प्रेम आचार्यजस्ता पीडितको संख्या हजारौँ होइन लाखौँ छ

सुरुमा सात प्रतिशत ब्याज भन्दै ऋण लिन ताकेता गरेर हैरान बनाउने, अनि ऋण भिडाएपछि अनेकन् तिकडतम बाजी गर्दै १७ प्रतिशतभन्दा बढी ब्याजदर लिने बैंकहरूलाई ठगको सूचीमा राख्ने कि नराख्ने ? प्रेम आचार्यको आत्मदाह प्रकरण यसैमा जोडिएको छ । बैंकहरूसँग आफ्नै पैसाको मुहान हुँदैन, बैंक आफैँले पैसा छाप्ने होइन भन्ने कुरा हामीलाई पनि थाहा छ । निक्षेपकर्तालाई दिइने ब्याज र ऋणीसँग प्राप्त हुने ब्याजबाट नै बैंक चल्छ भन्ने कुरा सबैलाई थाहा छ । निक्षेपकर्ता र ऋणीबीच ब्रोकरको भूमिका बैंकहरूले निर्वाह गर्नु अन्यथा होइन । तर, कमिसन कति खाने ? भन्ने सीमा हुँदैन र ? धनाढ्यहरू आफैँले बैंक खोल्ने, आफैँवा आफन्तलाई सिइओ बनाएर मासिक २० लाख रुपैयाँसम्म तलब खाने गरेको कुरा घाम जत्तिकै छर्लंग छ ।

शंकर पाण्डे

गत मंगलबार देशको संघीय राजधानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवा व्यवसायी प्रेम आचार्यको उपचारका क्रममा बुधबार निधन भएको छ । यथार्थ के हो भने प्रेम आचार्यको आत्मदाहलाई एउटा सामान्य मानिसले डिप्रेसनमा गई गरेको गल्तीको रूपमा मात्र लिए देशलाई न्याय हुँदैन । दुर्भाग्यबस सरकारी सयन्त्र त्यतैतिर लागेका छन् । मंगलबार घटना भएको केही समयपछि नेपाल प्रहरीले खुला रूपमा पेट्रोल तथा डिजेल बिक्री गर्न प्रतिबन्ध लगाएको छ । प्रेम आचार्यको आत्मदाहको कारण खुला रूपमा पेट्रोल र डिजेल बेचिनु हो भन्ने ठहरमा नेपाल प्रहरी पुगेको देखिन्छ । यदि यो सही हो भने नेपाल प्रहरीले आत्मदाहबारे रोचक नयाँ कुरा पत्ता लगाएछ ।

जुन विषयमा विकसित राष्ट्रका प्रहरीले गहिरो अध्ययन गरिरहेका छन्, त्यसलाई नेपालले सहज रूपमा लिएको देखिन्छ । बजारमा जर्किन र बोतलमा पेट्रोल बेचिएको कारण आत्मदाह बढेको खबरले संसारमा हजारौँ प्रहरी अधिकृतलाई नयाँ जानकारी र यथेष्ट ज्ञान मिल्यो होला । यस्तो अतुल्य र अमूल्य ज्ञान हुनेहरूले विभिन्न राष्ट्रका प्रहरीलाई राम्रो तालीम दिन सक्छन् । भ्रष्टाचार, बेथिति, राजनीतिक हस्तक्षेपको कारण छट्पटी भएको नेपाल प्रहरीको संगठनमा बलेको असन्तुष्टि र विभेदको आगो कसरी निभाउने ? त्यो पनि सोचनीय, विचारणीय तथा समीक्षाको विषय बनेको छ । प्रदीप गिरि भन्ने गर्थे, ‘मच्छड मारेर केही हुँदैन । समस्या त फोहोरमा छ ।’ हामी कति पत्रु छौँ भने आत्मदाह रोक्न जर्किन र बोटलमा पेट्रोल बेच्न प्रतिबन्धको उर्दी जारी गरिरहेका छौँ । हाम्रो राज्य संयन्त्रमा बस्ने मान्छेहरू कस्ता छन् ? भन्ने बुझ्न यही उदाहरण काफी छ ।

