काभ्रे । लामो दाह्रीजुंगा । उत्तिकै लामो कहिल्यै ननुहाएका कपाल । हात र खुट्टामा लामालामा नङ । अनुहार फुङ्ग उडेको । कान सुन्दैनन् उनी । उनी हुन् रंगलाल । तर, जीवनमा कुनै रंग छैन । जीवनमा कुनै रौनक छैन । गोठको जिन्दगी उनका लागि दरबारको अटाली बनेको छ ।
उनीहरू घरीघरी सँगै बाँधिएको गाई हेर्छन् । गाईको गलामा बाँधिएको छ दाम्लो । त्यसैगरी उनीहरूको दुबै हातमा बाँधिएको छ त्यस्तै अर्को दाम्लो । दुवै हातमा गाई बाँध्ने दाम्लोले बाँधिएको छ ।
उनी छेवैमा उनका मामा भीमसेन थापा आफ्नो औँला झरिसकेका दाहिने खुट्टालाई धिपधिपे आँगोमा सेकाइरहेका छन् । यही आगोको धिपधिपमा उनको आफ्नो खुट्टा निको हुने आसा छ उनलाई ।
मामा भाञ्जा दुबै उत्तिकै अशक्त छन् । भाञ्जा रंगलाललाई केही आपत् परे मामा भीमसेन पनि केही गर्न सक्दैनन् । किनभने उनीहरू केही मानसिक समस्याले समेत ग्रस्त छन् । उनलाई आपत् पर्दा पनि भाञ्जाले केही गर्न सक्दैनन् ।
कमलाका कान्छो भाइ भीमसेन र जेठो छोरा रंगलाल मानसिक समस्यासँगै शारीरिक अशक्तमा छन् । चार दशकदेखि आमा कमला आफैँले हेरचाह, स्याहारसुसार गर्दै आए पनि उनी आफैँ बिरामी पर्दा र गोठमा भएको मुख्य आम्दानीको स्रोत गाई लम्पी स्किन रोगले मर्दा उनी यति बेला थप पीडामा छिन् । अवस्था यस्तो छ कि रंगलाल त्यहीँ दिसापिसाब गर्छन् कहिलेकाहीँ । कहिले आमा कमला घर भएको बेला उनले स्याहारछिन् त कहिले रंगलालका कान्छा भाइ रामले उनको रेखदेख गर्छन् ।
‘मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर सर्वत्र साङ्लोले बाँधिन्छ’ रुसोको यो भनाइ केवल आममानिसका लागि त हो । तर, जन्मँदै शरीरले साथ नदिएका भाग्यले स्वतन्त्रमाथि तगारो हालिदिएपछि यी मामा भीमसेन र भाञ्जा रंगलालको जीवनको रंग हराएको छ । उनीहरू दुई रुसोले भनेजस्तै अझै चलमल नै हुननसक्ने शारीरिक पीडा र मानसिक पीडाको साङ्लोमा बाँधिएका छन् । मानौँ उनीहरू जन्मेपछि यस्तो दम्लोले बाँधिएका हुन् ।
सोमबार बिहान बनेपा–५ स्थित सिमलडाँडामा गाई र मान्छेलाई एउटै तराजुमा दाँजेर शब्द निकाल्दै गुनगुनाउँदै हुन्छिन् आमा कमला । असार महिनाको हरियालीमा कत्ति पनि खुसी लाग्दैनन् प्रकृति किनभने देख्न मौसम क्षणमै सफा देखिए पनि क्षणमै असारे झरी ओइरिन्छ । तर सिमलडाँडाकी कमलाको भागमा आँशु नै परेको छ । उनका आँसु नरोकिएकै दशक बढी भइसक्यो । झरी थामिँदा पनि उनको आँखामा भने अविरल बगिरहेछ आँसुको इन्द्रावती ।
एउटा टिनको पानी चुहिने टहरामा हरदिन गाईसँगै बाँधिन्छन् जन्मँदै रंग हराएका रंगलालका मामा भान्जा ।
गाईले गोब्राएकै छेउ नजिक के हिँउद के वर्खा धुँवाँको धिपधिपेमा आगो तापिरहेकै भेटिन्छन् मामा भीमसेन र भाञ्जा रंंगलाल ।
उमेरले ६२ वर्षीय आमा कमला बानियाँको चितकारले भगवान्ले सुने–देखे होलान् त ! बच्चामा मुसाजस्तो रंगलालका दिन फेरिएला भन्दै स्याहार गर्दै विभिन्न अस्पताल र उपचार गराउन कमला धाइन् । तर उनको बिमार उमेरसँगै बढ्दै गयो चार दशकदेखि आफ्नो जेठो छोरो रंगलालको स्याहारसुसार र उपचारमा लागेकी कमला केही समयदेखि आफैँ पनि बिरामी भइन् । केहीदिनको अस्पताल बसाईंपछि उनी पनि केही निको त भइन् तर आफ्ना पुराना दैनिकी कहिल्यै निको हुन सकेन ।
