमा यस्ता भनाई सार्वजनिक गरेका हुन् की ? वर्तमान प्रधानमन्त्री प्रचण्डको विकल्पमा अझ राम्रो सरकार गठन गर्ने ताकत नेपाली कांग्रेसले राख्न सक्छ ? अथवा प्रतिपक्षमा बस्ने मानसिकता हो ? भन्ने प्रश्न निकै सान्दर्भिक छ । हुन त सुनिल शर्मा नाम गरेका नेपाली कांग्रेसकै एक जना सांसदले नक्कली शैक्षिक प्रमाणपत्रका कारण पक्राउ परेको भोलिपल्टै भनेका थिए –‘ म प्रचण्ड सरकारलाई देखाई दिन्छु ।’ प्रचण्ड सरकार ढालिदिने सुनिल शर्माको अभिव्यक्तिलाई कसैले महत्व र चासो दिने कुरा पनि भएन । तर डा. कोइराला भनेका सुनिल शर्मा होइनन् । पदीय हैसियत नभए पनि सांगठानिक पकडका हिसाबले सभापति शेरबहादुर देउवा पछिका सबैभन्दा बलिया नेता हुन् । बोलेको कुरा पु¥याउन सक्ने हैसियत अझै पनि उनले नेपाली कांग्रेस भित्र राख्छन् भन्ने आम बुझाई छ ।
दिन गनेर जनतामा असन्तुष्टि बढेको कुरा सत्य हो । अराजक क्रियाकलाप बढेका छन् । राजनीतिकर्मीहरुको साख ह्वात्तै घटेको छ । शासन व्यवस्था विरोधीहरु सलबलाएका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउँछु भन्दा ताली पड्काएर स्वागत गर्नेहरुको जमात देखिएकै छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, जो त्यति विवादमा नआएका नेता हुन् । उनि माथि खुकरी प्रहार हुँदा खुच्चिङ् भन्नेहरुको जमात समेत देखियो । तर यो समस्याको मुख्य कारक प्रचण्ड मात्रै हुन् त ? प्रचण्डलाई प्रधानमन्त्री पदबाट हटाएर देउवालाई प्रधानमन्त्री बनाउना साथ यो समस्या समाधान तिर जाला ? देउवा प्रधानमन्त्री बन्ने संभावना के कति छ ? लगायतका तमाम प्रश्नहरु छन् । यी प्रश्नको पनि कांग्रेस नेता डा. कोइरालाले उत्तर दिनु पर्ने हुन्छ । यत्तिको नेताले धरातलीय यथार्थता विश्लेषण गरेरै बोल्नु पर्छ । हचुवा ढंगका यस्ता अभिव्यक्तिले सरकार झन् कमजोर हुन्छ । अपराधीहरुले सरकारलाई झन् टेर्न छाड्छन् ।
पहिलो कुरा त अहिलेका प्रचण्डलाई नेपाली कांग्रेसले प्रधानमन्त्री बनाएको होइन । उनी एमालेको हस्ताक्षर बोकेर प्रधानमन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेस राष्ट्रपति, केही थान मुख्य मन्त्री तथा केही थान मन्त्री पाउने लोभमा घुस्रिएर प्रचण्डको समर्थन गर्न पुगेको हो । नेपाली कांग्रेसले प्रचण्डको साथ छाडे विकल्पमा एमाले तयार छ । यदि यही संसदको यस कार्यकाल भित्र प्रचण्डलाई प्रधानमन्त्री पदबाट हटाउनु छ भने नेपाली काँग्रेस एकमत भै संघमा मात्रै होइन सातै प्रदेशमा प्रतिपक्षमा बस्न तयार हुनुपर्दछ । अहिलेको धरातलीय यथार्थता भनेको यही हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको अंक गणितले यही भन्छ । यो चार वर्ष प्रतिपक्षमा बसेर २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने सामाथ्र्य राख्छ भने प्रतिपक्षमा बस्न ढिलाई नगर्नु नै नेपाली कांग्रेसको हितमा छ । तर बैकिल्पिक शक्ति रास्वपाका पक्षमा देखिएको जनउभार, पुराना राजनीतिक दल प्रति जनतामा देखिएको अविश्वास, नेपाली कांग्रेस भित्रको आन्तरिक कलह , व्यवस्था प्रतिकै वितृष्णा, मुलुकको निर्वाचन प्रणालीलगायतका धरातलीय यथार्थतालाई विश्लेषण गर्ने हो भने अगामी चुनावमा नेपाली कांग्रेसको बहुमत आउनु भनेको कल्पना भन्दा बाहिरको कुरा हो । प्रचण्डलाई विस्थापित गरी आँफु प्रधानमन्त्री बन्ने संभावना देखेको भए देउवा जस्ता पदआशक्त व्यक्ति किन चुप लागेर बस्थे ? यो अभिव्यक्तिले यति पनि विश्लेषण गर्न नसक्ने नेताका रुपमा डा. कोइरालाको साख झन घटेको छ । आफ्नै बोली आँफैलाई पासो हुने गरी अभिव्यक्ति दिनु भन्दा चुप लागेर बस्नु जाति हो ।
प्रतिक्रिया