थ्री–स्टारको सम्भावना बलियो

काठमाडौं : लिगको पहिलो खेलमै सरस्वती क्लबविरुद्ध स्तब्ध भएको थ्री–स्टार अन्तिम खेलमा शुक्रबार मनाङमस्र्याङदीविरुद्ध सनसनीपूर्ण जित हात पार्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘सिंगल लिग’ चरणमा सात अंकको शीर्षता हात पार्दै उपाधिको बलियो दाबेदार बनेको छ ।
सन्तोष साहुखलले ४४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै उपाधि विजेताको निक्र्योल हुने सुपर एट चरण सुरु हुनुअघिका १५ खेलबाट थ्री–स्टारलाई ३५ अंकमा पुर्‍याएका छन् । दोस्रो स्थानमा रहेको आर्मी र तेस्रो स्थानको मछिन्द्रको समान २७–२७ तथा चौथो स्थानको आरसिटीेको २६ अंक छ भने आरसिटीसँग समान अंक भए पनि हेड टु हेडमा पछाडि रहँदै मनाङ पाँचौँ स्थानमा छ । एनआरटीको पनि २६ अंक छ ।
‘मनाङसँगको यस जितले हामीलाई एकैपटक ६ अंक प्राप्त भएको छ,’ उपाधि होडमा मनाङसँगको दूरी बढाएपछि थ्री–स्टारका प्रशिक्षक प्रदीप हुमागाईंले भने, ‘एउटा बलियो प्रतिद्वन्द्वी हामीभन्दा अलि टाढा रह्यो ।’ यद्यपि, उनले सुपर लिगमा सम्पूर्ण टोलीलाई सम्मान गर्ने बताए । ‘सुपर एट पुगेका हरेक टोली राम्रा छन् । त्यसैले हामी उनीहरूलाई सम्मान गर्छौं । यस अन्तरले हामीलाई फाइदा पुगेको त छ तर हामी त्यसमा हरेक खेल जित्न प्रयास गर्छौं ।’ थ्री–स्टार पछिल्ला तीनवटै खेलमा विजयी भएको हो ।
‘थ्री–स्टारले उपाधि जित्ने सम्भावना बढी भएको छ । तर, हाम्रो सम्भावना नै छैन भन्नेचाहिँ होइन,’ सुपर एटमा राम्रो गर्ने दाबीसहित मनाङमस्र्याङदीका प्रशिक्षक कृष्ण थापाले भने, ‘थ्री–स्टार यस प्रतियोगिताकै सबैभन्दा भाग्यमानी टिम हो । उसलाई लकले फेभर गरेको छ । र, सबैभन्दा अनलक्की टिम हामी हौँ । आशा छ, सुपर एटमा हामीलाई ब्याडलकले छाड्नेछ ।’ (सौस)

प्रतिक्रिया