काभ्रे । जिल्लामा लगातार दुई दिनदेखि परेको अविरल वर्षात्को कारण बाढीपहिरो जाँदा दुई जनाको शव भेटिएको छ भने ६ जना अझै हराइरहेका छन् । जिल्लाको खानीखोला गाउँपालिका–५ सिघ्रेदोभानस्थित घरमाथिबाट पहिरो जाँदा घर पुरिँदा एकै परिवारका ६ जना पुरिएर बेपत्ता भएका छन् । सोही परिवारका ताल्ढुंगा सिथत जनविकास माविको कक्षा १० मा अध्ययनरत पाल्साङ घिसिङलाई घरभन्दा ४ किलोमिटर तलबाट स्थानीय र जनप्रतिनिधिको सहयोगमा जीवितै उद्धारसमेत गरिएको स्थानीयले बताएका छन् । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाको वडा–५ र मकवानपुरको बागमती गाउँपालिका सीमामा पर्ने ती घरहरूमा बेपत्ता परिवारले पसलसमेत सञ्चालन गर्दै आएका थिए । पहिरोले पीडित खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवनपुरको बागमती गाउँपालिका–५ का अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको र शव भेटिएको छ ।
ती पहिरोमा बेपत्ता परिवारकोे खोजी र उद्दारका लागि हेटौंडाबाट नेपाल आर्र्मी र सशस्त्र प्रहरीको टोली मंगलबार नै दिउँसो घटनास्थलतर्फ पुगी खोजी कार्य सुरु गरिएको बताइएको छ । बिहानदेखि स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले बेपत्ताहरूको खोजी जारी रहे पनि बेपत्ताहरू भेटिएका थिएनन् । बाढीमा बेपत्ताहरूको खोजी उद्धार र राहत कार्यमा एकजुट भएर लाग्न खानीखोलाको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले अपिल गरेका छन् । स्थानीयहरूका अनुसार पहिरोमा परी अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, दुई वर्षीय तेज पहरी र एक वर्षीय देव्यणी पहरी बेपत्ता रहेको बताएका छन् । पहिरोमा परिएर बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्वाइँ हुन् । त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हुन् उनीहरू सबै एकै घरमा बस्दै आएका थिए ।
यस्तै खानीखोला गाउँपालिका–५ वडा कार्यालय देखिका केही घर पनि खहरेखोलाको कारण विस्थापित हुन पुगेका छन् । यस्तै सो गाउँपालिका–५ र ६ का झन्डै तीन सय घरधुरीले प्रयोग गर्दै आएको लघु जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पु¥याएको र अवरुद्व रहेको बताइएको छ । खानीखोला गाउँपालिकाको लघु जलविद्युत्मा बाटोको कारण पहिरोले खानीखोला नदी थुनिँदा पावर हाउसमा क्षति पुगेको छ । लघु जलविद्युतका अध्यक्ष फडिन्द्र तिमल्सिनाको अनुसार तत्कालीन साल्मेचाकल गाउँविकास समिति र साल्धारा गाउँ विकास समिति–५ र ६ को समन्वयमा तत्कालीन जिल्ला विकास समिति काभ्रेको सहयोगमा ग्रामीण ऊर्जा विकास कार्यक्रम रिडको आर्थिक सहयोग तथा रिमरेक संस्थाको सामाजिक परिचालनमा २०५७ सालदेखि सुरूआत भई २०५८ सालदेखि निरन्तर सञ्चालित थियो ।
उनका अनुसार खानीखोला दोस्रो लघु जलविद्युत् उपभोक्ता समितिको विद्युत्को पावर हाउस सोमबारदेखि परेको अविरल वर्षाका कारण क्षति पुगेको हो । वाग्मती प्रदेशको आर्थिक सहयोगमा खानीखोला गाउँपालिकाद्वारा स्यार्तेदेखि जन्तेसम्म खानीखोला कोरिडोरबाटो निर्माणको कारण पहिरो गएको बताइएको छ । खानीखोला उर्लेर करिब तीन सय घरधुरीका उपभोक्ताहरू सधँैका लागि विद्युत्बाट वञ्चित भएको बताइएको छ । खानीखोलाका स्थानीय निर्वाचित प्रतिनिधिहरूलाई पटकपटक पावर हाउस संरक्षण गर्न पहल गरिदिन अनुरोध गर्दा पनि बेवास्ता गरेको कारण आज आमउपभोक्ताहरूले टुकी बाल्ने अवस्था आइपरेको अध्यक्ष तिमल्सिनाले बताए ।
केन्द्रीय प्रसारण लाइनसमेत नपुगेको सो ठाउँमा हालसम्म सोही लघु जलविद्युत्कै भरमा गाउँपालिकाका, प्रशासन र बैंकसमेत चलेको थियो । स्थानीयहरूले अब सो विद्युत् अवरुद्ध हुँदा पुन ०५८ साल अघिकै हालतमा आफूहरू फर्किन विवश भएको बताए । उनीहरूले भने, ‘खानीखोला सरकारले न केन्द्रीय प्रसारण लाइनलाई प्राथमिकता दिन्छ, न स्थानीय लघु जलविद्युतलाई प्रमोट गर्छ । आज अरू छिमेकी कहाँ पुगिसके हामी पुनः टुकी बत्तीमा फर्किएका छौँ ।’
यसैगरी अविरल परेको वर्षाको कारण आशापुरी खोला बनेपा र पनौती नगरपालिकामा पर्ने घ्याल्कु खोलामा आएको बाढीले बगाएको अवस्थामा एकजनाको शव भेटिएको छ । सिन्धुपाल्चोक स्थायी घर भई पनौती नगरपालिका–३ बस्ने बनेपा–१४ आशापुरी काभ्रेपलाञ्चोकमा फुटपाथमा पसल गर्दै आएका कमल नाम गरेका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शव शिर मेमोरियल अस्पताल बनेपा लागिएको छ ।
यसैगरी अविरल वर्षातको कारण काभ्रे जिल्लाको मुख्य बाटो बिपी राजमार्ग पनि मंगलबार १२ घण्टा अबरुद्ध भई एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । यस्तै बनेपाको मुख्य बजारी इलाका पुलबजार पनि आठ घण्टा अवरुद्ध हुँदा सवारी आवागमन र यात्रुहरूलाई समस्या परेको थियो । यस्तै तेमाल ठूलोपर्सेल जाने यातायात पनि खानीदोभानको ढुंगाखानीमा आएको पहिरोले चार घण्टा अवरुद्ध भई स्थानीय जनप्रतिनिधि र यात्रुहरूको सहकार्यमा बाटो खुलेको थियो ।
यस्तै बाढी पहिरोले वितण्डा मच्चाउन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले आपत्कालीन बैठक बोलाई विपद्को सामना गर्न रणनीति तय गरिएको र त्यसमा सबै स्थानीय सरकारदेखि स्थानीय र सुरक्षाकर्मीसम्मका सबै तहहरूलाई आवश्यक प्रविधिसहित हाइअलर्टमा बस्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
प्रतिक्रिया