काभ्रे । जिल्लाको पनौती–८ का बालकृष्ण श्रेष्ठ २०६० सालमा सेनामा भर्ती भए । भर्ती भएर जागिर प्रारम्भ हुँदै गर्दा मुलुकमा संकटकाल चर्किंदै गयो । ‘ज्यान बचे जागिर खाने न हो’ भन्ने ठानेर जागिर छोडेर घरमै खेती किसानीमै रमाउने प्रयास गरे उनले । ०७२ को भूकम्पमा घर भत्कियो । अनि परम्परागत खेतीबालीबाट पनि वितृष्णा पैदा भइरह्यो उनलाई । उनले आफ्ना घरपरिवार आफूसहित नौ सदस्यको गुजारा गर्न अनेक ठाउँमा हात हाले, तर सफल भएनन् । अन्ततः उनकी श्रीमती सरस्वती श्रेष्ठले जग्गा भाडामा लिएर सुझाउँदै लयमा ल्याएर टनेल खेतीमार्फत विभिन्न तरकारीखेती सुरुआत गरे सुरुआतमा केही घाटा बेहोरे पनि ।
केही वर्षअघि तरकारीखेतीबाट परिवारको गुजारासँगै भूकम्पबाट भत्केको घर नयाँ बनाउनसमेत सफल भए उनीहरू । आफ्नो इष्टमित्रबाट केही सापटी लिएर सुरु गरेको तरकारी खेती फैलिएर अहिले १० लाख लागतमा साढे नौ रोपनीको जग्गामा ५४ वटा टनेलमा गोलभेँडा, काँक्रो, खुर्सानीलगायत तरकारी खेती गर्दै आएका छन् । केही समयअघि मात्रै गोलभँेडा प्रतिक्रेट दुई सय रुपैयाँसम्म आएको भए पनि हाल प्रतिक्रेट १८ सयसम्म आएको छ ।
बालकृष्णले भने, ‘उत्पादन मूल्य लागू गरी बिउ, मललगायत आवश्यक उपकरण र तालिमको व्यवस्थापन स्थानीय सरकारले गरे थप सहजता हुने थियो । अहिले मध्यमार्ग कृषक सहकारीले गरेको सहयोगले हामीलाई धेरै राहत मिलेको छ । बजार भाउ नहुँदा पनि घाटाचाहिँ पर्दैन, किनभने खेती गर्न कामदार खासै राख्दैनौँ । आफैँले सबै हेर्ने गरेका छौँ ।’ उनले हाल सिर्जना जातको गोलभँेडा लगाइएको र सो जातको गोलभेँडा एउटा बोटमा सात किलोसम्म फल्ने गरेको उनले सुनाए । यो जातको गोलभेँडामा विषादी कम प्रयोग गरे हुने रहेछ ।
कुनै समय काठमाडौंको ठमेलमा भेटिने पनौती नगरपालिका–८ का बसन्त थापा अहिले खेतबारीमा भेटिन्छन् । ठमेलमा पर्यटकलाई हस्तकला बेच्दै गरेको भेटिने उनी अहिले टनेलमा गोलभेँडा लगायतका तरकारी सुमसुम्याउँदै गरेको भेटिन्छन् । कोभिड–१९ ले व्यापार चकनाचुर बनाएपछि तरकारी खेतीमा लागेका उनी अहिले आफ्नै गाउँमा तरकारी खेतीमा रमाइरहेका छन् ।
ठमेलमा हस्तकलाबाट राम्रै आम्दानी गरिरहेका थापा कोभिड–१९ ले १६ वर्षसम्म गरेको हस्तकला सामग्रीको व्यापार रोकिएपछि के गर्ने भनेर दोधारमा थिए । कोभिडले व्यापारमा पूर्णविराम लगाएपछि परिवार धान्न पनि मुस्किल थियो । ‘ठमेलमा हस्तकलाको व्यापार गरिरहेका थियौँ । आम्दानी राम्रै थियो । तर कोरोनाले व्यापार चौपट बनाइदियो’, उनले भने, ‘एकपटक त विदेश नै जाउँ कि भन्ने लागेको पनि थियो । तर, देशमै केही गरौँ भन्ने सोचेर तरकारी खेतीमा लागेँ ।’ त्यही क्रममा मध्यमार्ग कृषि सहकारी संस्थाबाट कृषि सामग्री पाएपछि तरकारी खेतीमा लागेको थापाले बताए । तरकारी खेतीको लागि टनेल प्लास्टिक, हातेट्रयाक्टर, विषादी स्प्रे र तरकारी बिउवीजन पाएपछि होलसेल व्यापार गर्दै आएको शालिकराम बन्जरासँग मिलेर तरकारी खेती गरेको थापाले बताए । बञ्जरा थापाका मामा हुन् ।
‘कोरोनाले व्यापार रोकेपछि के गर्ने के नगर्ने भन्ने दोधारमा थिएँ । त्यही क्रममा सहकारीले ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिएपछि होलसेल व्यापारमा कोरोनाले अवरोध गरेर म जस्तै अलमलमा परेका मामासँग मिलेर तरकारी खेती गरेका हौँ,’ थापाले भने, ‘अहिले सन्तुष्ट नै छु ।’ उनीहरू मामाभाञ्जा मिलेर पनौती–८ निशिला फाँटमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । करिब १५ लाख लगानी गरी तरकारी खेती गरेको थापाका मामा शालिकराम बञ्जराले बताए । वार्षिक प्रतिरोपनी १५ हजारका दरले लिएको १० रोपनी जग्गामा ७० वटा टनेल हाली टमाटर खेती गरेको बञ्जराले बताए ।
अर्गानिक तरकारी खेतीमा लागेको उनीहरूले बताए । ‘हामीले अर्गानिक खेतीमा जोड दिएका छौँ’, बञ्जराले भने, ‘पैसा तिरेर विषादीजन्य तरकारी बेच्न छोड्नुपर्छ । त्यसकारण हामीले अर्गानिक तरकारी उत्पादनमा जोड दिएका छौँ ।’ थोरै मात्रामा रासायनिक मल र विषादी प्रयोग गरेर तरकारी उत्पादन गर्दै आएको उनले सुनाए । जीविकापार्जनका लागि विदेश होइन, नेपालमै केही गरौँ भनेर लागेको बञ्जराले बताए ।
त्यसरी पनौती–८ कै सरस्वती बञ्जराले पनि तरकारी खेती गर्दै आएकी छिन् । कोरोनापछि सबैले तरकारी खेती गर्न थालेपछि आफूले पनि तरकारी खेती गरेको उनले बताइन् । चार वर्षदेखि साढे दुई रोपनी जग्गामा गोलभेँडा, काँक्रो र सिमी खेती गरेकी छन् उनले । धान खेतीबाट वार्षिक ४० हजार आम्दानी हुने जग्गामा तरकारी खेतीबाट करिब चार लाख फाइदा हुने गरेको उनले बताइन् ।
‘तरकारी खेतीमा राम्रो छ आम्दानी । कहिलेकाहीँ भाउ नपाएर घाटा भए पनि लगातार खेती गर्दा फाइदा हुन्छ । सधैँभरी भाउ नआउने भन्ने हुँदैन’, उनले भनिन्, ‘धान रोप्दा वर्षको ४० हजार आम्दानी हुने ठाउँमा तरकारी खेतीबाट चार लाखसम्म आम्दानी भएको छ ।’ अहिले उनीहरूले जस्तै खरिबोट फाँटमा पदमप्रसाद आचार्य, रामशरण थापालगायत १ सय ६० भन्दा बढी किसानले तरकारी खेती गर्दै आएका छन् । पनौती नगरपालिकाको ४ नम्बर वडा र ८ नम्बर वडाको धैसेटोल, धर्मटोलमा टनेलमार्फत तरकारी खेती भइरहेको छ ।
मध्यमार्ग कृषि सहकारी संस्था लि.को संयोजनमा जिल्ला कृषि ज्ञान केन्द्र काभ्रेबाट प्राप्त अनुदानलाई ५० प्रतिशत किसानको लागत साझेदारीमा अनुदान स्वरूप टनेल उपलब्ध गरिएको बताइएको छ । टनेल खेतीलाई उत्कृष्ट तरिकाले सदुपयोग गरी कम लागतमा धेरै उत्पादन बढाउन सफल भइरहेको वरिष्ठ पत्रकारसमेत रहेका सहकारीका अध्यक्ष प्रदीप केसीले बताए । उनले १ सय ६० जना किसानलाई कृषि उपकरणमा ट्रयाक्टर, स्प्रे, मल, बिउ, र टनेल वितरण गरिएको बताए । किसानहरू प्रफुल्लित छन् । आजभन्दा १० वर्षअघि सहकारी दर्ता गरी किसान केन्द्रित काम गर्न आफ्नो सोचमा सबैले साथ दिएको केसीले बताए । उनले यसअघि पनि किसान लक्षित विभिन्न खेतीसम्बन्धी तालिमहरू, आरपिएम तालिम, खाद्यान्नमा पनि तालिम लिएपछि उनले पत्रकारिता मात्रै होइन, कृषि क्षेत्रमा पनि केही गर्ने हुटहुटी आएपछि कृषि सहकारी दर्ता गरेर किसानका हकहितमा विभिन्न कार्यक्रम र योजना बनाउँदै आएका छन् ।
‘यसमा अधिकांश सदस्य र स्थानीय साथीहरूको साथ सहयोग छ । हाल कृषि सामग्री केन्द्र र साल्ट ट्रेनिङमार्फत मल पनि वितरण गरिरहेका छौँ । संस्थामा १ सय २५ सदस्य मात्रै भए पनि हामीले सदस्य बाहेकका किसानलाई समेत अनुदान र सेवाहरू प्रदान गर्दै आएका छौँ’, केसीले भने । भावी दिनमा सहकारीको योजना तरकारी संकलन केन्द्र निर्माण गर्ने र संकलन गर्ने गाडीको समेत व्यवस्थापन गरी किसानले उत्पादन गरेको सामग्रीलाई खेतबारीमै भाउ तोकिदिई उत्पादन बढाउन प्रोत्साहन गर्ने योजना रहेको बताए ।
सहकारीले अर्गानिक तरकारी खेती र खाद्यान्न उत्पादनलाई जोड दिने नीति लिएको उनले बताए । यसवर्ष सहकारीलेप्राप्त गरेको ३५ लाख अनुदानलाई पनि टनेल खेती गर्न चाहाने किसानलाई अनुदान उपलब्ध गराइएको छ । अध्यक्ष केसीका अनुसार यस भेगबाट उत्पादित तरकारीहरू उपत्यका र उपत्यका बाहिरसमेत चितवन, मकवानपुर, पोखरासमेत पुगेको छ । यहाँ उत्पादित सामानलाई लेबलिङ ग्रेडिङ र भण्डारण गरी लामो समयसम्म व्यवस्थित तरिकाले लगाउन सकियो भने विदेशमा समेत निर्यात गर्न सकिने उनले बताए । त्यसको लागि सहकारीले डेमोको कामसमेत गरेको र यसलाई प्रभावकारी बढाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार पछिल्लो समय विदेश जान लागेका धेरै युवालाई सहकारीले सहयोग गरेको र यहीँ तरकारी खेती गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न प्रोत्साहन सकेत गरेको छ ।
प्रतिक्रिया