रौतहट । हजारांैको संख्यामा रोजगारी दिएको श्रीराम सुगर मिल अहिले विलयको बाटोमा गइसकेको छ । देशमा तीनै सरकार स्थानीय, प्रदेश र संघीय सरकारको लापरबाहीले ध्वस्त भएको आरोप उठ्न थालेको छ । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्स लिमिटेडको भएको सम्पत्ति लिलामी प्रक्रिया अनधिकृत रहेको पनि छलफल गरिएको छ ।
श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । यसै विषयलाइ लिएर मध्य रौतहटको गरुडास्थित आशीर्वाद गेस्ट हाउसमा जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ । उखु उत्पादक संघ रौतहटको आयोजनामा मंगलबार भएको कार्यक्रममा उद्योग सञ्चालकद्वारा अनधिकृत लिलामी प्रक्रियाबारे छलफल गरिएको हो । संघका अध्यक्ष अशोकप्रसाद यादवको अध्यक्षतामा सो छलफल गरिएको हो ।
बैठकबाट ज्ञापनपत्र बुझाउने, बृहत् आमभेला गर्ने र कमिटी गठन गर्ने निर्णय गरिएको संघका अध्यक्ष यादवले बताए । मिल सञ्चालकले अनधिकृत रूपले मिल कबाड भनी टेन्डर प्रक्रिया बढाएकोलाई खारेज गरी मिल पुनः सञ्चालन गर्न गराउनका लागि साउन २२ गते जनप्रतिनिधि र किसानहरूको रोहबरमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको हो । साथै मिललाई जोगाउनका लागि जिल्लाको चारै निर्वाचन क्षेत्रको संघीय, प्रदेश सांसद र स्थानीयहरूसँग सहकार्य गरी साउन २७ गते शनिबारका दिन श्रीराम सुगर मिलको प्रांगणमा आमभेला गरी मिल जोगाउन अगामी नीति तय गर्ने सर्वसहमतिबाट निर्णय गरिएको हो ।
बैठकबाट अशोकप्रसाद यादवको नेतृत्वमा नौ सदस्यिय कमिटी पनि गठन गरिएको छ । जसको कमिटीमा अनिलकुमार यादव, प्रेमशंकर राय यादव, राजकुमार दास तत्मा, विजय यादव, रामविनोद जयसवाल, शेख मसहर, श्याम सहनी रहेका छन् । सो अवसरमा जिल्ला समन्वय समिति रौहतटका सभापती रामअयोध्या यादव, पूर्व मन्त्री गोविन्द चौधरी, नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिलकुमार यादव, गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल, गुजराका नगरप्रमुख सन्तलाल चौधरी, गरुडा नगरपालिकाकी उपप्रमुख पसनम चौधरी, गरुडाका मेयर प्रत्यासी ब्रिजकिशोर यादवसहित जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया