विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक सर्यो

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ ।

रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सरेको हो ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद रहेका छन् । केही दिनअघि काठमाडौं आएका उनीहरू अहिले पनि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए ।बुधबार बस्दै नबसी स्थगित भएको प्रदेशसभा बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।

नागरिक उन्मुक्ति पार्टीले भने जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।

प्रतिक्रिया