असार ४ गते कम्युनिष्टबीच समाजवादी मोर्चा घोषणा हुन्छ : उपाध्यक्ष पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते घोषणा हुने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए । उनले यस विषयमा छलफल जारी रहेको जानकारी दिए ।

उपाध्यक्ष पाण्डेले भने, ‘कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो ।’

सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुंगिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उनको भनाइ थियो । उनले थपे, ‘सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको थियो ।’

सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तयार गर्ने गरी मोर्चा गठन गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी पुर्पक्षमा जानुले भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको उहाँले बताउनुभयो । सुरुआतीमा पक्राउ परेका मात्रै नभई आरोपितलाई समेत कानूनी कठघरामा ल्याउनुपर्ने उपाध्यक्ष पाण्डेले पत्रकार सम्मेलमा जानकारी दिए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थीका विषयमा अनुसन्धान जहाँदेखि रोकिएको छ त्यहीँबाट पुनः सुरु गर्नुपर्छ, जो संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

फरक प्रसंगमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै यसलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया