लम्पी स्किनबाट मरेका पशुको किसानलाई वडाले राहत दिने

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–२ ले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिको आधारमा पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा पशुपालक किसानको उक्त रोगबाट हजारौँको संख्यामा पशु मरेका छन् । सो रोगको पर्याप्त उपचार समेत नपाइरहेको सन्दर्भमा मृत्यु भएका पशुको आधारमा किसानको लागि राहत रकम उपलब्ध गराउनु सकारात्मक साहसिक र कृषकको पक्षमा निर्णय गरिएको भन्दै वडा समितिको सर्वत्र प्रशंसासमेत गरिएको छ । आइतबार बसेको निर्णयमा धुलिखेल नगरपालिका–२ ले तत्काल राहत दिने निर्णय गरेको छ । उक्त वडामा हालसम्म ६५ वटा गाई मरेका छन् । वडा समितिले आइतबार गरेको निर्णयमा धुलिखेल नगरपालिका–२ भित्रका किसानको पशुपालन नै मुख्य आम्दानीको स्रोत भएकोले किसानको मनोबल उच्च राख्न पनि यो निर्णयले सहयोग पुग्ने वडाध्यक्ष अर्जुन न्यौपानेले बताए ।
उनकै अध्यक्षतामा बसेको बैठकमा उपस्थिति कार्यपालिका सदस्य सीता पराजुली कोइराला, वडा सदस्यहरू सुप्पिता बराल, सुवलाल तामाङ, सूर्य–प्रकाश ढुंगाना र वडासचिव प्रतिमा करवालको उपस्थितिमा यो निर्णय गरेको बताइएको छ । बैठकले राहत दिने र वृक्षरोपण कार्यक्रमबारे निर्णय गरेको छ ।

बैठकले सो वडाभरि लम्पी स्किन रोगको महामारीको कारण मृत्यु भएको दुहुनो गाईका लागि प्रतिगाई १० हजार र चार महिना कटेको कोरली बाच्छीको हकमा पाँच हजार रुपैयाँ प्रति पशु दिने निर्णय गरेको छ । बैठकले उक्त राहत रकम ०८०÷८१ को दैवी प्रकोप फोर्स तथा वडास्तरीय कार्यक्रम ०८०÷८१ को पशु सेवा कार्यक्रमबाट राहत रकम वितरण गरिने बताइएको छ ।

वडाध्यक्ष अर्जुन न्यौपाने भन्छन्, ‘यो राहत किसानका लागि थोरै मात्रै भए पनि सद्भाव मात्रै हो । हामीले पर्याप्त बजेट पाएका थियौँ भने किसानको पशुपालनमा सबै खाले उपचारको जिम्मा पनि लिन्थ्यौँ तर बजेट अभावमा संभव छैन । अहिले गरेको निर्णय पनि किसानका लागी पर्याप्त होइन । त्यति धेरै किसानका लाखौं बराबरको क्षति भएको छ । यो एउटा थोरै मल्हम पट्टी गर्ने र हामी किसानका हरेक दुःखमा सँगै छौँ आभाष मात्रै दिलाउने भन्ने हाम्रो निर्णय हो । वास्तवमा किसानका त्यत्रो क्षतिमा हामीले त्यतिकै हेरेर बस्नु पक्कै हुँदैन ।’

यस्तै धुलिखेल–८ ले आफ्नै बजेटबाट लम्पी स्किन रोगको औषधी उपचार निःशुल्क गरेको छ । नगरपालिकाले पशुमा देखिएको महामारीजन्य रोगको पर्याप्त खोप तथा औषधी वितरण नगर्दा वडापालिकाले किसानको लागि सामाजिक जिम्मेवारी पूरा गरिरहेको यो कुराले सर्वत्र चर्चा पाएको छ । जिल्लामा १३ पालिकामा यस महामारीको रोग लम्पी स्किनबाट ५० हजार बढी पशुको क्षति भइसकेको छ । यसको आधिकारिक तथ्यांक जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत राख्न सकेको छैन । केही स्थानीय पालिकले यसको उपचारका लागि भन्दै खोप खरिद गरी खोप कार्यक्रम चलाएको भए पनि पर्याप्त नतिजा र रोग नियन्त्रण गर्न सकिरहेको छैन ।

प्रतिक्रिया