गत वैशाखको पहिलो साता संसद्को बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बाँदर निर्यात गर्नुपर्ने कुरा उठाए । त्यतिबेला श्रीलंकाले चीनमा एक लाख बा“दर निर्यात गर्न लागेको समाचार विश्वभर फैलिएको थियो । त्यही समाचारलाई उदृत गर्दै सांसद गुरुङले नेपालको आर्थिक संकट टार्नका लागि अबलम्बन गर्नुपर्ने उपायहरूमध्ये बाँदर निर्यात पनि महत्वपूर्ण हुन सक्ने कुरा राखेका थिए । बाँदर निर्यातबाट आउने रकमभन्दा पनि बाँदरले किसानलाई पुर्याएको क्षतिका सन्दर्भमा गुरुङले जोड दिएका थिए । उनको भनाइ थियो, ‘बाँदर आतंककै कारण पहाडी क्षेत्रमा कृषकहरू टिक्न नसकेका कारण कतिपय बसाइँ सर्न थालेका छन्, कतिपयले बारी बाँझै छोड्न थालेका छन् ।’ सांसद गुरुङको यो भनाइ जनगणना २०७८ को अन्तिम परिणामले पनि पुष्टि गरेको छ । जहाँजहाँ बाँदरको संख्या ठूलो छ, त्यहाँको जनसंख्या १० वर्ष अघिको तुलनामा ह्वात्तै घटेको छ । नेपालको पहाडी क्षेत्रका ३४ वटा जिल्लाको जनसंख्या १० वर्ष अघिको भन्दा घटेको तथ्यांक आएको छ । विगतमा विकासका पूर्वाधार शून्य हुँदा पनि पहाडी क्षेत्रको जनसंख्या घटेको थिएन, बरु बढेको थियो । तर अहिले यातायात, शिक्षा, बिजुली, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत विकासका पूर्वाधार पुग्दासमेत पहाडी क्षेत्रका गाउँहरू धमाधम रित्तिन थालेका छन् । यसको कारणबारे विभिन्न थरीले विभिन्न तर्क प्रस्तुत गरे पनि मुख्य कारण भनेको बाँदर आतंक नै हो । बाँदर आतंकका कारण पहाडी क्षेत्रका गाउँहरू मान्छे बस्नै नसक्ने अवस्थामा पुगेका छन् । बाँदरका कारण किसानहरूको खेती समाप्त त भएकै छ, घरभित्र रहेको खानेकुरासमेत जोगिन सक्ने अवस्था छैन ।
पहाडी क्षेत्रको भिरालो तथा सिँचाइको सुविधा नभएको ठाउँमा मकैबाहेक अर्को अन्नबालीको गुञ्जायस छैन । उच्च पहाडी क्षेत्रमा खेती हुने अन्नबाली भनेको त मकै नै हो । तर बाँदरका लागि सबैभन्दा प्रिय भोजन रहेछ मकै । करिब ५०–६० वटा बाँदरको एउटा बथान हुन्छ । पाक्न लागेको मकै बालीमा एक बथान बाँदर करिव आधा घण्टा छिर्न पाए भने एक हेक्टर जति सखाप बनाइदिन्छन् । मल, बिउ, खनजोत, गोडमेल लगायतका काममा किसानको ठूलो श्रम, पसिना र समय लगानी भइसकेको हुन्छ । तर एक हुल बाँदर पसे भने आधा घण्टामै सम्पूर्ण मकै बाली स्वाहा बनाइदिन्छन् । अनि किसान के आशाले गाउँमा बसुन् ? बरु जहाँबाट अन्न किनेर ल्याउनुपर्ने हो, त्यही ठाउँमा बसाइँ सर्न किसानहरू बाध्य भएका छन् । गाउ“मा मान्छेहरूको बसोबास जति पातलिँदै गएको छ, आसपासको जंगल पनि त्यति नै बढ्दै गएको छ । जंगलको अनुकूल अवस्थाका कारण बाँदरको संख्या पनि बढ्दै गएको छ । मुख्य खाद्यबाली चामलको आयात वार्षिक ६० अर्ब रुपैयाँको हुँदै गर्दा बरबादै भयो भन्दै हुण्डरी मच्चाइएको छ, तर चामलभन्दा मकैको आयात धेरै हुन थालेको तथ्यांक छ । बा“दर आतंकका कारण पहाडमा मकै खेती हुन छाडेकोले पनि चामलको आयात बढेको हो ।
केही वर्ष अघिसम्म मकै उत्पादनमा पहाडी क्षेत्रको हिस्सा ७० प्रतिशत र तराई क्षेत्रको हिस्सा ३० प्रतिशत थियो । तर, अहिले ठिक उल्टो छ । विगतमा मकै खेती हुने गरेको पहाडी क्षेत्रको करिब ७० प्रतिशत जग्गा अहिले बाँझै छ । यसको मुख्य कारण भनेको बाँदर आतंक हो । छिमेकी देश चीनले हाम्रोजस्तै हावापानी भएको पहाडी क्षेत्रलाई मकै उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरेको छ । चीनको त्यो पहाडी क्षेत्रमा प्रतिहेक्टर ६ मेट्रिकटन मकै उत्पादन हुन्छ । तर हाम्रो देशमा मकैको उत्पादकत्व प्रति हेक्टर १ दशमलव ५ मेट्रिकटन छ । चीनमा बाँदरको अतंक नहुनुको एउटा जबरजस्त कारण छ । त्यो कारण हो, ‘चीनमा बाँदरको मासुलाई प्रिय भोजन मानिन्छ, त्यसैले मानिस देख्नासाथ बाँदरहरू चार कोश पर भाग्छन् ।’ नेपालमा त बाँदरहरूले एक्लै देखे भने मान्छेलाई समेत झम्टन्छन् । बाँदर आतंककै कारण नेपालको पहाडी क्षेत्र हरियो मरुभूमिका परिणत भइरहेको छ । गाउँमा मान्छे नै बस्न छाडेपछि वन जंगल पनि उपयोगमा आउँदैन, जडिबुटीहरू पनि यसै खेर जान्छन् । त्यसैले बा“दर आतंक नियन्त्रणका लागि उठेको मागलाई हल्का रूपमा लिने गल्ती गर्दै नगरौँ ।
प्रतिक्रिया