असामान्य व्यवहार देखाउने रंगलाल खुला छोडिए भने, भाडाकुँडा फालिदिने, कराउने कतै लड्ने, घाउ बनाउने लगायत व्यवहारले हैरान भएपछि आफ्नो घरधन्दा गर्न सधँै बाधा पु¥याउने रंगलालको दैनिकीलाई केहीभए पनि सहज बनाउन आमा कमलाले गाईको झैँ डोरीलाई साङ्लोको रूपमा बनाइन् र रंगलाललाई बाँधेर आफू काम गर्न लाग्ने गरेको बताउँछिन् ।
भीमबहादुर बानियाँ माइला छोरा जो भूकम्प अघिसम्म सबैजना सगोलमै बस्थे । भूकम्पपछि सरकारले दिएको घर बनाउने राहत रकमको पैसा छोरा भीम बहादुरलाई दुबई पठाउन खर्चिए । त्यस लगत्तै आएको कोरोना महामारीमा भीम बहादुर विदेशबाट त फर्के तर कमाएको केही रुपैयाँसमेत आमालाई नदिई बिहेबारी गरी छुट्टै बस्न थालेपछि आमा कमलाको दुःखका दिन थपिए । उनीलामो सुस्केरा हाल्छिन् र आफ्नो पति गिरेन्द्रबहादुरलाई सम्झन्छिन् । ‘करिब २० वर्ष पहिले श्रीमान् र उनका भाईहरू सबै सगोलमै थिए । जग्गाजमिन ६ रोपनी थियो पाँच भाइको भागमा ६ रोपनी जग्गा त्यहीमाथि श्रीमान्को निधन भएपछि भाइहरूले जग्गाबन्धकी राखेर ऋण लिए । अझै पनि जग्गा भागबन्डा गर्न बाँकी छ । ‘आफूलाई भनेर छुट्याएका जग्गा जमिन पनि हामीले कान्छो छोरा रामलाई पढाउन सहकारीमा धितो राखेका छौँ ब्याज साउँ बढेको बढै छ भन्छन् तिर्न सकेको छैन’, उनी आफ्नो वेदना सुनाउँछिन् ।
उनका यी दुःखमा युवा समाजसेवी सुधिर वैद्यले एउटा ट्रस्ट त बनाइदिए तर खाने बस्नेदेखि बिजुलीसम्म पनि टहरामा बल्न सकेको छैन । हररात अध्याँरोमा नै काटछन् उनीहरू ।
कमलाको माइती भित्ते गाउँ भएपनि कमलाका भाइ भीमसेनले अहिलेसम्म नागरिकता पाएका छैनन् । वडा अध्यक्षकोमा बारम्बार धाउँदा माइती चाहिन्छ भनेर पन्छिएको उनी गुनासो पोख्छिन् । कमलाको माइतीमा तीन भाइ तीन दिदी बहिनीमध्ये जेठो भाइको एक दशकअघि नै पोखरामा निधन भइसकेको छ । उनका भाइ माइला बेपत्ता छन् । भाइ भीमसेन परिवारको कान्छो सदस्य हुन् । केही वर्ष पहिले अरू भाइहरूले ऋण लिँदा जमानी बस्दा उनलाई मानसिक तनाव दिइयो र उनलाई शारीरिक रूपमा अशक्तसमेत हुने गरी यातना दिइयो । त्यसपछि लामो समय जंगलकै बास गरेका भीमसेनलाई कमलाले घरमा ल्याइन र स्याहार्न थालिन् । त्यतिञ्जेल माइतीमा पनि सबै जायजेथाहरू सकिसकेको हुन्छ ।
पशु प्राविधिक सुनिलले जब कमलाको चित्कार सुने !
कमलाको चित्कार सारा गाउँलेलाई थाहा नभएको भने होइन । तर उनीहरू मध्ये केहीले उल्टो आमा कमलालाई पनि मानसिक सन्तुलन गुमेको नजरले हेर्ने र सहयोगको सट्टा उल्टै हकार्ने समेत गरेको आमा कमला नै बताउँछिन् । पशु प्राविधिक सुनिल खड्काले फिल्डमा जाने क्रममा यी परिवारलाई जब देखे उनले उत्तिनै बेला आफूसँग भएका केही पैसा र केही खाद्यान्न जुटाएर परिवारलाई सहयोग गरेपछि उनले रंगलाललाई सरसफाइ गर्न र नुहाइदिन आमा कमलासँग आग्रह गर्छन । रंगलालको लामो कपाल केही काटिन्छन् र तीनदशकदेखि ननुहाएका उनलाई परिवारको सहायतामा नुहाइदिन्छन् ।
उनै सुनिल जसले आमा कमलाको चित्कारलाई मिडियासम्म ल्याउन मद्दत गरेका छन् । भन्छन्, ‘परिवारको चाहाना पनि उनीहरूको उपचार र दैनिक खर्च टार्ने प्रबन्ध मिल्यो भने र भाइ भीमसेनको नागरिकता बनाएर अपांगता कार्ड बनाउन सकिए राज्यकोषबाट पनि सहयोग पो मिल्थ्यो कि भन्ने याचना छ । मैले गाईको उपचार गराउन आउँदा धेरै ढिला पनि भइसकेको थियो, सरकारले पशु बिमा रोकिदिँदा यस्ता निम्नबर्गिय परिवारको सानो गर्जाे टर्ने स्रोत गुमेको छ’, सुनिल भन्छन् ।
प्रतिक्रिया