विराटनगर । निर्मला लिम्बू कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनेकी छन् । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)को एकमात्र सांसद रहेकी लिम्बूलाई शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन् । यसअघि मुख्यमन्त्री थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्यमन्त्री थिइन् । पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएकी लिम्बू मुख्यमन्त्री थापाले आन्दोलनरत पक्षसँग वार्ता गर्ने आश्वासन दिएपछि मन्त्री बन्न तयार भएकी हुन् ।
प्रतिक्रिया