प्याजको बिउ उत्पादनबाट तेब्बर फाइदा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ को थलालगाउँ कृषि पकेट क्षेत्रको गाउँ हो । यहाँ मौसमी तथा बेमौसमी सबैखालका कृषि उपज उत्पादन हुने गरेको छ । विगत दुई वर्षदेखि यहाँका किसानहरूले प्याजको बिउ उत्पादन गरी लाखौँ आम्दानी गर्ने गरेका छन् ।

एक कृषकले ६० किलोदेखि एक क्विन्टलसम्म प्याजको बिउ उत्पादन गर्ने गरेका छन् । तीन हजार रुपैयाँ प्रतिकिलोका दरले बिउ विक्री गर्ने गरेको स्थानीय किसान कुसुम थलालले बताइन् । बजारको समेत समस्या नरहेको उनले बताइन् । ‘२५ जनाको हाम्रो समूह छ, प्रत्येक महिलाले ६० किलोदेखि एक क्विन्टलसम्म उत्पादन गर्दै आएका छौँ, सहकारीसँग सम्झौतागरी विक्री गर्छांै, बजारको समस्या छैन’, उनले भनिन् ।

साझेदारी निकाय रुडेस र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका किसानहरू प्याजको बिउ उत्पादन गरिरहेका छन् । गाउँमा २५ जना महिलाको कृषक समूह गठन गरी आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गरी किसानहरूलाई प्याजको बिउ उत्पादनमा सहयोग गरिरहेको रुडेस बैतडीका कार्यक्रम अधिकृत गोपाल भाटले जानकारी दिए । थलालगाउँका २५ जना महिलाले प्याजको बिउ उत्पदानबाट १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनले बताए । यहाँ उत्पादन भएको प्याजको बिउ नार्कबाट समेत सर्टिफाइड गरिएको बिउ हो ।

अन्य खेतीको तुलनामा प्याजको बिउ उत्पादनबाट तेब्बरले फाइदा हुने गरेको अर्की किसान निरा थलालले बताइन् । ‘विगतमा तरकारी खानको लागि मात्रै प्याज लगाउथ्यौँ, गतवर्षदेखि प्याजको बिउ उत्पादन गर्ने गरेका छौँ, आम्दानी पनि बढेको छ’, उनले भनिन् ।

सिँचाइको सुविधा भएको अवस्थामा व्यावसायिक खेती वृद्धि गर्न सकिने यहाँका किसानहरूले बताएका छन् । सिँचाइ प्रयाप्त नहुँदा थप खेती गर्न नसकिएको मानमती बोहरा थलालले बताइन् । ‘सिँचाइ सुविधा छैन, जेनतेन तरकारी खेती गरिरहेका छौँ, सिँचाइ सुविधा भएको अवस्थामा बिउ खेती अझै बढाउन सकिन्थ्यो,’ उनले भनिन् ।

मुहान अभावमा गाउँमा सिँचाइ पुर्याउन समस्या भइरहेको वडा–२ का वडा अध्यक्ष सूर्यबहादुर बोहोराले बताए । ‘सिँचाइका लागि मुहान अभाव छ, लिफ्ट प्रविधिबाट सिँचाइ सुविधा पुर्याउनको लागि प्रदेश र संघीय सरकारबाट माग गरिरहेका छौँ’, उनले भने ।

प्रतिक्रिया