उत्पादन र उत्पादकत्व बढाउन नसक्दा परनिर्भरता बढ्यो

११ प्रतिशत रोपाइँमै धान दिवस सम्पन्न

काठमाडौं । धान उत्पादन र उत्पादकत्व बढाउने सरकारी लक्ष्य पूरा हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पाँच वर्षको तथ्यांक हेर्दा ५६ लाख १० हजार टनभन्दा धेरै धान उत्पादन हुन सकेको छैन । यस्तै, उत्पादकत्व प्रतिहेक्टर ३.७० टनभन्दा माथि पुगेको छैन । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा १६ अर्ब ४८ करोड रुपैयाँको चामल आएको छ । गत वर्ष ४५ अर्ब ५७ करोड रुपैयाँको चामल आयात भएको थियो । यो वर्ष कुल आयात घटेको र उपभोक्ताको क्रयशक्ति घटेका कारण चामल आयात कम भएको हो ।


कृषि क्षेत्रका विज्ञहरु भने सरकारी नाराअनुसार धान उत्पादन वृद्धि नहुनुमा मुख्य कारण सिँचाइ अभाव देख्छन् । यस्तै, समयमा रासायनिक मल उपलब्ध नहुनु र खेतीयोग्य जमिन मासिँदै जानुले पनि अपेक्षाअनुरुप धान उत्पादन नभएको उनीहरुको धारणा छ । पूर्व कृषिसचिव योगेन्द्र कार्कीले धान उत्पादन वृद्धि नहुनुमा उन्नत जातको बीउ, मल र सिँचाइ अभाव भएको बताए । खेतीयोग्य जमिनमा पर्याप्त सिँचाइ नहुँदा सरकारले हालसम्म ५६ लाख टनभन्दा बढी धान उत्पादन गर्न नसकेको उनको भनाइ छ ।

धानको उत्पादन वृद्धि गर्न राज्यले कृषकलाई उन्नत जातका बीउबिजनदेखि समयमा रासायनिक मलको व्यवस्था गर्नुपर्छ । चामल आयात कम गर्न सरकारले मोटो धानमात्र नभएर मसिना धान उत्पादनतर्फ कृषकलाई आकर्षिक गर्नुपर्छ । विगतको तुलनामा अहिले धान खेती हुने जग्गा घटेको छ । सरकारले खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्नेमा त्यसतर्फ ध्यान दिएको देखिदैन ।

जलवायु परिवर्तनका कारण पनि कृषि क्षेत्रको उत्पादनमा कमी देखिएको छ । सिँचाइ नहुँदा अधिकांश धान आकाशे पानीका भरमा रोप्नुपर्ने बाध्यता कायमै रहेको छ । कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले धान उत्पादन बढ्न नसक्नुमा सिँचाइको कमी र खेतीयोग्य जमिन मासिनु मुख्य कारण रहेको बताए । विगतमा बर्खे धान १५ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा हाल १३ लाख हेक्टरमा झरेको छ ।

कृषि तथा सहकारी मन्त्रालयले २०६१ सालदेखि असार १५ मा धान दिवस मनाउँदै आएको छ । सधैँ झैँ यो वर्ष पनि धान दिवस मनाइएको छ । किसानले मानो खाएर मुरी उब्जाउने महिना असारमा खेतमा रोपाइँ गरी दही चिउरा खाने दिनलाई सरकारले राष्ट्रिय धान दिवस भनेर घोषणा गरेको हो । यो वर्ष सरकाले धान दिवस मनाउन ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सार्वजनिक गरेको छ । यही वर्ष लामो हिउँदे खडेरी झेलेका किसानलाई पर्याप्त पानीको अभावले धानको बिउ राख्न र जोगाउनै सकस परेको थियो ।

धान नेपालको मुख्य खाद्य बाली हो । नेपालमा करिब १४ लाख ७३ हजार हेक्टर जमिनमा धान खेती गरिन्छ । कुल खेती गरिएको जमिनको ४७.६६ प्रतिशत हिस्सा ओगटेको धानको क्षेत्र खाद्य बालीमध्येको सबैभन्दा बढी हो । धान नेपालको मात्र नभएर विश्वको आधा जनसंख्या र एसिया महाद्वीपका बहुसंख्यक मानिसको प्रमुख खाद्य बाली हो । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको हिस्सा २५.८३ रहेको छ भने कृषिको हिस्सामध्ये २० प्रतिशत धानले ओगटेको छ । आर्थिक वर्ष २०३९÷४० यता नेपालले धान आयात गरिरहेको छ । धान आयातको मात्रा हरेक वर्ष बढ्दै गहिरहेको छ । पछिल्लो १३ वर्षमा धान आयात दोब्बरले बढेको छ ।

जलवायु अनुकूलित धानका जात र खेती आवश्यक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् ।

बीसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० को अवसरमा शुभकामना सन्देश दिदै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण सुक्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको बताएका हुन् ।

रोपाइँ महोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दे प्रधानमन्त्रीले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी भएको उनले उल्लेख गरे । नेपालको संविधान २०७२ ले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी भएको प्रधानमन्त्रीले स्मरण गरे ।

सो ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानुनी अधिकारको रूपमा स्थापित गरेको र दिगो विकासका लक्ष्य प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धतासमेत रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले सन्देशमा भनेका छन,‘देशमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता कायम गर्नमा धानको प्रमुख भूमिका रहेको परिप्रेक्ष्यमा राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले सिँचाइ सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिआएको छ ।’ उनले सरकारका प्रयासले धान उत्पादन वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भए तापनि बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात बर्सेनि बढ्दै गएको यथार्थताका पेश गरे ।

सन्देशमा भनिएको छ,‘यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने र यसले गर्दा हाम्रो खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्न सक्ने देखिन्छ ।’ उनले त्यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुका साथै यसको गति बढाउनु अत्यावश्यक रहेको स्पष्ट पारे ।

जलवायु अनुकूलित धानका जात र उत्पादन प्रविधिको विकास र अवलम्बनमार्फत दिगोरूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीमा प्रधानमन्त्रीले आह्वान गरे । जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ देशभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मनाइँदैछ । प्रधानमन्त्री प्रचण्डले सबैका प्रयास धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

धान उत्पादनलाई प्रवद्र्धन गर्न कृषि मन्त्रीको आग्रह

कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषदद्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उनले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताए ।

‘हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रर्वद्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पु¥याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पु¥याउन मन्त्रालय क्रियाशील छ । यस वर्षको सबै कार्यक्रमलाई सफल बनाउन लागि परौँ ।’ मन्त्री डा भुसालले भने ।

राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको बताउदै मन्त्री भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए । उनले कृषि सामग्री संस्थानसँग र साल्ट टे«डिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले धान उत्पादनमा नेपाल विश्वको १२ आँै स्थानमा भए पनि ठूलो संख्यामा धान आयात गरिरहेको बताउँदै धान उत्पादन वृद्धिका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

‘धान उत्पादनमा नेपाल विश्वको १२ औँ स्थानमा छ । तर पनि हामी ठूलो सङ्ख्यामा धान आयात गरिरहेका छाँै । विसं २०३१ मा आठ वटा कम्पनीले धान निर्यात गर्थें, अहिले हामी धान आयात गरिरहेका छौँ । यो अवस्था किन आयो भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ’ राउतले भने । सदस्य डा राउतले धान उत्पादन समग्र अर्थिक वृद्धिसँग जोडिएको तर्फ ध्यान दिँदै उत्पादन वृद्धिका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नु अहिलेको आवश्यकता रहेको तर्क गरे ।

‘खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नु आजको आवश्यकता हो । जीवन सूरक्षाका लागि कृषकमैत्री प्रविधि निर्माण गरेर धान उत्पादनमा लगाउन हामी सबैले पहल गर्नुपर्छ । यसका लागि नार्कको भूमिका महत्वपूर्ण छ । इरी संस्थासँग समन्वय गरेर उत्पादनमा वृद्धि गर्ने गरी धानका बीउ व्यवस्थापनका लागि हामी लागि परेका छौँ ।’ सचिव डा खरालले भने ।

उनले सिँचाइ र पूर्वाधारको उचित व्यवस्थापन हुन नसक्दा उत्पादनमा समस्या रहेको बताउँदै चैते धानलाई कसरी प्रवद्र्धन गर्ने भन्नेमा मन्त्रालय लागेको र प्रविधिको विकासअनुसार बीउ उत्पादन र नियमन गरेर जाने कुरामा मन्त्रालयको ध्यान गएको बताए ।

कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले राष्ट्रिय जिडिपीमा धान उत्पादनको योगदान पाँच प्रतिशत रहेको बताउँदै गुणस्तरीय बीउ वितरण गरेर आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गर्दै उत्पादन वृद्धिमा लाग्नुपर्ने बताए । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका महानिर्देशक डा रामकृष्ण श्रेष्ठले जलवायु परिवर्तनको असरले कृषि उत्पादनका साथै धान उत्पादनमा समेत असर परेको अवस्थालाई ध्यान राख्दै यस वर्षको नारा तय गरिएको बताए । यो वर्ष धान दिवसमा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा छ । उनले हाल नेपाललाई ७२ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा उत्पादन ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भइरहेको बताए ।

प्रतिक्रिया