प्रेस चौतारी कालिकोटद्वारा रक्तदान, बिरामिलाई फलफूल वितरण

कालिकोट । प्रेस चौतारी नेपाल कालिकोटले रक्तदान तथा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । आफ्नो संगठनको २५औँ स्थापना दिवसको अवसरमा आइतबार जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल दिएर कार्यक्रम मनाएको हो ।

प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष विश्वनाथ सिम्खाडा, केन्द्रिय सदस्य कालिबहादुर मल्ल, नेता तुलाराम पाण्डे, खडानन्द अधिकारी, हस्त चौलगाई, सचिव डिल्ली चौलगाईलगायतको टोलीले अस्पतालमै पुगी बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।

वितरण गरेको फलफूलले बिरामीको स्वास्थ्यमा केही मात्रामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष विश्वनाथ सिम्खाडाले बताए ।

पछिल्लो समय स्थापना दिवस होस् वा अन्य खुसीयालीका कार्यक्रममा फजुल खर्च गर्ने परीपाटीको अन्त्य गरी समाजिक सेवामा सबैको चासो र चिन्ता जागोस् भनी यो कार्यक्रम सञ्चालन गरिएको सिम्खाडाले बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य कालीबहादुर मल्लले प्रेस चौतारी नेपालले आजकै दिन देशका ७७ वटै जिल्लामा यस्ता खालका सामाजिक सेवाका कार्यक्रमको आयोजना भइरहेको जानकारी गराएका थिए । उनले यस्ता समाजिक सेवामैत्री कामहरु अझै गर्दै जाने बताए ।

कार्यक्रममा तुलाराम पाण्डेले प्रेस चौतारी नेपाल एउटा कलमजिवी संगठनका साथै समाज सेवामा पनि उतिकै काम गर्ने संगठन भएको बताए ।

नेपालका हरेक क्रन्तिमा प्रेस चौतारीको महत्वपूर्ण भूमिका रहेको उनले बताए । कार्यक्रममा प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिका महासचिव प्रेमराज सिम्खाडाले कार्यक्रमबारे प्रस्ट पारेका थिए ।

यसैबीच प्रेस चौतारी नेपालका नेता तथा पत्रकार किरण अधिकारीले रक्तदान समेत गरे । सुत्केरी भइ रगतको अभाव खेपेकी शुभकालिका गाउँपालिका– ५ निवासी बिन्दा शाहीलाई अधिकारीले ए पोइन्ट (ओ पोजेटिभ) रगत दिएका छन् ।

पत्रकार अधिकारीको रगतले ३७ वर्षीया शाहीको ज्यान जोगिएको छ । फलफूल वितरणमा जिल्ला अस्पतालका डाक्टर रमितानाथ योगी, लंक बम, हेमराज बम, दुर्गा शाहीलगायतका स्वास्थ्य कर्मिहरुको सहभागीता थियो ।

प्रतिक्रिया