चैनपुर बजारभित्रको फोहोर समयमै नउठ्दा समस्या

बझाङ । जिल्लाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको जिल्ला सदरमुकाम चैनपुर बजारभित्रको फोहोर समयम नउठाउँदा दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले चैनपुर बजारमा दुई–तिन दिनको फरकमा फोहोर उठाउँदा दिनानुदिन दुर्गन्धित बन्दै गएको हो । चैनपुर बजारभित्रका फरकफरक गल्लीहरूमा रहेका नालाहरू बर्सेनि लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गर्दा पनि नगरपालिका स्थापना भएको करिव आठ वर्ष बितिसक्दा पनि घरधनीहरूको फोहोर फाल्ने ठाउँ नै बनेको छ भने मुख्य बजार क्षेत्र र गल्ली गल्लीमा जताततै फोहोरका चाङ यत्रतत्र छरिरहेको अवस्थामा भेटिन्छन् ।

यता जयपृथ्वी नगरपालिकाले बजार क्षेत्रभित्रको फोहोर व्यावस्थापनका लागि अस्थायी डम्पिङ साइटका लागि जयपृथ्वी नगरपालिका–३ को भिडमनी, जनपा–१० को वाहुली गाडको खोलामा अस्थायी रूपमा डम्पिङ साइट बनाउने लक्ष्य राखेको भएता पनि भिडमनीमा स्थानीयहरूको विरोध र वाहुलीगाडमा नयाँ बसपार्कमा बन्ने भएपछि फोहोर फाल्ने ठाउँको अभाव भएको छ । यस विषयमा कुराकानी गर्दा जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले भने, ‘आआफ्नो घरको फोहोर घरअगाडि एक ठाउँमा जम्मा गर्नुपर्नेमा कुलोमा फाल्ने गर्छन् त्यहीँ कारणले चैनपुर बजार झनै फोहोर भएको छ । जथाभावी फोहोर फाल्ने त्यस्ता व्यक्तिलाई पत्ता लगाई कानुनी कारबाही वा दण्ड सजाय गर्नुपर्ने र यो विषय पनि चुनौतीको रूपमा रहेको छ । भर्खरै फोहोरमैला व्यवस्थापन ऐन हामीले पास गरेका छौँ ।’ उनले अब त्यस ऐनलाई कार्यान्वयन गर्दै लैजाने र यही वर्षबाट जयपृथ्वी नगरपालिका–७ मा ल्यान्डफिल साइड बन्न पनि सुरु भएको बताए ।

बजालले भने तत्कालका लागि हामीले फोहोर व्यवस्थापन गर्दै आएको वाहुली गाडमा रहेको नयाँ बसपार्कमा बसपार्क बन्ने काम भएकाले केही समस्या भएको र यसको समाधान पनि केही महिनामै हुने बताए । बजार भित्रका घरधनी र व्यापारीहरूले पनि फोहोर व्यवस्थापनमा सचेत हुनुपर्ने र फोहोर व्यवस्थापनका लागि नगरपालिकाबाट हुने काम गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया