जुत्ताचप्पल मेलामा उपभोक्ताको भिड

काठमाडौं, ९ माघ । स्वदेशी छाला जुत्ता–चप्पल उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धन गर्ने एवं नेपाली उपभोक्तालाई स्वदेशी ब्रान्डको प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको बिग सेल मेलामा उपभोक्ताको भिड लागेको छ । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको मेलामा उपभोक्ताको भिड अत्यधिक मात्रामा बढेपछि आयोजकलाई भ्याई–नभ्याई भएको छ ।

स्काई सुज, बिएफ डियर हिल सुज र शिखर सुजको संयुक्त आयोजनामा ६ माघदेखि सञ्चालन भइरहेको मेला १६ माघसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
मेलामा टाकुरा, कोसेली, लेदर ह्विल्सका उत्पादन पनि उपलब्ध छन् । अन्य समयको भन्दा जुत्ताचप्पलमा भारी छुटको व्यवस्था भएको हुँदा उपभोक्ताको आकर्षण बढेको स्काई सुजका निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।
कम्पनीसँग रहेको स्टक, पुराना मोडल तथा नयाँ मोडलका समेत जुत्ताचप्पल १५ देखि ७५ प्रतिशतसम्मको छुटमा मेलामा उपलब्ध छन् । मेला अवधिभर २० देखि २५ हजार जोर जुत्ताचप्पल बिक्री गरिने लक्ष्य रहेको पनि श्रेष्ठले बताए । ‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा प्रचार–प्रसार गरी बाह्य बजारसमेत विस्तार, विदेशी जुत्ताचप्पल आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने पनि मेलाको उद्देश्य रहेको छ,’ उनले भने ।
कुल मागको ५५ प्रतिशत स्वदेशी उत्पादनबाट पूर्ति भएको छ भने बाँकी ४५ प्रतिशत भारत, चीनलगायत देशबाट आयात हुने गरेको छ । नेपालमा छाला जुत्ता, क्याजुअल सुज र स्पोर्ट सुजमा संस्थागत उद्योगबाट ४० प्रतिशत र परम्परागत उद्योगबाट १५ प्रतिशत, चीनबाट १७ प्रतिशत, भारतबाट ९ प्रतिशत र बाँकी १९ प्रतिशत अन्यमुलुकबाट आयात हुने गरेको छ । नेपालमा ५ सयभन्दा बढी जुत्ताचप्पल उद्योग सञ्चालनमा छन् भने यस उद्योगबाट २५ हजारले प्रत्यक्ष रोजगारी र दुई लाख ५० हजारले अप्रत्यक्ष रोजगारी पाएको छ ।
मेलाबारे जुत्ता व्यवसायी के भन्छन् ?
नेपाली ब्रान्डमा विश्वास बढेको छ

रामकृष्ण प्रसाई
म्यानेजिङ डाइरेक्टर, शिखर सुज

नेपाली ब्रान्डप्रति आमउपभोक्ताको झुकाव र विश्वास बढेको छ । सोरुमबाट बिक्री नभएको भन्दैमा नराम्रो भन्ने होइन । सेलमा रहेका जुत्ता पनि उत्तिकै गुणस्तरीय रहेको छ । एक वर्षभित्रै उत्पादन भएका जुत्ता बिक्रीका लागि राखेका छौँ । यसमा हामीले वारेन्टीको पनि व्यवस्था गरेका छौँ । जसले गर्दा उपभोक्ताप्रति विश्वास पनि बढाएको छ । १० देखि १२ हजार जोर यस मेलाबाट बिक्री गरिने हाम्रो उद्देश्य रहेको छ ।

