खुकरी प्रहारको रहस्य

बुधबार राजधानी काठमाडौंको भृकुटी मण्डप एक साक्षत्कार कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि एक व्याक्तिले टाउकोमै खुकरी प्रहार गरे । खुकरी प्रहारबाट घाइते भएका सहमहामन्त्री यादव खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । वरिपरी पर्खालले घेरिएको र प्रहरीको पनि व्यापक चहल पहल भएको ठाउँ हुनाले आक्रमणकारी तत्काल पक्राउ परे । प्रहरीका अनुसार आक्रमणकारीको नाम श्याबहादुर सापकोटा हो । नेता यादव रिपोर्टस क्लबमा बोल्दै गर्दा पत्रकारहरुसँगै झोलामा खुकुरी लिएर बसेका आक्रमणकारी सापकोटा ४७ वर्षको उमेरका हुन् । उनले के पेशा अँगालेका छन् ? भन्ने अनुसन्धान बाँकी रहेको प्रहरीको भनाई छ । तर उनले भने नेताहरुले देश लुटेका कारण राजतन्त्र पुनवर्हालीका लागि खुकुरी प्रहार गरेको बताएका छन् । पूर्वराज परिवारका नातागोता तथा राप्रपाका कार्यकर्ताहरुले सापकोटाले ‘बहादुरी प्रदर्शन’ गरेको भन्दै सामाजिक सन्जाल तताएका छन् ।

प्रहरीका अनुसार सापकोटाको अनुहारमा कत्ति पनि आत्माग्लानी छैन । ठूलो युद्ध जितेको जस्तो मुडमा उनी देखिन्छन् । तर उनी राजावादीहरुको कुन संगठनमा आवद्ध छन् ? भन्ने कुरा खुल्न सकेको छैन । उनी राप्रपाका महामन्त्री धवलशमशेर राणा सँगै कार्यक्रम स्थलमा छिरेको समाचार आएको थियो । तर उक्त समाचारलाई राप्रपा महामन्त्री राणाले खण्डन मात्रै गरेका छैनन् । उक्त व्याक्तिलाई आँफुले नचिनेको र आफ्नो पार्टीको कुनै पनि संगठनमा आवद्ध नभएको जनाएका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री राणाले आक्रमणकारी माथि कानुन बमोजिम कारवाही गर्न सरकार समक्ष माग गरेका छन् ।

हुन त राजतन्त्र फालिए यता नेताहरु माथि आक्रमण भएको यो पहिलो घटना होइन । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालमाथि २०६७ माघमा देबीप्रसाद रेग्मीले गालामा चड्कन हानेका थिए । २०७३ मंसीरमा डा. बाबुराम भट्टराई माथि पोखरामा संञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए । २०६९ आश्विन १३ गते नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि प्रवेश वस्नेतले मुक्का प्रहार गरेका थिए । माओवादी नेता झक्कुप्रसाद सुवेदीलाई २०६८ बैशाख १९ मा प्रेमराज देवकोटाले चड्कन हानका थिए । २०६९ सालमा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डमाथि पदम कुँवरले चड्कन हानेका थिए । यी घटनाका आक्रमणका घटनाहरु धेरै जसो संवन्धित पार्टीका आन्तरिक असन्तोषका उपज थिए । आफ्नै कार्याकर्ता तथा पूर्वकार्यकर्ता बाट यी घटना भएका थिए । तर बुधबार कांग्रेस सहमहामन्त्री यादव माथिको खुकरी प्रहार भने बिलकुल पृथक खालको हो । व्याक्तिगत क्रियाकलाप तथा व्याक्तिगत असन्तुष्टिका आधारमा पोखिएको आक्रोस होइन यो । आस्थाका आधारमा गरिएको आक्रमण हो भन्ने प्रष्ट छ । पागल व्याक्तिले खुकरी झोलामा हालेर योजनावद्ध रुपमा आक्रमण गर्दैन ।
एकातिर संघीय लोकतान्त्रिक गणतन्त्रमा आस्था राख्ने नेता माथि आक्रमण हुनु अर्कातिर राजावादीहरुले सामाजिक सन्जाल मार्फत खुसी प्रकट गर्नु संयोग मात्रै होइन ।

यो आक्रमण व्याक्तिलाई समाप्त पार्नका लागि नभएर लोकतन्त्रलाई समाप्त पार्नका लागि गरेको अपराधी स्वयंले स्वीकार गरिसकेको अवस्था छ । उनीले स्वस्फूर्त रुपमा यो अपराध गरका हुन् की कुनै संगठनले परिचालन गरेको हो ? यथाशिघ्र सरकारले यसको रहस्य पत्ता लगाउनु पर्ने हुन्छ । होइन भने वर्तमान संविधान प्रति आस्था राख्नेहरु माओवादी द्धन्दकालमा झैं धमाधम मारिन सक्छन् । यस्तो आक्रमण जो निहत्था छ उसै माथि प्रहार हुन्छ । ‘बर्तमान शासन व्यवस्थाको पक्षमा गतिविधि गर्नेहरुको यस्तै हविगत हुन्छ देख्यौ’ भन्दै विगतमा माओवादीहरुले संसदवादी दलका तृणमुल तहका कार्यकर्ताहरु मार्ने गर्थे । यसरी नै डर त्रास फैलाएर तत्कालिन माओवादीले मुलुकको ग्रामिण क्षेत्रमा प्रभुत्व जमाएको थियो । पछिल्ला दिनमा राजावादीहरु धर्मको आवराणमा सामाजिक सद्भाव विथोल्न सक्रीय रहेको कुरा धरान काण्डले प्रष्ट पारिसकेको छ ।

राजनीतिक दलहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको पक्का हो , तर यही कारण लोकतन्त्र मासेर राजातन्त्र फिर्ता ल्याउने भन्दै हिंसात्मक गतिविधि गर्नु झन् ठूलो अपराध हो । राजतन्त्र हाम्रो मुलुकले २ सय ४० वर्ष भोगेकै हो । त्यतिबेला स्वार्ण युग थियो , अहिले कालो युग सुरु भयो भन्ने कुरा आफ्नो सत्ता गुम्दाको कुण्ठा मात्रै हो । देशले अपेक्षित प्रगति गरेन होला, तर राजतन्त्रकालको भन्दा प्रगतिको गति अहिले धेरै नै बढी छ । जुन कुरा नांगो आँखाले देख्न सकिन्छ ।

प्रतिक्रिया