रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा राजस्व संकलन दोब्बरभन्दा बढीले वृद्धि गरेको छ । जिल्ला प्रहरी कार्यालय गौर रौतहटले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ३ लाख ३ हजार ४ सय ६८ रुपैया राजस्व संकलन गरिएकोमा यस आर्थिक वर्ष २०७९/०८० मा ५ करोड २६ लाख ५७ हजार ६१ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ भन्दा यस आर्थिक वर्ष २०७९/०८० मा ३ करोड २६ लाख २३ हजार ५ सय ९३ रुपैयाँ बढी राजस्व संकलन गरिएको छ । त्यस्तै यस वर्ष स्रोत नखुलेको ३ करोड ६१ लाख ४ हजार ४ सय रुपैयाँसहित नौ जना पक्राउ परेका छन् । त्यस्तै यस वर्ष २ लाख ४३ हजार नेपाली नक्कली जाली नोट बरामद भएको छ । जाली नोटको कारोबार गर्ने २२ जना व्यक्ति पक्राउ परेका छन् भने ११ जनामाथि मुद्दा दर्ता गरिएको छ । रौतहटका प्रहरी उपरीक्षक एसपी वीरबहादुर बुढामगरले गत आर्थिक वर्षमा प्रहरीद्धारा गरिएको विभिन्न कामहरुको विवरण प्रस्तुत गरेका थिए । सार्वजनिक गरिएको विवरणअनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा विभिन्न प्रकृतिको गरी ८ सय ५ वटा मुद्दा दर्ता भई कारबाही प्रक्रिया अगाडि बढेको पाइएको छ ।
लागुऔषधसम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकोमा ३५ वटा फस्र्यौट भइसकेको र एउटा मुद्दा मात्र फस्र्यौट गर्न बाँकी रहेको छ । यस लागुऔषधसम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ । उनीहरूको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाइजेपाम इन्जेक्सन, १५ सय ७९ पिस फेनारगन इन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन इन्जेक्सन बरामद गरिएको प्रहरीले जनाएको छ ।
कुल ८ सय ५ वटा मुद्दा दर्ता भएकोमा ५ सय ७५ वटा मुद्दा फस्र्यौट भइसकेको र २ सय २९ वटा मुद्दा फस्र्यौट हुन अझै बाँकी रहेको पत्रकार सम्मेलनमा एसपी बुढामगरले बताए । जबकी आर्थिक वर्ष २०७८/०७९ मा ७ सय ४८ वटा मुद्दा दर्ता भएको थियो भने त्यसमध्ये ४ सय ६९ मुद्दा फस्र्यौट भइसकेको र २ सय ७९ वटा मुद्दा फस्र्यौट हुन अझै बाँकी थियो ।
आर्थिक वर्ष २०७९/०८० मा जघन्य अपराधतर्फ कर्तव्य ज्यानसम्बन्धी १९, जबरजस्ती करणी उद्योगअन्र्तगत २६, अपहरण तथा शरीर बन्धकसम्बन्धी तीन, सवारी ज्यानसम्बन्धी ४३, लागुऔषधसम्बन्धी ३६, हातहतियारसम्बन्धी तीन, ज्यान मार्ने उद्योगसम्बन्धी ४२, खोटा मुद्रासम्बन्धी ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । त्यस्तै ७३ जनाको झुण्डिएर तथा विष सेवनबाट १७ जनाको मृत्यु भएको छ । चोरीको ७० वटा घटना भएको पाइएको छ । मुद्दाको फैसला कार्यान्वयन गर्न अनुसन्धान गर्ने क्रममा १ सय २ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ भने फैसला कार्यान्वयनपश्चात ३ सय ३६ जना पक्राउ परेको विवरणमा उल्लेख छ ।
पक्राउ परेका प्रतिवादीहरुबाट ५५ लाख ८ हजार ३ सय ३३ रुपैयाँ दण्ड जरिवाना गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा कटुवा पेस्तोल दुई थान र एक थान गोलीसहित एक जना व्यक्ति पक्राउ परेका छन् भने १२ बोरको दुई नाले बन्दुक एक थान, लाइफ राउन्ड गोली ११ थान, खोका तीन वटासहित आठ जनालाई पक्राउ गरिएको छ । त्यस्तै एक थान एकनाले भरुवा बन्दुकसमेत बरामद भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा आगलागीसम्बन्धी भएको १ सय ९४ वटा घटनामा परी तीन महिला र एक पुरुषको मृत्यु भएको छ । आगलागीमा परेर ९८ वटा पशुचौपायाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । वर्षा र बाढीको आठ वटा घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने हावाहुरीको २३ वटा घटना हुँदा पनि कसैको ज्यान गएको छैन ।
करेन्टसम्बन्धी ३५ वटा घटना हुँदा करेन्ट लागेर ११ जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ भने जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यसरी दैवीप्रकोपसम्बन्धी घटनामा १९ जना पुरुष र आठ जना महिलाको दुःखद् निधन भएको पाइएको छ । १९ वटा अबैध दारु भट्टी नष्ट गरिएको छ भने तयारी मदिरा ९ हजार १ सय १७ लिटर र ३ हजार १ सय ५० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।
अवैध रूपमा नदिजन्य पदार्थ ढुवानी गर्ने विभिन्न ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ भने १२ जना मानिसलाई पक्राउ गरिएको छ । ११ सय १७ वटा ठाडो उजुरी परेकोमा ३ सय १४ वटा उजुरी मिलापत्र गरिएको छ भने ४ सय ४५ वटा उजुरी मातहतमा मिलापत्र गरिएको छ । २ सय ६४ उजुरी छलफल गर्ने प्रक्रियामै रहेको छ भने ९४ जना सम्पर्कमा नआएको बताइएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३८ हजार ५ सय ८२ जना चालकलाई कारबाही गर्दा ३ करोड १ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जिल्लाभरीमा भएको कुल ६ सय ४५ वटा सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने १ हजार ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया