राष्ट्रिय एकता दिवस हटाएर गल्ती भयो

काठमाडौं, १८ पुस । प्रमुख दलका नेताहरुले अघिल्ला सरकारहरुले राष्ट्रिय एकता दिवस हटाएर ठूलो गल्ती गरेको बताएका छन् । उनीहरले मुलुक रहेसम्म पृथ्वीनारायण शाहले पुराएको योगदानको कदर गर्नुपर्ने बताए ।
राजधानीमा आज राष्ट्रिय एकता दिवस तथा २ सय ९१ औं पृथ्वी जयन्ती मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष झलनाथ खनालले पृथ्वीनारायण शाहले जत्तिको मुलुकका लागि योगदान कसैले गर्न नसक्ने बताए । उनले पृथ्वीनारायण शाह शासक मात्र नभएर राष्ट्र निर्माता रहेको बताए ।
‘पृथ्वी नारायण शाहका उत्तराधिकारी गतिलो नभएका कारण मुलुकले प्रगति गर्न सकेन,’ उनले भने, ‘पृथ्वीनारायण शाहले गरेको कामको मात्र प्रशंसा गरेर पुग्दैन ।’
खनालले मुलुकमा विविधता भित्र एकता खोज्नुपर्ने समय आएको बताए ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले अघिल्ला सरकारहरुले राष्ट्रिय एकता दिवस हटाएर ठूलो गल्ती गरेको बताए । ‘देश रहँदासम्म पृथ्वीनारायण शाहको योगदान भूल्नु हुँदैन,’ उनले भने ।
कांग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाले पृथ्वी नारायण शाहले मुलुकका लागि गरेको योगदान अनुकरणीय रहेको बताए । उनले मुलुकमा अहिले राष्ट्रियता कमजोर भएर आएको दाबी गरे । ‘राष्ट्रियताको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता गर्दैन,’ उनले भने ।

प्रतिक्रिया