व्यवसायी प्रेम आचार्य सचेत र शिक्षित नागरिक हुन् । मुलुकका लागि केही गरौँ भन्ने सोच भएका नागरिक हुन् । उनले भोगेको पीडा एक्लो होइन । आम साना तथा मझौला व्यवसायीहरूले अहिले भोगिरहेको पीडा हो यो । उनले मानेका अग्रजहरूलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास धेरै गरे । नेपालका हरेक क्षेत्रमा भ्रष्टाचार, कमिनखोरी, बिचौलीयाकरण रहेको, गरिब, सोझो र इमानदार मान्छेलाई शिक्षा, स्वास्थ्य, रोजगारलगायतका आधारभूत आवश्यक्तामा पहुँच नपुगी बाँच्न समस्या रहेको नेपाली समाजमा रहेको सचेत नागरिक सबैले बुझेकै कुरा हो ।

आचार्यले हतियार बोकेर दिउँसै अन्धाधुन्ध गोली चलाई दर्जनाँै मानिस मारेर मर्न सक्थे, भूमिगत भई सयौँ मानिस मार्न सक्थे, जनतालाई गाउँमा गई झुक्याएर सांसद र मन्त्री बनी ठग बन्न सक्थे, आत्मघाती बम हानेर १०औँ हजारको मानवीय क्षति गराउन सक्थे, तर त्यो भन्दा अन्तर्राष्ट्रिय समुदायलाई छलफल गर्न बाध्य गराउनेगरी देश र जनताको हित होस् भन्दै २५ वटाभन्दा बढी सुझावसहित आफैँ मरेर गए, त्यसलाई माओवादीले गरेको १० वर्षे हिंसात्मक जनयुद्धभन्दा बढी मूल्यमा क्रान्तिको उपमा दिँदा जायज नै हुन्छ । एकदिन माटोमा विलिन हुनै पर्ने शरीर मरेर गए पनि उनको आत्मा अमर रहनेछ ।

देहत्याग गर्दैगर्दा कुनै पनि मानिसले झुट र बनावटी कथनी कुरा गर्दैन । कायरताको पाटो एउटा होला तर देहत्याग अघि निकालिएको आत्मकथा समय दिएर दोहोराई तेहराई पढियो, शब्द शब्दमा दम छ । जिन्दगी भनेकै यस्तै संघर्षको खेल हो भन्ने कुरामा प्रेम आचार्य थोरै चुकेकै हुन् । उनले उल्लेख गरेका केही घरानीया व्यवसायीले पनि देहत्यागको प्रयास गरेको समाचार पढेकै हो । उनले पनि पढेकै हुनुपर्ने । तसर्थ यो संसारमा सोचेजस्तो खुसी र सुखी साहादै कोही होलान् ।

प्रेम आचार्यको देहत्यागको कारण बारे संसद्मै बहस हुने पनि निश्चित छ । किनकी घट्ना संसद् भवन अगाडि भयो । साथै झापाका चर्चित व्यावसायी दुर्गा प्रसार्इंले थालनी गरेको अभियानको पनि औचित्यता सावित भएको छ । यसै सन्दर्भमा एउटा यस्तै कर्मशील युवा पत्रकारले गरेको देहत्याग घट्ना मेरो मानसपटलबाट कहिल्यै हट्ने छैन । दुःखको कुरा तिनले पनि यस्तै पीडा सहन नसकेर देहत्याग गर्दै गर्दा बोलेका कुरा सबै नक्कली सावित भए । बिचरा कुकुर मरेझै मरे । रवि लामिछाने यति बेला उपप्रधानमन्त्रीसहित गृहमन्त्री छन् । परिवारले कतैबाट हारगुहार पाएनन् । तर, प्रेम आचार्यका परिवारले हार गुहार पाउनै पर्छ । उनलाई तिर्नुपर्ने जति रकम सबैले सके ब्याजसमेत तिर नत्र साँवा भए पनि परिवारलाई बुझाइ हाल । यतिले मात्रै उनको परिवारलाई पुग्ने हारगुहार पुग्दैन । उनको आत्माले शान्ति पाउँदैन । साना तथा मझौला व्यवसायीहरूले अहिले जुन समस्या बेहोरेका छन् त्यो निकै कहालीलाग्दो छ ।

दाग अनुहारमा छ, ऐना जति सफा गरे पनि दागरहित अनुहार देखिन्न । बानेश्वरमा मंगलबार आफ्नै शरीरमा आगो लगाएर दुःखद् आत्मादाह गरेका प्रेम आचार्यको कथा व्याथामा सिंगो देशका सारा जनताको पीडा लुकेको छ । तथापि उनको आत्मादाह आफँैमा कायरता हो उनले बाँचेरै संघर्ष गर्नुपथ्र्यो । नसक्ने भएरै तेत्रो जटिल बाटो रोजे होलान् । तर बाँचेकाले संघर्ष गर्न निकै ढिलो भइसकेको छ ।

देशमा रोजगारी सिर्जना गर्ने, आयात घटाउने र निर्यात बढाउने भनेको व्यवसायले नै हो । व्यवसायका लागि प्रायःजसोले ऋण लिएकै हुन्छन् । तीन वर्षअघि सात प्रतिशत व्याजदरमा लिएको ऋणलाई बैंकहरूले ब्याजदर बढाएर १७ प्रतिशतसम्म पु¥याएका छन् । अर्कातिर आर्थिक मन्दी, कोभिड, बढ्दो महँगी लगायतका कारण व्यवसाय सुकेको छ । उधारोमा गएको सामानको पैसा उठेको छैन । केले तिर्ने ब्याज ? सरकारमा बस्नेहरूले सामान्य हेक्का पनि राखेको देखिँदैन । प्रेम आचार्यजस्ता पीडितको संख्या हजारौँ होइन लाखौँ छ ।

बैंकले लिनुपर्ने जोखिम पनि ऋणीले नै बोक्नुपर्दा थुप्रै व्यवसायीहरू प्रेम आचार्य बन्नुपर्ने अवस्था छ । नेपालमा क्रेडिट इन्स्योरेन्सको नियम खोई ? क्रेडिट रिकभरी कानुन किन बनाइँदैन ? राष्ट्र बैंकको काम÷उद्देश्य जनता÷उद्यमीको सुरक्षा नभई बैंकको सुरक्षा मात्रै हो ? बाफिया, कर ऐन र बिमा ऐनजस्ता आर्थिक कानुनहरू नागरिक÷उद्यमीमैत्री भन्दा ब्रोकर÷मिडियटर र सरकारमैत्री बनेपछि आमजनताको भागमा आत्मदाहको विकल्पबाहेक के पर्छ र ?

सुरुमा सात प्रतिशत ब्याज भन्दै ऋण लिन ताकेता गरेर हैरान बनाउने, अनि ऋण भिडाएपछि अनेकन् तिकडतम बाजी गर्दै १७ प्रतिशतभन्दा बढी ब्याजदर लिने बैंकहरूलाई ठगको सूचीमा राख्ने कि नराख्ने ? प्रेम आचार्यको आत्मदाह प्रकरण यसैमा जोडिएको छ । बैंकहरूसँग आफ्नै पैसाको मुहान हुँदैन, बैंक आफैँले पैसा छाप्ने होइन भन्ने कुरा हामीलाई पनि थाहा छ । निक्षेपकर्तालाई दिइने ब्याज र ऋणीसँग प्राप्त हुने ब्याजबाट नै बैंक चल्छ भन्ने कुरा सबैलाई थाहा छ । निक्षेपकर्ता र ऋणीबीच ब्रोकरको भूमिका बैंकहरूले निर्वाह गर्नु अन्यथा होइन । तर कमिसन कति खाने ? भन्ने सीमा हुँदैन र ? धनाढ्यहरू आफँैले बैंक खोल्ने, आफँै वा आफन्तलाई सिइओ बनाएर मासिक २० लाख रुपैयाँसम्म तलब खाने गरेको कुरा घाम जत्तिकै छर्लंग छ । बैंक तथा वित्तीय संस्थाहरूका ठूला पोस्टमा रहेर लाखौँ तलब खानेहरूको सूची हेर्ने हो भने धेरै कुरा छर्लंग हुन्छ । बैंकहरूले कसकसलाई कति कति ऋण के कस्तो व्याजदरमा प्रवाह गरेका छन् ? भन्ने कुरा सार्वजनिक गर्ने हो भने दूधको दूध, पानीको पानी छुट्याउन सकिन्छ । बैंकहरूले भन्ने गरेको तरलताको अभाव कृत्रिम संकट हो ।

