स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौँ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । शनिबार कैलालीको धनगढी स्थित सौभाग्य हस्पिटल तथा रिसर्च सेन्टर प्रालिको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘प्रदेश सरकार विशेष गरी स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहान्छ’, मुख्यमन्त्री शाहले भने ‘स्वास्थ्य क्षेत्रमा तपाईँहरु अगाडि बढ्नुस् हामी तपाईँलाई साथ दिन तयार छौँ’ । ‘अहिले प्रविधीले विश्वमा एक किसिमको वातावरण सिर्जना गरेको छ, नयाँ–नयाँ प्रविधि छ, नयाँ–नयाँ साधनस्रोत छन्’, उनले भने ‘सबै कुरा हुँदा हुँदै पनि हामीले अझैँ पनि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा जुन स्वास्थ्य सेवा पाउने गरेका छौँ, त्यो सेवाबाट कताकता वञ्चित भएको जस्तो पनि लाग्छ ।’

उनले भने, ‘राज्यले महत्व दिँदादिँदै पनि राज्य त्यहाँ पुग्न नसकेको अवस्था पनि छ, त्यसकारण त्यतातिर सबैले मनन गरेर हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्ने हुन्छ, त्यसका लागि हामी तयार छौँ ।’ मुख्यमन्त्री शाहले स्वास्थ्य सेवा दिन सुदूरपश्चिम प्रदेशमा खुलेका सबै स्वास्थ्य संस्थाको संरक्षण र सम्बद्र्धन गर्न प्रदेश सरकार लाग्ने बताए ।

उनले भने, ‘स्वास्थ्य सेवा दिने जति पनि स्वास्थ्य संस्था सुदूरपश्चिममा खुलेका छन्, यी सबैको संरक्षण र संवद्र्धन गर्ने सन्दर्भमा हामी तपाइँहरुसँग छौँ, तपाईँहरुसँग हातेमालो गरेर भोलिका दिनमा अगाडि बढ्ने छौँ ।’

हस्पिटलले असार २५ गतेबाट १५ दिने निःशुल्क रगत जाँचसहित विशेषज्ञ डाक्टरद्वारा निशुल्क परामर्श तथा उपचार सेवा पनि सुरु गरेको जनाइएको छ । जसमा औषधिमा १० र ल्याव सेवा २० प्रतिशत छुट रहेको हस्पिटलले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित सौभाग्य हस्पिटलले २०७९ फागुन १५ गतेदेखि सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया