सौर्य ऊर्जामार्फत गाउँमा बिजुली

बझाङ । बझाङको केदारस्यु गाउँपालिका–३ भाडिकोट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली बाल्न पाउने भएपछि त्यहाँका स्थानीयहरू खुसी भएका छन् । वडा–३ को भाडिकोट, डाफ्रु, मैतोली, तलिवाडा र धान्ना गाउँका करीब दुई सयभन्दा बढी परिवारहरूले सौर्य ऊर्जामार्फत बिजुली बाल्न पाउने भएपछि खुसी भएका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्र र केदारस्यु गाउँपालिकाको आर्थिक सहयोगमा करिब पाँच करोडमा निर्माण भएको भाडिकोट सौर्य मिनिग्रिड परियोजनामार्फत सोलारबाट बिजुली बाल्न सफल भएको सौय ऊर्जा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खातीले बताए ।

खातीका अनुसार यो आयोजनाको निर्माण कार्य सकिएर अहिले घरघरमा बिजुली जडान कार्य भइरहेकोे र यसले गाउँका स्थानीहरूलाई कस्तो परिमाण ल्याउँछ भन्ने कुरा हेर्न बाँकी रहेको परीक्षण सफल भइसकेपछि डिजिटल कार्डमार्फत बिजुलीको बिल भुक्तानी हुने बताए ।

त्यस्तै वडा अध्यक्ष वीरबहादुर खाती भने यति ठुलो गाउँमा सोलारबाट बिजुली बाल्ने काम पालिकाकै पहिलो भएकाले स्थानीयहरू एकदमै उत्साहित भएको र यो काम सफल बनाउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जम्मा ४ करोड १ लाख ३५ हजार ९ सय ५५ रुपैयाँ र गाउँपालिकाको ४४ लाख ५९ हजार ५ सय ५० रुपैयाँ र स्थानीयहरूको सहयोगबाट निर्माण कार्य सम्पन्न भई २ सय २२ घरधुरीका परीवारलाई ढुक्कसँग बिजुली बाल्न पाउने र साना साना उद्योगधन्दाहरू पनि सञ्चालन गर्न सकिने बताए ।
निर्माण कार्य सम्पन्न गर्न ठेक्का पाएको सौर्य इबिजा जेभी काठमाडांैका अनुसार २०७९ असार २४ गते सम्झौता भई निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरण गर्न बाँकी रहेको बताए ।

वडा–३ का गाउँमा सोलारबाट बिजुली बल्ने भएपछि त्यहाँका स्थानीयहरू उत्साहित भएका छन् । विगतका दिनहरूमा घरघरमा साना साना सोलारहरू थिए अहिले गाउँमा दुई÷तीन सय घरघरमा एकैपटक बिजुली बलेको देख्दा अचम्मित भएका त्यहाँका स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया