महालक्ष्मी शिक्षाको हब बन्न सक्छ : इकाइ प्रमुख राठौर

काठमाडौं । ललितपुर शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नीलप्रकाश राठौरले महालक्ष्मी नगरपालिकालाई शिक्षाको हब बनाउन सकिने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन महालक्ष्मी नगर समितिले सिद्धिमंगल माविको सभाहलमा आयोजना गरेको नगर क्षेत्रमा कार्यरत शिक्षक सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

ललितपुर जिल्लाका लागि उपलब्ध भएका खुल्ला प्रतिष्पर्धा तथा आन्तरिक फाइल बढुवा दुवैतर्फका शिक्षक कोटामा महालक्ष्मी नगरपालिकाकाबाट मात्रै ५० प्रतिशत शिक्षकहरू पर्न सफल भएको तथ्यलाई हेरेर उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘महालक्ष्मी नगरपालिकाभित्रका शिक्षक शिक्षिकाहरू अत्यन्त लगनशील र मिहिनेती हुनुहुन्छ भन्ने कुरा बढुवा हुने शिक्षकको नतिजाले बताइसकेको छ ।’

विगतका वर्षहरूमा नेपाल सरकारले दरबन्दी मिलानका क्रममा कैयौँ दरबन्दी कटाउनुपर्ने अवस्था रहेको भए पनि अब त्यो अवस्था महालक्ष्मी नगरपालिकामा नरहेको बरू विद्यार्थी संख्याको अनुपात हेरेर शिक्षक दरबन्दी थप्नुपर्ने अवस्था सिर्जना भएको कुरा कार्यक्रमका अर्का अतिथिमहालक्ष्मी नगरपालिकाका शिक्षा समन्वय इकाइ प्रमुख चीरञ्जीवी पौडेलले बताए ।

‘विगतका वर्षहरूमा भन्दा अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर ह्वात्तै बढेर गएको छ, यस शैक्षिक वर्षमा मात्रै महालक्ष्मी नगरमा करिब दुईहजार नयाँ विद्यार्थी भर्ना भएकाले अब शिक्षक दरबन्दी मिलान गर्नुपर्ने नभई दरबन्दी अभावको अवस्था सिर्जना भएको छ’, पौडेलले भने ।

कार्यक्रमका सभापति नगरसमिति अध्यक्ष निरा श्रेष्ठले नगरलाई शिक्षाको हब बनाउन सम्पूर्ण पक्षको सक्रियता आवश्यक रहेको बताइन् । सेवानिवृत्त, बढुवा हुने एवं सेवा प्रवेश गर्ने शिक्षकहरू तथा शिक्षासँग जोडिने अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थीलगायतको रचनात्मक सहयोग एवं सक्रियताबाट मात्र यस नगरलाई शैक्षिक हब बनाउन सकिने धारणा उनको रहेको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरक्षेत्रमा कार्यरत रही सेवानिवृत्त शिक्षकहरूलाई तथा कार्यरत खुल्ला प्रतिष्पर्धा र आन्तरिक फाइलमार्फत्विभिन्न तहमा बढुवा शिक्षकहरूलाई सम्मान गरिएको थियो । साथै, यसै वर्षमा शिक्षक सेवा आयोग पास गरी महालक्ष्मी नगरभित्रका सामुदायिक विद्यालयका विभिन्न तहमा सेवा प्रवेश गरेका शिक्षकहरूलाई स्वागत पनि गरिएको थियो ।

यसअघि संगठनले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट नघटाउन वर्तमान सरकारलाई दबाब दिँदै माइतीघर मण्डलामा धर्ना बसेर गरिएको आन्दोलनमा समेत ऐक्यवद्धता जनाएको थियो ।

प्रतिक्रिया