७५ प्रतिशतसम्म छुटको व्यवस्था

होमनाथ उपाध्यय– एमडी
बिएफ डियर हिल सुज तथा अध्यक्ष छाला जुत्ता वस्तु उत्पादक संघ

यस सेल मेलामा उपभोक्ताको आकर्षण थामी साध्य छैन । नेपाली ब्रान्डप्रति उपभोक्ता आकर्षण बढेको महसुस भएको छ । नेपाली जुत्ता उपभोक्ताहरू बढाउने यस मेलाको मुख्य उद्देश्य हो । कम्पनीसँग स्टक, पुराना मोडल, नयाँ मोडललगायत जुत्ताचप्पलहरू सहज तथा सस्तो रूपमा खरिद गरिने मौका हो । यसमा हामी सबै कम्पनीका जुत्ता तथा चप्पल खरिदमा १५ प्रतिशत देखि ७५ प्रतिशतको छुट दिइरहेका छौँ । २० देखि २५ हजार उपभोक्ता पनि बढ्ने उपेक्षा गरेका छौँ ।
दिन प्रतिदिन नेपाली ब्रान्ड प्रयोगकर्ता बढ्दो रहेको छ । यसलाई अझ बढी रूपमा बढाउँदै लैजान यस्ता खालका मेला आवश्यक रहेको छ । यसअघिको मेलामा पनि उपभोक्ताको आकर्षण अत्यधिक मात्रामा रहेको छ ।

नेपाली जुत्ता गुणस्तरीय र टिकाउ छ

नवराज गौतम
म्यानेजिङ डाइरेक्टर, टाकुरा सुज

स्वदेशी उत्पादन प्रयोग बढाउन प्रत्येक वर्ष मेला आयोजना गरिरहेको छ । बोलेरभन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । विदेशी जुत्ताभन्दा नेपाली जुत्ता गुणस्तरीय र सस्तो रहेकाले यसप्रति आकर्षण स्वाभाविक रूपमा बढेको छ । नेपाली जुत्ता एकचोटि प्रयोग गर्ने मानिसले यो जुत्ता नराम्रो भन्दैन । टाकुरा सुज सबै व्यक्ति तथा तहका लागि उपयुक्त रहेको छ । विशेष गरी सावरका सुज बढी मात्रामा बिक्रीवितरण हुन्छ । हाम्रो उत्पादन अन्यका उत्पादनमा भन्दा गुणस्तरीय पनि रहेको छ । आमउपभोक्ताको यस ब्रान्डप्रति आकर्षण टिकाइराख्न अवसरका साथै चुनौती रहेको छ ।

नक्कली जुत्ताले असर गरेको छ

मनोज श्रेष्ठ
निर्देशक, स्काई सुज

उपभोक्ताहरूलाई नेपाली ब्रान्डप्रति आकर्षण गराउनु आवश्यक छ । नेपाली उत्पादन सस्तो, गुणस्तरीय र टिकाउ छ । विभिन्न कम्पनीसँग रहेको स्टक तथा मोडल पुराना भएका जुत्ताहरू सोरुमबाट बिक्री नहुने भएकाले यो मेलामा उपभोक्ताले छानीछानी खरिद गर्न सक्छन् । यसमा वारेन्टीको पनि व्यवस्था रहेको छ । नेपाली ब्रान्ड सस्तो, गुणस्तरीय रहेको र यसमा उपभोक्ता बढाउने अभियानमा हामी रहेका छौँ । ७५ प्रतिशतसम्म छुट रहेकाले पनि उपभोक्ताको आकर्षण बढेको हो । नेपाली कम्पनी दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । हाल विदेशी मल्टिनेसनल कम्पनीको नाममा नक्कली जुत्ताको बिक्रीवितरण हुने गरेको छ, जसले गर्दा नेपाली कम्पनीलाई असर गरेको छ । स्काई सुजले अल्लोबाट पनि जुत्ता उत्पादन सुरु गरेको छ । सम्भवत: यो नेपालमा पहिलोपटक हो ।
उपभोक्ताको मायाले प्रोत्साहन मिलेको छ

रविनकुमार श्रेष्ठ
म्यानेजिङ डाइरेक्टर
कोसेली छाला जुत्ता उद्योग

स्टकमा रहेका सामन बजारीकरणमा उपभोक्ताको भिड अत्यधिक मात्रामा बढेको छ । उपभोक्ताले अत्यन्त सस्तो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल पाउँछन् । नेपाली बजेटमा सहज रूपमा हाम्रा उत्पादन खरिद गर्न सक्छन् । उपभोक्ताले दिएको मायाले हामीलाई थप प्रोत्साहन मिलेको छ । मेलामा ७५ प्रतिशतसम्म छुट रहेकाले उपभोक्ताले सहज रूपमा टिकाउयुक्त जुत्ता खरिद गर्न सक्छन् ।

प्रतिक्रिया