गण्डकी प्रदेशस्तरीय ‘नेपालमा महिला : चुनौती र सम्भावना’ सम्मेलनमा विभिन्न वक्ताका धारणा

पोखरा । नेपाल सारथी फाउन्डेसन तथा इकोनोमिक्स हब नेपालको संयुक्त आयोजनामा ‘नेपालमा महिला : चुनौती र सम्भावना’ विषयक क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलन गण्डकी प्रदेशमा गत आइतबार सम्पन्न भएको हो । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जित प्रकाश आलेमगरको प्रमुख आतिथ्यमा उक्त सम्मेलन ३ सत्रहरूमा सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री आलेले महिला स्वयम् सशक्तीकरण हुन आवश्यक रहेको बताए । उनले राज्यको हरेक तहमा पुरुषभन्दा महिलाको उपस्थिति ज्यादा रहेको र सबै काम राज्यले मात्र गर्नु भन्ने भन्ने भावनाबाट बाहिर निस्किन आग्रह गरे ।

उनले समाजको सन्तुलित विकासका लागि राज्य मात्र नभई हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भनेमा उद्देश्य प्राप्ति हुने बताए । यस्तै पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरामा सान्दर्भिक र महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उनले महिलाको सवालमा महानगर सधैँ काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए । सो सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न डाटा तथा फिगर लाई पेपर प्रेजेन्ट गर्दै पोखरा विश्वविद्यालयका असोसिएट प्रोफेसर दीपेन्द्र पहरीले गण्डकी प्रदेशभित्र रहेका महिला संरचनाहरूलाई जोड दिएका थिए ।

गण्डकी प्रदेश सरकार महिलामैत्री सरकारको रूपमा रहेको गण्डकी प्रदेश सरकारको बजेट अरू प्रादेशिक सरकारभन्दा महिलामैत्री बढी महिलामैत्री रहेको कुराहरूलाई जोड दिँदै गण्डकी प्रदेशभित्र महिला जम्मा महिला तथा पुरुषका विभिन्न तथ्य तथा तथ्यांकहरू उनले प्रस्तुत गरेका थिए ।

त्यसै गरी पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पुरुषहरूलाई उनको नेतृत्व अपच भएको पाएको अनुभव सुनाइन् । भण्डारीले हाम्रो परम्परागत सोचाइ चिर्दै छोरी मनिसको नेतृत्व रहेको ठाउँ स्वर्गभन्दा नि अब्बल हुने भएकाले महिला नेतृत्व हरेक क्षेत्रमा प्रवर्द्धन गर्नु पर्ने बताइन् ।

पुरुषभन्दा महिला धेरै भएको गण्डकी प्रदेशलाई साँच्चिकै महिला मैत्री प्रदेश बनाउने सबैको हातेमाले आवश्यक बताउँदै प्रदेश नीति तथा योजना आयोग सदस्य अन्चला चौधरीलाई विभिन्न नीतिगत सुधार आवश्यक रहेको ध्यानाकर्षण पनि गराइन । सारथी फाउन्डेसनका कार्यक्रम संयोजक अजर गुरुङले सातै प्रदेशमा प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए ।

नेपालमा महिलाको कस्तो अवस्था छ भन्ने बारे बुझ्न कार्यक्रमको आयोजना गरेको उनले सुनाए । उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्था बारे बुझ्नका लागि कार्यक्रमको आयोजना गरेको बताए । शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले आफूहरूले लामो समयदेखि महिलाको आवाज बुलन्द पार्दै आएको सुनाइन् ।

दूर दराजका महिलाहरू अझै पनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको उनले बताइन् । राज्यले दिएको ३३ प्रतिशतको कार्यान्वयन नभएको उनले गुनासो पोखिन् । राज्यको संयन्त्रमा र सहभागितामा हेर्दा न्याय पूर्ण सहभागिता हुन नसकेको उनको भनाई छ ।

कार्यक्रमको पहिलो सत्रमा स्वास्थ्यमा महिला भन्ने विषयक रहेको थियो भने उक्त सत्रमा डाक्टर विनोद विन्दु शर्मा, डाक्टर अन्जली सुवेदी, डाक्टर सरस्वतीलगायत प्यानलिस्टहरुको उपस्थिति रहेको थियो । उक्त सत्रमा महिलाहरूले स्वास्थ्य क्षेत्रमा सामना गर्नुपरेको विभिन्न चुनौतीहरू बारेमा छलफल गरिएको थियो ।

डाक्टर शर्माले मातृ मृत्युदर अहिले प्रति एक लाख जीवित जन्ममा १ सय ५१ पुगेको तथ्यांक बताउँदै महिला र महिला स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशले निकै काम गर्न बाँकी रहेको कुरालाई महत्त्व दिएका थिए । त्यसै गरी उक्त प्यानलमा प्रजनन स्वास्थ्य लगायतमा घरघरबाट छलफल सुरु हुनुपर्ने कुरा उठेको थियो । आफ्नो अभिभावकले आफ्नो छोरा छोरीहरूसँग प्रजनन स्वास्थ्य लगायतका महिला स्वास्थ्यका विषयमा खुलेर आम जनमानसमा जनस्तरमा छलफल गर्नु आवश्यक रहेको उक्त प्यानलको बुझाइ थियो ।

दोस्रो सत्र महिलालाई अवसर भन्ने विषयक रहेको थियो भने उक्त सत्रमा माननीय डिल्लीराम सुवेदी, शुक्रराज सुवेदी, चिनु गुरुङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव मनमाया भट्टराई पंगेनी तथा जानुका पन्तको उपस्थिति रहेको थियो । उक्त प्यानलले गत चुनावमा स्थानीय तह प्रमुख एउटा महिलाले जितेको भए पनि यस चुनावपश्चात् कुनै पनि स्थानीय तहको नेतृत्व महिलासँग नरहेको कुरा अगाडि राखेको थियो ।

उक्त प्यानलका मोडरेटर शुक्रराज सुवेदीले गण्डकी प्रदेशभित्रका विभिन्न डाटाहरू केलाउँदै प्यानलिस्टहरु सँग गम्भीर प्रश्नहरू अघि सारेका थिए । गुरुङ ब्युटी पार्लरकी सञ्चालक चिनु गुरुङ तथा लेखनाथ उद्योग वाणिज्य संघकी सहसचिव जानुका पन्तले महिलाहरूले व्यावसायिक क्षेत्रमा ग्रास रुटमा भोग्नु परेको समस्याहरुको बारेमा व्यापक छलफल गरेका थिए ।

त्यसै गरी मनमाया भट्टराई पंगेनीले गण्डकी प्रदेश सरकार महिलामैत्री सरकार रहेको र बजेट लगायत यावत कुराहरूमा महिलालाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम अगाडि ल्याएको कुरा राखेकी थिइन् । यसै गरी माननीय दिल्ली राम सुवेदीले गण्डकी प्रदेश महिला सम्बन्धी महिलाको विषयमा संवेदनशील रहेर कार्य सम्पादन गर्दै आएको कुरामा जोड दिए ।

उनले नेपाली कांग्रेसको अध्यक्षको रूपमा पनि १ दशकभित्र नै महिला महिला नेतृत्व सम्भावना देखेको कुरा बताए । तेस्रो सम्मेलनमा माननीय अञ्चला चौधरी, विमला भण्डारी तथा विना सिलवाल प्यानलिस्ट रहीमहिलाका लागि न्यायिक संरचना विषयमा सत्र चलेको थियो ।

गण्डकी प्रदेश सरकारले महिला विकास कोषलगायत विभिन्न कुराहरू समेटेर नीति तथा कार्यक्रम तथा पञ्चवर्षीय योजना अघि सार्नुपर्ने कुरा अञ्चला चौधरी सामु राखेका थिए । विभिन्न समुदायमा रहेका तल्लो स्तरीय र पहुँच नपुग्ने महिलाहरूको लागि गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा विभिन्न नीतिहरू समावेश गरेर आवश्यक पर्ने कानून संशोधनमा पनि पछि नहट्नु पर्ने कुरा बिना सिलवालले जोडदार रूपमा अघि सारेकी थिइन् ।

त्यसै गरी परम्परागत शैलीलाई चिर्दै महिलाहरूको लागि पनि समान अवसर सिर्जना गर्नका लागि युवा साथीहरू अग्रसर रहनु पर्ने कुरामा उनको जोड थियो । नेपोलियन बोनापार्टको भनाई सम्झँदै महिलाहरू नेतृत्वमा आउँदा एउटा सिङ्गो समाजलाई नै सुगम तथा सुन्दर बनाई प्रगतिको बाटो मार्गतर्फ लैजाने कुरा उनको थियो ।

सम्मेलनमा शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अंकित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर, स्वास्थ्य र कानूनका विषयमा अन्तरक्रिया भएको थियो । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरूको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए । काठमाडौंमा भदौ २९ गते अन्तर्राष्ट्रिय सम्मेलन हुने बताइएको छ ।

प्रतिक्रिया