पूर्णकला र राजुको आवाजमा ‘फूल मायामा नभुल’ भिडियोसहित

काठमाडौं । धेरै पहिलेदेखि रेडियो नेपालबाट बज्ने पुरानो गीत ‘फूल मायामा नभुल’ लाई रिमेक गरेर पुनः बजारमा ल्याइएको छ ।

लोक गायक प्रविण गुरुङको एकल आवाजमा रहेको पुरानो भाकाको उक्त गीत रिमेक गरेर भिडियोसहित नयाँ भर्जनमा बजारमा ल्याइएको हो ।

पहिले यो भाकाको गीत रेडियो तथा अडिओमा मात्रै सुने पनि भिडियो भने बनेको थिएन । उक्त गीत अहिले भिडियोसमेत निर्माण गरेर युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

नयाँ भर्जनको त्यस गीतमा लोकदोहोरी गायिका पूर्णकला बिसी र गायक राजु रामदाम (आरडी) ले आवाज दिएका छन् । उनीहरुलाई अन्य कलाकारहरु कृष्ण केसी, अम्रीता नेपाली र अनुजा पुडासैनीले पनि आवाजमा साथ दिएका छन् ।

त्यस्तै धनबहादुर गायकले शब्द रचना र संगीत भरेको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका हुन् । त्यसैगरी गीतको भिडियोमा मदन खड्का र दिलिप गायकले निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन रहेको छ ।

विकास ज्ञवालीले सम्पादन गरेको भिडियो गायक राजु रामदामको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । उक्त भिडियोमा गायक राजु रामदाम, बबिता बानीयाँ (जेरी), रिया खड्का र रञ्जीता लामाले नृत्य तथा अभिनय गरेका छन् ।

लामो समयदेखि रेडियोमा बज्ने पुरुषको मात्रै आवाज रहेको पुरानो भाकाको गीतमा फेरि रिमेक गरेर महिलाको रुपमा सहकार्य गरी आफूले स्वर दिने अवसर पाएकोमा गायिका पूर्णकला बिसीले खुसी व्यक्त गरिन् । नेपाली मौलिक लोक संस्कृतिमा यस गीतले प्रतिनिधित्व गर्नेसमेत उनले जिकिर गरिन् ।

‘फूल मायामा नभुल’ यो पुरानो हिट हो, उही गीतलाई फेरि पनि महिला आवाज दिने शुभ अवसर पाएकी छु’, गायिका पूर्णकलाले भनिन्, ‘पहिले रेडियो र अडिओमा मात्र सुन्न सकिने गीतको अहिले भिडियो समेत बनेर आएको छ ।’

प्रतिक्रिया