आहाको तयारी पूरा

पोखरा, ७ माघ : पोखरामा सहारा क्लवले बर्सेनि आयोजना गर्दै आएको मोफसलमै चर्चित फुटवल प्रतियोगिताको आहा गोल्डकप फुटबल प्रतियोगिताको ११औँ संस्करण आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी ९ देखी २० माघसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ८ टिमसहित १२ टिमको सहभागिता रहनेछ । ‘ए’ डिभिजन टोलीमा मनाङ मस्र्याङ्दी क्लव, जावलाखेल युथ क्लव, थ्री–स्टार क्लव, मच्छिन्द्र क्लव, नेपाल पुलिस क्लव, आरसीटी, त्रिभुवन आर्मी क्लव र फ्रेन्डस् छन् । त्यस्तै धरान फुटबल क्लव, गोर्खा ब्रिगेट फुटबल टिम भारत, साउथ समिति एफसी कोलकाता र आयोजनक सहारा क्लब पनि यस प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख ५१ हजार रुपियाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेतालाई २ लाख १ हजार प्रदान गरिने क्लबका महासचिव केशवबहादुर थापाले जानकारी दिए । अघिल्लो वर्षको उपाधि विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको हिमश्री फुड्स प्रालिले अघिल्ला वर्षभन्दा बढी रकम दिएकोले तथा समयअनुसार पुरस्कारमा वृद्धि गरिएको क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी दिए । यस वर्ष क्लबले गत वर्षभन्दा करिब ५ लाख पुरस्कार राशीमा वृद्धि गराएको जनाएको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट टिम कोच, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, उत्कृष्ट गोलरक्षकले जनही  न्यूनतम १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सहारा क्लबले ०५८ मा क्याराभान फुटबल प्रतियोगिता गरेको थियो । उक्त प्रतियोगिताको उपाधि नेपाल पुसिसले जितेको थियो । त्यस्तै गत वर्षको दसौँ आहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुन्डाई मनाङ् मस्र्याङ्दीले प्राप्त गरेको थियो ।
दसौँ संस्करणसम्म मोफसलमा आहा गोल्डकपको नामबाट चर्चित प्रतियोगिता हिमश्री फुड्सको सम्झौता अनुरूप अब ११औँ संस्करण देखि आहा रारा गोल्डकप प्रतियोगिताका नाममा सञ्चालनमा आउने भएको हो ।
प्रतियोगिता सम्पन्न गर्न ६१ लाख ९२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्तै प्रतियोगिताबाट क्लबले ७० लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया