काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्ने बताइएको छ ।
उक्त बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
केही दिनअघि मुख्यमन्त्री रावलले काठमाडौं पुगेर दलहरूका शीर्ष नेताहरूलाई भेट गर्दै विश्वासको मतका लागि वातावरण मिलाउने विषयमा कुराकानीसमेत गरेका थिए ।
तर, जहाँ नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मतबारे निर्णय नदिँदा लामो समयदेखि सरकार नै विस्तार हुन सकिरहेको छैन ।
मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ । प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन् ।
सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्री रावललाई आज विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्ति पार्टीले मत नदिएको खण्डमा मुख्यमन्त्री रावल नेतृत्वको अहिलेको सरकार ढल्छ ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिनका लागि नागरिक उन्मुक्ति पार्टीसँग कुराकानी भने गरिरहेका छन् । यद्यपि नागरिक उन्मुक्ति पार्टीका सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएमा नयाँ सरकार बन्ने अवस्था सिर्जना हुन्छ ।
त्यसका लागि नयाँ गठबन्धनबाट सरकार बन्ने वा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकार बनाउने अवस्था आउन सक्छ ।
नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ ।
प्रतिक्रिया