दुई लाखभन्दा बढी सामान बरामद गरी नष्ट

घरेलु तथा साना उद्योगद्वारा बजार अनुगमन

बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले सदरमुकाम चैनपुरलगायत पालिकाहरूमा रहेका साना ठुला बजारमा बजार अनुगमनमा गर्दा करिब २ लाख १८ हजार २ सय ८७ मूल्य बराबरको सामान बरामद गरी नष्ट गरेको छ । व्यवसायीहरूले म्याद सकिएको (म्याद नाघेको) सामग्री बिक्री वितरण भइरहेको छ भन्ने जनगुनासो वढेपछि घरेलु तथा साना उद्योग कार्यालयको पहलमा बजार अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा थलारा, गाउँपालिकाका आसपासका बजारहरू खोली, पिखेत, दुर्गाथली गाउँपालिकाको झनाना, थलारा गाउँपालिका–१ को मोरायल, केदारस्यूँ गाउँपालिकाको रायल बजारवाट करिब ५१ हजार १ सय २२ मूल्य बराबरको सामान बरामद गरी नष्ट गरेको थियो । भने दुर्गाथली गाउँपालिकाको चौधारी, जुजी, मोरीबगर र छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबजार, भ्यागुतेखोला, बगडगाँउ र जयपृथ्वी नगरपालिकाको तमैल बजारबाट करिब ३३ हजार ९सय १० रुपैयाँ बराबरको खाद्य सामग्री तथा पेय पदार्थ नष्ट गरेको थियो ।


त्यस्तै जयपृथ्वी नगरपालिका–७ को सुवेडा बजारबाट २९ हजार ७ सय ७१ रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको थियो । सोही नगरपालिकाकोे देवल, सिमखेत बजारहरूबाट २९ हजार ९ सय ९४ रुपैयाँ र सदरमुकाम चैनपुरसँगै जोडिएको बजार पक्की पुले चौड बजारबाट करिब ३७ हजार ८ सय ९० रुपैयाँ र दमधुर भोपुर बजारबाट २० हजार ६ सय रुपैयाँ बराबरको र मष्टा गाउँपालिका–१ को डुंग्री र चैनपुर बजारको शान्तिमार्गबाट १५ हजार बराबरको म्याद सकिएको सामान बरामद गरी नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका सूचना अधिकारी दशरथ जप्रेलले बताए ।

अधिकारीले बजार अनुगमन गर्दा प्रायःजसो चाउचाउ, सोया सस, बिस्कुट खानेतेल, बियर, कोल्ड ड्रिङ्स, काजु बदाम, अचार मसला, मसला, सुर्ति लगायतका सामानहरू फेला परेको बताए ।

अनुगमनका क्रममा घरेलु तथा साना उद्योग बझाङका कार्यालय प्रमुख खडक बोहराले अरूबाट दैनिक उपभोग्य सामानहरू खरिद गर्दा उपभोक्ताहरूले उपभोग गर्ने समय कहिलेसम्म छ भन्ने कुराहरू विशेष ध्यान दिनुपर्ने समयमा नै आफ्नो व्यावसायिक फर्म नवीकरण गर्नुपर्ने, व्यवसाय गरिरहेका तर आफ्नो व्यवसाय दर्ता नभएकाहरूले सम्बन्धित कार्यालयमा गएर दर्ता गर्नुपर्ने म्याद सकिएको उपभोग्य वस्तु बिक्री गर्दा उपभोक्ताहरूको स्वास्थ्यमा हानि हुने भएकाले उपभोक्ता र व्यवसायीहरू सचेत हुनुपर्ने, पसल वा होटलहरू व्यवसायीहरूले अनिवार्य रूपमा आफ्नो व्यावसायिक दर्ता प्रमाण पत्रको प्रतिलिपि र उपभोग्य वस्तुहरूको दररेट सबैले देखिने गरी टाँस्नुपर्ने बताए ।

प्रतिक्रिया