बैंकका सञ्चालकहरूले करोडौँ तलब भत्ता खाएर सर्वसाधारण ऋणीको घरजग्गा लिलामी गरिरहेका छन् । हाम्रो देशमा च्याऊ जसरी उम्रिएका बैंकको एउटै कर्मचारीले करौडौँ रुपैयाँ तलब खाने स्रोत के हो ? अर्कोतिर देशमा उत्पादन जिरो छ । देशले चालु खर्च धान्न पनि मुस्किल पर्ने कुरा मिडियामार्फत सुनिरहेकै छौँ । एक राजा फालेर हजारौँ छोटेराजा पाल्नुको परिणाम बिस्तारै देखिँदै छ । संघीयता देशलाई घाँडो भइसकेको छ । महँगीले नेटो काटी सक्यो, सरकार नै भ्रष्ट भइदिँदा देशमा गरिखाने बाटो नै छैन । प्रेम आचार्यको दर्दनाक आत्मदाहको बाध्यता सतहमा देखिएको एउटा प्रतिनिधि घटना मात्र हो यस्ता प्रकृतिका आततायी कुकृत्यबाट हजारौँ व्यवसायी डिप्रेसनको सिकार भइरहेका छन्, बेलैमा सरोकारवालाको ध्यान जान जरुरी छ ।

कुल ऋण पोर्टफोलियोको ६० प्रतिशत र चालु पुँजी कर्जाको ८० प्रतिशत अंश नेपालका करिब एक सय ग्रुप अफ कम्पनीले ओगटेका छन् । न साना, मझौला उद्यमी र नयाँ ऋणीले पहुँच पाउँछन्, न उनीहरूका लागि बैंकहरूले कुनै पहुँचको ढोका नै खोल्छन् । मारमा पर्छन्, प्रेम आचार्यजस्ता एसएमई सञ्चालकहरू । प्रणालीमा रहेको यो नियन्त्रण कसले हटाउने ?

एक अध्ययनले ४५ प्रतिशत नेपाली तल्लो–मध्यम वर्गमा रहेको देखाउँछ । यो वर्ग यति धेरै पीडित र संघर्षशील वर्ग हो कि न राज्यले देख्छ न त राज्यका नीतिले यिनलाई हेर्छन् र दुई प्रतिशत नवधनाढ्यले यिनको श्रम÷मिहिनेत÷उद्यमको शोषण गर्छन्, परिणाम इलामका उद्यमी प्रेम आचार्यको हालत हुन्छ ।

अन्त्यमा ः प्रेम आचार्यले जे भोगे, त्यस्तै भोग्ने तपाइ हामी सबै छँदै छौ । फरक फगत यत्ति हो कि, हामी भ्रष्टाचार, कुशासन, अनियमितता र अपमानको विष पिएर पनि लडिराखेका छौँ । प्रेम आचार्यले हार खाए र आफूलाई खरानी बनाए । प्रेम आचार्यले आपूmलाई मात्रै खरानी बनाएका हैनन्, हामी नेपालीहरूको अस्तित्व, मानवता, नैतिकतालगायत जे जति मानवीय गुणहरू थिए, त्यसमाथिसमेत गम्भीर प्रश्न खडा गरिदिएका छन् ।

एउटा केही गर्छु भन्ने महत्वाकांक्षी युवाको सपना टुटेर खरानी भएपछि यतिबेला शासनको बागडोर हातका लिएका सबैको अनुहारमा कालो पोतिएको छ । तर, त्यो कालो अनुहार हामीजस्ता सर्वसाधारणले देखेर नहुने रहेछ । जबसम्म उनीहरू आफँैले आफ्नो अनुहार ऐनामा हेर्दैनन र आफ्नो अनुहारमा लागेको कलंकको कालो सफा गर्ने प्रयत्न गर्दैनन, तवसम्म यहा प्रेम आचार्यहरूले हरेक दिन आफूलाई जलाइराख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया