मध्यपुर रेलिगेसनमा, जावलाखेल ‘ए’ डिभिजनमै

काठमाडौं : भक्तपुरको एकेडेमी क्लब मध्यपुर युथ एसोसिएसन जारी सहिद स्मारक–‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा पर्ने तेस्रो तथा अन्तिम टोली बनेको छ । बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा मध्यपुर प्रतिद्वन्द्वी हिमालयन शेर्पाविरुद्ध १–० ले पराजित भएपछि जावलाखेल अन्तिम खेल खेल्न बाँकी छँदै रेलिगेसनमा नपर्ने निश्चित भएको हो ।
१५ खेलपछि १३ अंक भएको मध्यपुर अंक तालिकामा पुछारबाट दुई स्थान माथि अर्थात् १४आँै स्थानमा रहने पक्का भयो । जावलाखेलको १४ खेलपछि १४ अंक छ । १६ टिम रहेको यस लिगमा अन्तिम तीन टोली–‘बी’ डिभिजनमा घटुवा हुने प्रावधान छ । वि.सं. ०६३ सालमा स्थापना भएको मध्यपुरले पहिलोपटक यसै वर्ष ‘ए’ डिभिजन प्रतियोगिता खेलेको थियो । गत वर्ष मात्र मध्यपुर ‘बी’ डिभिजनबाट उपविजेताका रूपमा ‘ए’मा बढुवा भएको थियो ।
कम्तीमा बराबरी गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएको मध्यपुरले खेलभर स्तरीय प्रदर्शन गर्‍यो तर गोल गर्न सकेन । ५२आँै मिनेटमा हिमालयनका लागि गणेश खड्काले निर्णायक गोल गरे । पुकार गहतराजको क्रसमा खड्काले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए । खेलको अन्तिम समयसम्म मध्यपुरले गोल गर्ने अवसर पाएको थियो तर रेलिगेसन संघर्षरत यस टोलीको फिनिसिङ कमजोर रह्यो । दोस्रो हाफको अन्त्यतिर जीवन सिन्केमानको प्रहार क्रस बारमा लागेर बाहिरिनु र खेलको सुरुवातमै सिन्केमानले गरेको प्रहार हिमालयनका गोलकिपर अमृतकुमार चौधरीले कठिन रूपमा क्लियर गर्नु मध्यपुरका लागि दुर्भाग्य रह्यो । यसका अलावा केहीपटक उसका खेलाडी खाली पोस्टमा पनि गोल गर्न असफल भए ।
यस लिगमा पहिलो खेलमा साबिक विजेता नेपाल पुलिसलाई बराबरीमा रोकेर उसले राम्रै सम्भावना देखाएको थियो तर उक्त ‘चार्म’ लिगको मध्यसम्म पनि कायम रहन सकेन । जितपछि १५ खेलबाट २२ अंक जोडेको हिमालयन नवाँै स्थानमा रहने पक्का भयो ।
पछिल्ला दुई खेलमा पराजय सामना गरेको मछिन्द्र क्लब बुधबार भएको खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । यसअघिका पछिल्ला दुई खेलमा मछिन्द्रले सरस्वती र हिमालयन शेर्पाविरुद्ध पराजय सामना गरेको थियो । १५ खेलपछि २७ अंक भएको मछिन्द्र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । (सौस)

प्रतिक्रिया